शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

झापा–२ मा ‘हेभिवेट’ भिडन्त : पूर्वसभामुख र उपसभामुख नै आमनेसामने

मङ्गलबार, ०६ माघ २०८२, १३ : ०३
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनमा झापा जिल्ला ‘हट केक’ बनेको छ। झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँका निवर्तमान मेयर बालेन शाहको अप्रत्याशित टकरावले माहोल तताइरहँदा झापा–२ को चुनावी भिडन्त पनि कम रोचक छैन। 

यस क्षेत्रमा विघटित संसद्का दुई प्रमुख पदाधिकारी अर्थात् निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना नै आमनेसामने भएका छन्। एमालेका तर्फबाट घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राना चुनावी मैदानमा उत्रिएपछि यहाँको प्रतिस्पर्धा पेचिलो बनेको हो।

२०७९ को निर्वाचनपछि एमाले अध्यक्ष ओलीको विशेष जोडबलमा सभामुख बनेका घिमिरेले आफ्नो कार्यकालमा सन्तुलित भूमिका निर्वाह गर्न नसकेको भन्दै विपक्षी दलहरूको तारो बन्दै आएका थिए। विशेषगरी भदौ २३ गते संसद् भवन अगाडि भएको ‘जेनजी विद्रोह’ र त्यसक्रममा २३ जना युवाको ज्यान गएको घटनापछि उनको भूमिकामाथि थप प्रश्न उठेको थियो। 

आक्रोशित भिडले भोलिपल्ट संसद् भवन नै जलाएर ध्वस्त पारेको खरानीको जगमा प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेको मध्यावधि निर्वाचनमा घिमिरे फेरि जनमत परीक्षणमा होमिएका छन्। संसद् पुनस्र्थापनाको पक्षमा देखिए पनि अन्त्यमा उनले ओलीकै साथ रोजे र टिकट पनि हत्याए।

अर्कोतर्फ, तत्कालीन माओवादी–रास्वपा गठबन्धनबाट उपसभामुख बनेकी इन्दिरा रानालाई ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले अविश्वासको प्रस्ताव ल्याएर हटाउने प्रयास गरेको थियो। 

उपसभामुख हुँदा सत्तापक्षको निरन्तर दबाब र पेलान खेपेकी राना यसपटक समानुपातिक कोटा छाडेर प्रत्यक्षतर्फको जोखिमपूर्ण यात्रामा निस्किएकी छिन्। राज्य संयन्त्रको पेलानको जवाफ ब्यालेटबाट दिने दाउमा उनी छिन्। एउटै संसद्को पोडियममा तल–माथि बसेर सभा चलाएका यी दुई पात्र अहिले एक–अर्कालाई हराउन जनताको घरदैलोमा पुगेका छन्।

विगतको अंकगणित हेर्दा घिमिरेलाई यसपटकको चुनाव फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ। २०७९ को निर्वाचनमा घिमिरेले २८ हजार ७१६ मत ल्याएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालले २६ हजार ४५५ मत ल्याएर कडा चुनौती दिएका थिए। 

सोही चुनावमा रास्वपाका रुद्रप्रसाद गिरीले ८ हजार ७८१ मत मात्र पाएका थिए। तर, यसपटक समीकरण बदलिएको छ। घिमिरेलाई टक्कर दिएका स्वागत नेपाल अहिले राप्रपा प्रवेश गरेका छन् भने जिल्लामा बालेन शाहको उम्मेदवारीले एमालेको परम्परागत मतमा समेत असर पार्ने देखिन्छ। 

झापा–२ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ रहेको छ । यसैगरी बुद्धशान्ति गाउँपालिकाका वडा नं. १, २, ३ र कन्काई नगरपालिकाका वडा नं. ८, ९ पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप