‘हेभीवेट’ पूर्णबहादुर खड्काले चुनावी मैदान छाड्दा यस्ता छन् कर्णालीमा कांग्रेसका १२ उम्मेदवार
सारांश
- नेपाली कांग्रेसले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।
- सुर्खेत १ मा पूर्णबहादुर खड्काको सट्टामा उनका भाइ विष्णुलाई टिकट दिइएको छ, भने अन्य क्षेत्रमा पनि नयाँ अनुहारहरूलाई प्राथमिकता दिइएको छ।
- मुगु र दैलेख-२ मा भने अघिल्लो निर्वाचनका उम्मेदवारहरूलाई नै निरन्तरता दिइएको छ।
सुर्खेत । नेपाली कांग्रेसले प्रतिनिधि सभा अन्तर्गत कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदरवार टुङ्गो लगाएको छ ।
सुर्खेत–१ मा पूर्वउपसभापति पूर्णबहादुर खड्काले चुनाव नलड्ने भएपछि उम्मेदवार टुङ्गो लाग्न ढिलाइ भएको थियो । अन्तिममा खड्काका आफ्नै भाइ विष्णुलाई पार्टीले टिकट दिएको छ ।
विष्णु कांग्रेसका जिल्ला उपसभापति हुन् । उनी व्यवसायीसमेत हुन् । सुर्खेत–१ पूर्णबहादुर खड्काले तीन दशकदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्र हो । ०७९ को निर्वाचनमा उनले ४२ हजार ६०७ मत ल्याउँदा एमालेका ध्रुव शाहीले ३० हजार ९८८ मत पाएको थियो ।
‘हेभीवेट’ नेता खड्काले मैदान खाली गरेपछि उनकै भाइ विष्णु चुनावी मैदानमा होमिन तयार भएका हुन् । विष्णुसँग यसअघि कुनै पनि संसदीय चुनाव लडेको अनुभव छैन । यद्यपि उनी दाइ पूर्णबहादुरको रणनीतिक योजनामा भने सधैँ अग्रभागमा रहेर काम गरिरहेका हुन्थे ।
यहाँ एमालेबाट पुरानै नेता ध्रुव शाही उम्मेदवार छन् । नेकपाबाट जीतबहादुर राना, रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमाल उम्मेदवार छन् । जसमध्ये एमालेका शाहीबाहेक अन्य सबै उम्मेदवार नयाँ हुन् ।
सुर्खेत–२ मा नारायण कोइराला उम्मेदवार बनेका छन् । कांग्रेसका प्रभावशाली नेता हृदयराम थानीले चुनाव लड्दै आएको उक्त क्षेत्रमा कोइराला उम्मेदवार बनेका हुन् ।
थानीले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए । ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ गरी ६ पटक चुनाव लडेका थानी कांग्रेस कर्णालीमा संस्थान इतर पक्षको नेतृत्वकर्ता हुन् ।
यद्यपि उनी विशेष महाधिवेशनमा कतै पनि खुलेका थिएनन् । सोही भूमिकाका कारण आफू निकटका नेताहरूले सहयोग नगर्ने बताएपछि थानीले चुनाव नलड्ने घोषणा गरेका थिए । अहिले उक्त क्षेत्रमा कुनै बेला थानी पक्षधर मानिने नारायण कोइराला उम्मेदवार बनेका छन् ।
कोइराला सुर्खेत कांग्रेसभित्र बौद्धिक नेता मानिन्छन् । यसअघि केन्द्रमा शेखर कोइराला र प्रदेशमा थानी पक्षधर उनी विशेष महाधिवेशनको पक्षमा उभिएका थिए । यहाँ नेकपा एमालेबाट कुलमणी देवकोटा, नेकपाबाट झकबहादुर मल्ल र रास्वपाबाट रमेश सापकोटा उम्मेदवार छन् ।
- मुगु र दैलेख–२ मा पुरानै अनुहार
मुगुमा उम्मेदवार बनेका ऐनबहादुर शाही ०७९ को निर्वाचनमा १४ हजार ७०६ मत प्राप्त गरेर चुनाव जितेका थिए । उनी केन्द्रको वनमन्त्री समेत बने । देउवा पक्षधर मानिने उनै शाहीलाई कांग्रेसले पुनः टिकट दिएको हो । उनी कांग्रेस मुगुको सभापति हुन् ।
दैलेख–२ मा पुनः टिकट पाएका दीक्पालकुमार शाही ०७९ को चुनावमा माओवादीसहितको समर्थनमा २० हजार १८३ मतसहित निर्वाचित भएका थिए । यद्यपि उनी संसदमा कहिल्यै सुनिएनन् ।
ठेकदार पृष्ठभूमिका उनको निर्माण कम्पनीले पश्चिम सुर्खेतको मदन भण्डारी राजमार्ग अलपत्र पारेको भन्दै उनका तस्बिर रुखमा टाँसेर ‘ठेकदार सांसदको खोजी’ भन्दै विरोधसमेत भएको थियो । उनी विशेष महाधिवेशनको पक्षमा खुलेका थिए ।
सो क्षेत्रमा एमालेबाट ०७९ मा शाहीसँगै हारेका लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार छन् । पोखरेलले त्योवेला २० हजार १६ मत ल्याएका थिए । उनी अनुभवी नेता हुन् । यहाँ नेकपाबाट योगेन्द्रबहादुर शाही उम्मेदवार छन् । नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी प्रमुख बखतबहादुर शाही यो क्षेत्रमा रास्वपाका उम्मेदवार छन् ।
- अन्य क्षेत्रमा को ?
कांग्रेसमा दुई जना बाहेक प्रायः नयाँ उम्मेदवार छन् । हुम्लामा जयपती रोकायाले टिकट पाएका छन् । उनी यसअघि पार्टीको जिल्ला सभापति भइसकेका व्यक्ति हुन् । उनी ०७९ मा समानुपातिक उम्मेदवार भए पनि सांसद बन्न सकेका थिएन् । जुम्लामा दिप बहादुर शाहीले टिकट पाएका छन् । उनी कांग्रेसका पूर्वजिल्ला सभापति हुन् ।
दैलेख–१ मा महिला नेतृ बासना थापाले कांग्रेसको टिकट पाएकी छन् । नेविसंघको राजनीतिबाट उदाएकी उनी ०७४ मा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन् । तर उनी थोरै मतान्तरले पराजित भइन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी थापाले अन्य पार्टीका पुराना नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् । यो क्षेत्रमा ०७४ र ०७९ मा कांग्रेसले उम्मेदवारी दिएको थिएन ।
यहाँ चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यहाँ एमालेबाट रविन्द्रराज शर्मा नै उम्मेदवार बनेका छन् भने नेकपाबाट अम्मरबहादुर थापाले नै टिकट पाएका छन् । थापा र शर्मा दुवै परीक्षण भइसकेका नेताहरू हुन् । रास्वपाले एनके बस्नेतलाई उम्मेदवार बनाएको छ ।
रुकुम पश्चिममा गगन थापा पक्षधर मानिने राजु केसीले टिकट पाएका छन् । उनी पहिलो पटक उम्मेदवार बनेका हुन् । यद्यपि माओवादीको दबदबा रहेको उक्त क्षेत्रमा जित निकाल्न कठिन छ ।
जाजरकोटमा अघिल्लो पटक शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित खड्गबहादुर बुढाले टिकट पाएका छन् । यद्यपि उनी जिल्लामा युवाबिच परिचित युवा नेता हुन् । नेकपाका शक्ति बस्नेतको गृह जिल्ला भएकाले यहाँ कांग्रेसले ०६४ यताका कुनै पनि चुनावमा जित निकाल्न सकेको छैन । अहिले पुनः बस्नेत चुनावी मैदानमा छन् ।
डोल्पामा कांग्रेसका कर्णबहादुर बुढाले टिकट पाएका छन् । उनी विशेष महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री निर्वाचित भएका छन् । उनको राजनीतिक विगतमा निकै अस्थिर छ । उनी राप्रपा हुँदै कांग्रेस प्रवेश गरेका हुन् । त्यहाँ उनकै सहोदर दाइ धनबहादुर बुढा नेकपाबाट उम्मेदवार छन् । धनबहादुरले लगातार चुनाव जित्दै आएका छन् । दुई दाजुभाइबिच चुनावी प्रतिस्पर्धा रोचक हुने छ । डोल्पा बुढा परिवारको बलियो प्रभाव रहेको क्षेत्र हो ।
यस्तै, कालिकोटमा हर्ष बहादुर बमले टिकट पाएका छन्, उनी पूर्वजिल्ला सभापति हुन् । यहाँ भूपेन्द्रजंग शाही उम्मेदवार बन्ने तयारीमा थिए, तर उनी विशेष महाधिवेशनमा खुलेनन् ।
- सल्यानमा पालिका हारेका विष्ट उम्मेदवार
सल्यानमा ०७९ को चुनावमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा पराजित केशबहादुर विष्टले कांग्रेसबाट टिकट पाएका छन् । उनी ०७४ मा जिल्ला समन्वय समिति प्रमुख समेत भएका नेता हुन् । कांग्रेस सल्यानका सभापतिसमेत रहेका उनी विशेष महाधिवेशनको पक्षमा खुल्ने कर्णालीका एकमात्र जिल्ला सभापति हुन् ।
- कति छ कर्णालीका कांग्रेसको शक्ति ?
०७९ मा कांग्रेसले माओवादीसँगको गठबन्धनबाट सुर्खेतका दुई, दैलेख–२ र मुगुमा प्रतिनिधि सभा चुनाव जितेको थियो ।
स्थानीय तह निर्वाचन २०७९ को स्थानीय तह निर्वाचनमा वडमा पाएको दलहरूको मत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण