घट्यो धान उत्पादन
काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को धान बाली उत्पादनसम्बन्धी प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस वर्ष धानको कुल उत्पादन र उत्पादकत्व दुवैमा कमी आएको छ । जसले देशको खाद्य सुरक्षा र अर्थतन्त्रमा चुनौती थप्न सक्ने देखिएको छ ।
नेपालको खाद्य सुरक्षाका लागि धान सबैभन्दा महत्त्वपूर्ण बाली हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा मात्र धानको योगदान करिब १२ प्रतिशत छ । यसको उत्पादनले देशको समग्र आर्थिक सूचकमा ठुलो प्रभाव पार्ने भएकाले यसको तथ्याङ्कलाई योजनाविद् र सरोकारवालाहरूले निकै चासोका साथ हेर्ने गर्छन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा ५५ लाख ५१ हजार १ सय २६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यो परिमाण गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ४.२० प्रतिशतले न्यून हो । गत वर्ष ५९ लाख ५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै धानको उत्पादकत्वमा पनि १.१६ प्रतिशतले गिरावट आई प्रतिहेक्टर ३.९१ मेट्रिक टन कायम भएको छ, जुन गत वर्ष ४.१४ मेट्रिक टन रहेको थियो ।
यस वर्ष धान खेती गरिएको कुल क्षेत्रफलमा पनि गिरावट देखिएको छ । मन्त्रालयको प्रारम्भिक अनुमान अनुसार यस वर्ष १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा ३.८ प्रतिशतले कम हो । खेतीयोग्य जमिनको अन्य प्रयोजनमा प्रयोग र बाँझो रहने क्रम बढेका कारण क्षेत्रफल खुम्चिँदै गएको प्रतिवेदनमा उल्लेख छ ।
किन घट्यो धान उत्पादन ?
धान उत्पादन घट्नुमा सामाजिक र जनसाङ्ख्यिक कारणहरू प्रमुख देखिएका छन् । विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र युवा जनशक्ति वैदेशिक रोजगारीमा आकर्षित हुँदा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ । साथै किसानहरू धानको सट्टा फलफूल र अन्य नगदे बालीतर्फ आकर्षित हुनुले पनि धान खेतीको क्षेत्रफलमा कमी आएको हो ।
तराई र सहरी क्षेत्रमा बढ्दो सहरीकरण, औद्योगिक विस्तार र भौतिक पूर्वाधार निर्माणले धान फल्ने उर्वर भूमि नासिँदै गएको छ । यस वर्ष मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा पर्याप्त वर्षा नभई खडेरी परेका कारण धान रोपाइँमा प्रतिकूल असर परेको थियो । उन्नत बीउ र मलको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि मौसमको प्रतिकूलताले गर्दा उत्पादनमा सोचेजस्तो प्रगति हुन नसकेको मन्त्रालयले जनाएको छ ।
यस वर्षको धान उत्पादनको अनुमान तयार पार्न मन्त्रालयले आधुनिक र वैज्ञानिक विधिको अवलम्बन गरेको छ । सातवटै प्रदेशका कृषि निकायहरू, किसानहरूसँगको अन्तरक्रिया र काटानी–मदानीबाट प्राप्त नतिजालाई आधार मानिएको छ । साथै, इसिमोडसँगको सहकार्यमा रिमोट सेन्सिङ प्रविधिबाट प्राप्त तथ्याङ्कलाई समेत ’ट्रयांगुलेसन’ र ‘भ्यालिडेसन’ गरी यो अन्तिम नतिजा निकालिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुकी पण्डितले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण