सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा ‘सीप तथा रोजगार मेला’ सुरु

मङ्गलबार, ०६ माघ २०८२, ०० : ४२
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला सुरु गर्यो, जसको उद्देश्य युवालाई श्रम बजारमा ल्याउनु हो।
  • मेलामा विभिन्न स्थानीय तहबाट आवेदन परेको थियो, जसमध्ये छनोट भएकालाई सीपमूलक तालिम दिइनेछ।
  • तालिमपछि रोजगारदाता सम्मेलन हुनेछ, जहाँ रोजगारी खोज्ने र दक्ष जनशक्ति आवश्यक पर्नेहरूबीच समन्वय हुनेछ।

कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आजदेखि धनगढीमा सीप तथा रोजगार मेला सुरु भएको छ ।

युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सुरु गरिएको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए ।

मेलाका लागि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट पुरुष, महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह गरी तीन हजार ८०२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६०० जना आवेदकहरूलाई छनोट गरिएको छ । कूल ६०० जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको उक्त तालिममा सात क्षेत्रका २२ प्रकारका सीपमूलक तालिम सञ्चालन गरिने संयोजक महराले बताए ।

प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरिनेछ । तालिम दैनिक ६ घण्टा सञ्चालन हुनेछ । तालिमको अवधि जम्मा ३० दिनको हुनेछ । त्यसपछि थप १० दिन रोजगारीमा जान इच्छुक सहभागीहरूका लागि रोजगार परामर्श कार्यशाला सञ्चालन गरिनेछ भने आफ्नै पेसा वा व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिने उपमहानगरपालिकाले जनाएको छ ।

तालिमपश्चात् दुई दिने रोजगारदाता सम्मेलन आयोजना गरिने जनाइएको छ । सम्मेलनमार्फत रोजगारीको खोजीमा रहेका प्रशिक्षार्थीहरू र दक्ष जनशक्ति आवश्यक परेका विभिन्न संस्था तथा कम्पनीबिच प्रत्यक्ष समन्वय गराइने रोजगार संयोजक महराको भनाइ छ । सीप तथा रोजगार मेला आगामी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप