शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कराँचीको सपिङ सेन्टरमा भीषण आगलागी: ६ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

सोमबार, ०५ माघ २०८२, ०६ : ३३
सोमबार, ०५ माघ २०८२

सारांश

  • कराँचीको एक सपिङ सेन्टरमा शनिबार भएको आगलागीमा एक अग्नि नियन्त्रकसहित ६ जनाको मृत्यु भयो।
  • आगलागी भुईंँतलाबाट सुरु भई माथिल्लो तलासम्म फैलिएको थियो, जसमा २० जनाभन्दा बढी घाइते भए।
  • घटनापछि बेपत्ता व्यक्तिको खोजीका लागि प्रशासनले विशेष डेस्क स्थापना गरेको छ भने राष्ट्रपति जर्दारीले छानबिनको निर्देशन दिएका छन्।

कराँची । पाकिस्तानको कराँचीस्थित एक व्यस्त सपिङ सेन्टरमा शनिबार भएको भीषण आगलागीमा परी एक अग्नि नियन्त्रकसहित ६ जनाको मृत्यु भएको छ। झन्डै १ हजार २०० पसलहरू रहेको आठ हजार वर्गमिटरमा फैलिएको 'गुल प्लाजा' मा लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। भवनका केही भागहरू भत्किएका कारण उद्धार कार्यमा समेत ठूलो अवरोध पुगेको छ।

स्थानीय आपतकालीन सेवाका अनुसार भुईँतलाबाट सुरु भएको आगो केही समयमै माथिल्लो तलासम्म फैलिएको थियो। भवनभित्र प्लास्टिक, फोम, कपडा र अत्तरजस्ता प्रज्वलनशील पदार्थहरू भएकाले आगोले उग्र रूप लिएको उद्धारकर्मीहरूको भनाइ छ। प्रहरीका अनुसार आगलागीमा परी २० जनाभन्दा बढी घाइते भएका छन् भने भवनभित्र अझै मानिसहरू फसिरहेको आशंका गरिएको छ।

आफ्ना आफन्तको खोजीमा रहेका परिवारका सदस्यहरू आइतबार बिहानैदेखि ध्वस्त भएको भवन बाहिर जम्मा भएका छन्। अहिलेसम्म ३० जनाभन्दा बढी बेपत्ता भएको उजुरी परेपछि प्रशासनले बेपत्ताहरूको विवरण संकलन गर्न विशेष डेस्क स्थापना गरेको छ। प्रहरी सर्जन सुमैय्या सैयदले अस्पतालमा ६ वटा शव प्राप्त भएको र घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै सहरमा 'मास डिजास्टर' प्रोटोकल लागू गरिएको बताएकी छिन्।

घटनाप्रति दुःख व्यक्त गर्दै पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सिन्ध प्रान्त सरकारलाई यस घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। साथै उनले कराँचीका सबै व्यावसायिक र आवासीय भवनहरूको सुरक्षा व्यवस्थाको व्यापक पुनरावलोकन गर्न समेत आदेश दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप