सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा रास्वपाले इन्जिनियर, व्यवसायीदेखि ‘टिकटकर’सम्मलाई बनायो उम्मेदवार

सोमबार, ०५ माघ २०८२, १९ : ५१
सोमबार, ०५ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीका १० जिल्लाका ११ क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।
  • रास्वपाले कर्णालीमा व्यापारी, इन्जिनियर, र अन्य दलबाट आएका नेताहरूलाई उम्मेदवार बनाएको छ।
  • विभिन्न क्षेत्रका उम्मेदवारहरूमा इन्जिनियर, पूर्वसरकारी जागिरे, र सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरू छन्।

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीका हुम्लाबाहेक सबै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रको उम्मेदवार टुङ्गो लागेको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले रातोपाटीलाई बताए ।

रास्वपाले कर्णालीमा व्यापारी, इन्जिनियर, ‘टिकटकर’देखि अन्य दलबाट रास्वपामा आएका अनुभवी नेताहरूलाई उम्मेदवार बनाएको छ । ११ जनामध्ये ५ जना त इन्जिनियरमात्रै छन् ।

उनका अनुसार, सुर्खेत–१ मा टेकबहादुर सिंह, सुर्खेत–२ मा रमेश सापकोटा, दैलेख–१ मा नन्दकिशोर बस्नेत (एनके), दैलेख–२ मा बखतबहादुर शाहीलाई रास्वपाले टिकट दिएको छ ।

यस्तै सल्यानमा ललित चन्द, रुकुम पश्चिममा मानबहादुर शाही, जुम्लामा विनिता कठायत, मुगुमा भुवन टमटा, कालिकोटमा प्रकाश न्यौपाने, जाजरकोटमा राघव कार्की र डोल्पामा देवसिंह ऐडीले उम्मेदवारको टिकट पाएका छन् ।

टिकट पाएसँगै उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रतर्फ लागिसकेका छन् ।

कुन नेता कस्तो ?

जाजरकोटका राघव कार्की दुई वटा विषयमा डिग्री गरेका बौद्धिक व्यक्ति हुन् । उनी यसअघि लामो समय सरकारी जागिरे हुन् । उनी अधिवक्ता समेत हुन् । जाजरकोटमा नेकपाबाट शक्ति बस्नेत, एमालेबाट डम्बरबहादुर सिंह उम्मेदवार छन् ।

डोल्पाका ऐडी इन्जिनियर हुन् । सुर्खेत–१ मा उम्मेदवार बनेका टेक बहादुर सिंह कांग्रेसका पूर्वजिल्ला उपसभापति हुन् । सुर्खेतको राजनीतिक वृत्तमा चर्चित सिंह जनतामा चिनिएका नेता हुन् । कांग्रेसमा अपमान भएको भन्दै केही महिनाअघि मात्रै उनी रास्वपा प्रवेश गरेका थिए । उनी रास्वपा प्रवेश गरेसँगै सुर्खेतको पूर्वी क्षेत्रमा रास्वपाको संगठन विस्तारमा खटिएका छन् । यहाँ एमालेबाट ध्रुव शाही, नेकपाबाट जीतबहादुर राना उम्मेदवार छन् ।

यता सुर्खेत–२ मा उम्मेदवार बनेका रमेश सापकोटा यातायात व्यवसायी हुन् । उनी रास्वपाको सुर्खेत जिल्ला सभापतिसमेत हुन् । उनको राजनीतिक पृष्ठभूमि कांग्रेस नै हो । उनी दुई वर्ष अघिदेखि नै कांग्रेस परित्याग गरी रास्वपामा आबद्ध भएका थिए । सुर्खेतमा सबैतिर चिनिएका सापकोटा युवामाझ लोकप्रिय नै छन् ।

उसो त यो क्षेत्रमा रास्वपाका कर्णाली प्रदेश प्रवक्ता हरि अधिकारीको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थियो । अन्तिममा सापकोटाले टिकट पाए । यो क्षेत्रमा एमालेबाट कुलमणी देवकोटा, नेकपाबाट झकबहादुर मल्ल उम्मेदवार छन् ।

दैलेख–१ मा टिकट पाएका नन्दकिशोर बस्नेत दैलेखमा चिनिएकै व्यक्ति हुन् । लामो समय एमालेको राजनीति गरेका उनी एमालेबाट प्रत्यक्षतर्फ नै सिफारिस थिए । तर आफूले टिकट नपाउने थाहा पाएका उनले रास्वपा प्रवेश गरी टिकट पाउन सफल भए ।

होटल व्यापारी पृष्ठभूमिका उनी औद्योगिक जिल्ला व्यवस्थापन लिमिटेडका पूर्वअध्यक्ष तथा महाप्रबन्धक समेत हुन् । उनले आफ्नै पूर्वसहकर्मीहरू नेकपाका अम्मरबहादुर थापा र एमालेका रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, दैलेख–२ मा रास्वपाबाट उम्मेदवार बनेका बखतबहादुर शाही नेपालको हाइड्रोपावर क्षेत्रमा चर्चित नाम हो । नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी प्रमुखसमेत रहेका शाहीले गत असोजमा जागिर छाडेर राजनीतिमा आएका हुन् । कुनैवेला पश्चिम दैलेखका विभिन्न ठाउँमा अध्यापन समेत गरेका शाही सबैतिर चिनिएका व्यक्ति हुन् । यहाँ नेकपाबाट योगेन्द्र शाही र एमालेबाट लक्ष्मी पोखरेल उम्मेदवार छन् ।

कालिकोटमा टिकट पाएका प्रकाश न्यौपाने सामाजिक सञ्जाल (टिकटक)मा चर्चित छन् । कर्णालीको ठेट भाषा बोल्दै बेथितिविरुद्ध आवाज उठाएर भाइरल बनेका उनी ‘भकारान्ते’ नामले परिचित छन् । सीए अध्ययनरत उनी युवाहरूमाझ लोकप्रिय नै छन् । यद्यपि कालिकोट माओवादीको आधार क्षेत्र भएकाले उनलाई चुनाव जित्न गाह्रै छ । कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही, एमालेबाट नगीन्द्र शाही ‘नेसनल’ उम्मेदवार छन् ।

उता सल्यानका उम्मेदवार ललित चन्द बौद्धिक व्यक्ति हुन् । सिभिल इन्जिनियर रहेका उनी ग्रामीण विकासका सन्दर्भमा लामो समय काम गरेका थिए ।

संयुक्त राष्ट्रिय आबद्ध कार्यक्रमहरूमा उनले झन्डै १८ वर्ष काम गरेका छन् । उनी माओवादी पृष्ठभूमिका हुन् । सल्यानमा नेकपाबाट रमेश मल्ल उम्मेदवार छन् भने एमालेबाट गुलाबजंग शाह ।

रुकुम पश्चिममा उम्मेदवार बनेका मानबहादुर शाही पनि इन्जिनियर नै हुन् । उनी पूर्वमाओवादी कार्यकर्ता हुन् । युवाहरूबिच लोकप्रिय रहेका उनले जाजरकोट भूकम्पका बेला सक्रिय भएर काम गरेर चर्चा कमाएका छन् ।

०७९ को चुनावसम्म माओवादीमै रहेका उनी असन्तुष्ट बनेर रास्वपामा लागेका हुन् । यहाँ चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । प्रलोपाबाट जनार्दन शर्मा र नेकपाबाट गोपाल शर्मा उम्मेदवार छन् । यिनीहरू तीनै जना यसअघि एउटै पार्टीमा थिए । यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् ।

जुम्लाकी विनिता कठायत भने ०७९ को निर्वाचनपछि समानुपातिक सांसद बनेकी थिइन् । उनी युवाहरूमाझ लोकिप्रय रहे पनि माओवादीको आधार क्षेत्रमा आफूलाई अब्बल साबित गर्न चुनौती देखिएको छ । यहाँ नेकपाबाट नरेश भण्डारी, एमालेबाट शान्तिलाल महत उम्मेदवार छन् ।

परम्परागत राजनीतिले जरा गाडेको कर्णालीमा यो पटक रवि लामिछाने नेतृत्वको रास्वपाले सबैजसो निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप