मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन चर्चा

मकवानपुर–१: पुराना प्रतिस्पर्धीलाई नयाँको चुनौती

सिंह, डिना र रानाको त्रिपक्षीय प्रतिस्पर्धामा गौतमको इन्ट्री
बुधबार, ०७ माघ २०८२, ०९ : २६
बुधबार, ०७ माघ २०८२

सारांश

  • मकवानपुर क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
  • कांग्रेसकी महालक्ष्मी उपाध्याय 'डिना', एमालेका रामेश्वर राना, र राप्रपाका दीपक बहादुर सिंह मुख्य प्रतिस्पर्धीको रूपमा देखिएका छन्।
  • स्वतन्त्र, रास्वपा, जसपा, र अन्य साना दलका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिने भएका छन्।
00:00 / NaN:NaN
Audio By AI

मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतम, एमालेका रामेश्वर राना, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेतीले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रबाट राप्रपाका दीपक बहादुर सिंह, रास्वपाका प्रकाश गौतम, जसपाका दीपक सिन्तान, नेकपा माओवादीका महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेपाल मजदुर किसान पार्टीकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रुपक लामा, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पनि उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा स्वतन्त्रबाट अमर दंगाल, अमिक परियार, टीका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेश कुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञान सागर लामाले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा कांग्रेसकी डिना, एमालेका राना र राप्रपाका सिंह देखिएका छन् । २०७९ को निर्वाचनमा सिंहले सो क्षेत्रमा चुनाव जित्दा कांग्रेसकी डिना दोस्रो भइन् । त्यतिबेला एमालेको टिकट पाएका रानाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन् । रानाको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका कमल थापालाई एमालेकै चुनाव चिह्न दिएर उम्मेदवार बनाएका दिएका थिए । यद्यपि थापा तेस्रो स्थानमा सीमित भए ।

आसन्न निर्वाचनमा थापाले मकवानपुर छाडेर काठमाडौँबाट उम्मेदवारी दिएका छन् । राप्रपाका सिंहले मकवानपुर–१ मा आफ्नो प्रभाव रहेको बताउँदै पार्टीको टिकट लिन सफल भएका छन् ।

२०६४ मा तत्कालीन मकवानपुर–४ बाट चुनाव हारेका राना एमालेका त्यागी नेताको रूपमा चिनिन्छन् । बलियो संगठन रहेको एमालेले सो क्षेत्रमा यस पटक रानाको सादगी र भद्र स्वभावलाई भजाउने रणनीति बनाएको छ । डिना, राना र सिंह मकवानपुरमा चिनिएका र पुराना पात्र हुन् । डिना २०४८ देखि प्रत्यक्ष तथा समानुपातिक सूचीमा रहेर चुनावी मैदानमा उत्रिँदै आएकी छन् । २ पटक समानुपातिकतर्फबाट सांसद बनेकी डिना जलस्रोत राज्यमन्त्री पनि भइन् । प्रत्यक्षतर्फको हरेक प्रतिस्पर्धामा उनी पराजित भएकी छन् ।

राप्रपाका सिंह पनि पटक–पटक मकवानपुरबाट चुनाव लड्दै आएका छन् । अझ रोचक त के छ भने पञ्चायतकालमा हेटौंडा नगर पञ्चायत र जिल्ला विकास समितिको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सिंह स्थानीयस्तरमा भिजेका पात्र हुन् ।

सिंह अहिले विकास र सुशासनको मुद्दा लिएर पुनः चुनावी मैदानमा छन् । त्यसो त उनी २०७९ को निर्वाचनपछि जलस्रोत राज्यमन्त्री र पूर्वाधार विकास समितिको सभापति पनि बने । तत्कालीन सरकार र सत्तारुढ तत्कालीन दलहरूको कट्टर आलोचक रहेका सिंह आफ्नो भाषण शैली र अभिव्यक्तिका कारण चर्चामा हुन्छन् ।

नेपाली कम्युनिस्ट पार्टीले भने युवा वर्गबाट सो क्षेत्रमा उम्मेदवार उतारेकोल छ । विद्यार्थी राजनीतिबाट उदाएका गौतम माओवादी पृष्ठभूमिका हुन् । २ वटा विषयमा स्नाकोत्तर गरेका गौतम पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् । उनले जनयुद्ध त लडेनन्, तर माओवादीको विद्यार्थी संगठनमा रहेर विद्यार्थी आन्दोलनको मोर्चामा अग्रपंक्तिमा रहेर काम गरेका थिए । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर गौतमले काम गरेका थिए । डिना, सिंह र रानाबिचको प्रतिस्पर्धामा गौतमले युवाको मत आफूतिर कति तान्न सक्छन् भन्ने विषयले उनको पोजिसन निर्धारण गर्नेछ ।

यता प्रगतिशील लोकतान्त्रिक पार्टीले तेजप्रसाद उप्रेतीलाई उम्मेदवार बनाएको छ । उप्रेती नयाँ र युवा उम्मेदवार हुन् । रास्वपाबाट व्यवसायी प्रकाश गौतम उम्मेदवार बनेका छन् । उनी पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् । होटल व्यवसाय चलाउँदै आएका गौतम सो क्षेत्रका लागि नयाँ उम्मेदवार हुन् । रास्वपामा पछिल्लो समय बढेको लहरलाई मतमा बदल्ने दाउमा रहेका गौतमका लागि टिकट वितरणप्रतिको असन्तुष्टि चुनौतीपूर्ण हुने देखिन्छ ।

रास्वपा केन्द्रीय सदस्य विन्दवासिनी कंशाकारले राजनीति र पैसाका सम्बन्धमा गरेको टिप्पणीले रास्वपाभित्रको असन्तुष्टि छताछुल्ल पारेको छ । जिल्ला सभापति भरत पराजुली, सल्लाहकार विष्णु गौतम लगायतलाई पत्तो नदिई गौतमले केन्द्रबाट टिकट ल्याएपछि रास्वपाभित्र असन्तुष्टि व्यक्त भइरहेको छ ।

सो क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पुराना दलका उम्मेदवारलाई चुनौती बढाउने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप