शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

फेरिएको राजनीतिक परिदृश्यले कर्णालीमा कस्तो प्रभाव पार्ला ?

बुधबार, ०७ माघ २०८२, १५ : ३१
बुधबार, ०७ माघ २०८२

सुर्खेत । ०७९ को आम निर्वाचनसम्म आउँदा तराई र सहरी क्षेत्रमा स्वतन्त्र र नयाँ दलहरूले पुराना र ठुला मानिएका दलहरूलाई धक्का दिँदा कर्णालीमा त्यसको कुनै प्रभाव परेन । यहाँ विशेषगरी ठुला भनिएका दल कांग्रेस, एमाले, माओवादीकै दबदबा छ ।

०७९ को निर्वाचन र उपनिर्वाचनसमेत गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली बाहेकका क्षेत्रबाटै २१ सिटसहित प्रतिनिधि सभामा चौथो ठुलो राजनीतिक दलका रूपमा स्थापित भयो । त्यसपछि रास्वपाले आफ्नो संगठनलाई सबैतिर विस्तार गरेको छ । कर्णालीमा प्रदेश, पालिका र ३०० भन्दा बढी वडासम्म उसको संगठन विस्तार भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् देशको राजनीतिक परिदृश्य नै बदलिएको छ । ठुला भनिएका दलहरूकै कारण जेनजी विद्रोह भएको भन्दै वैकल्पिक तथा नयाँ राजनीतिक शक्तिले परिवर्तनको नारा लगाइरहेका छन् ।

जेनजी आन्दोलनपछि माओवादीले रुपान्तरणको नाममा विभिन्न दलसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएको छ । अर्कोतिर कर्णालीमा आफ्नो प्रभाव बनाएका माओवादी पृष्ठभूमिकै नेता जनार्दन शर्मा यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मार्फत चुनावी मैदानमा छन् । प्रलोपाले रुकुमपश्चिम सहित हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । शर्मा रुकुमपश्चिमबाट उम्मेदवार बनेका छन् ।

अर्को ठुलो राजनीतिक दल कांग्रेस आन्तरिक विवादकै बिच चुनावी मैदानमा होमिएको छ । परम्परागत राजनीतिले जरा गाडेको कर्णालीमा फेरिएको राजनीतिक परिदृश्यले कस्तो प्रभाव पार्ला भन्ने आम चासोको विषय बनेको छ ।

नयाँ भनिएका राजनीतिक दल र स्वतन्त्रहरू पुराना दलविरुद्ध चुनावी मैदानमा होमिएका छन् । मंगलबारको उम्मेदवारी दर्ता सूची अनुसार १२ निर्वाचन क्षेत्रमा १३० भन्दा बढी उम्मेदवार छन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले फाट्ट–फुट्ट उम्मेदवारी दर्ता गरेको छ भने विप्लव नेतृत्वको नेकपा (माओवादी)ले पनि सबै क्षेत्रमा उम्मेदवारी दिएको छ ।

विशेषगरी जेनजी आन्दोलनपछि रास्वपामा उभार देखिएको छ । रास्वपाले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

मंगलबार उम्मेदवारी दर्ताका क्रममा पुराना राजनीतिक दलहरूले जेनजी आन्दोलनका कारण देशमा ठुलो भौतिक क्षति भएको, आन्दोलनका अगुवाहरू विदेशीको इशारामा परिचालित भएको आरोप लगाउनेमात्र होइन, राष्ट्र र राष्ट्रियता बचाउन तथा देशलाई विकासतर्फ अग्रसर गराउन आफूहरू नै चाहिने जिकिर गरे ।

नयाँ भनिएकाहरूले युवाहरूमाथि गोली चलाएर हत्या गरेको, देशमा भ्रष्टाचार मौलाएकाले त्यसलाई अन्त्य गर्नेजस्ता एजेण्डा अघि सारेका छन् ।

वरिष्ठ पत्रकार प्रकाश अधिकारीका बुझाइमा रास्वपा लगायत नयाँ भनिएका दलहरूको उदय नै सहरी जनमतबाट भएकाले कर्णाली जस्तो भूगोलमा खासै प्रभाव पर्ने छैन । हिजो गाउँबाट माओवादी उदाएको उदाहरण दिँदै उनले कर्णालीको भूगोल नयाँ भनिएका शक्तिहरूका लागि सहज नहुने बताए ।

‘कर्णालीमा वीरेन्द्रनगर बाहेक अन्य क्षेत्रमा नयाँहरूको प्रभाव कमै छ,’ उनले भने, ‘कर्णालीमा कांग्रेस, नेकपा र एमालेबिच नै प्रतिस्पर्धा हुन्छ ।’

यसअघि पटक–पटक गठबन्धन गरेर चुनावमा जाने दलहरू अहिले एक्लाएक्लै चुनावी मैदानमा छन् । त्यसैले कुन दलको वास्तविक शक्ति कति भन्ने बुझ्न पनि यो निर्वाचन महत्त्वपूर्ण हुने देखिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन तथा राजनीतिक विश्लेषक पीताम्बर ढकाल पनि समग्र देशको अवस्था हेर्दा पुराना दल त्रसित देखिए पनि नयाँ राजनीतिक दलहरूले कर्णालीमा वर्चस्व नै कायम गर्लान् भन्ने अवस्था नदेखिएको बताउँछन् ।

यद्यपि जनमतमा भने पुराना दलको पोजिसनमा क्षय हुने उनको आकलन छ । उनका बुझाइमा पुराना दल र तिनका नेताहरू पुरातनवादी सोचमा अभ्यस्त छन् । ‘पदमा एकचोटी आइसकेपछि हामी सधैँभरि पदमै रहनुपर्छ र अरूलाई पदमा जान नदिने किसिमको रवैया उनीहरूमा छ,’ उनले भने, ‘यस्तो रवैयाले वितृष्णा जगाए पनि कर्णालीमा पुराना दलहरूबिच नै प्रतिस्पर्धा हुने देखिन्छ ।’

एमाले प्रदेश उपाध्यक्ष टेकराज पछाई नयाँ दलहरूले कर्णालीमा नयाँ भनिएका शक्तिहरूको प्रभाव नदेखिएको बताउँछन् । ‘सहरी क्षेत्रमा जस्तो पहाडी इलाकामा नयाँ भनिएका दलको रणनीतिले काम गर्दैन,’ उनले भने, ‘पुराना दलहरूको सांगठनिक अवस्था कर्णालीमा बलियो छ ।’

नेकपाका युवा नेता किरणप्रकाश बिसीले पनि कर्णालीमा पुराना दलहरूबिच नै प्रतिस्पर्धा हुने दाबी गरे ।

यता रास्वपाका प्रदेश प्रवक्ता हरि अधिकारी रास्वपाप्रति जनताको विश्वास बढेको बताउँछन् । ‘रास्वपाप्रति जनताको विश्वास बढेको छ,’ उनले भने, ‘रास्वपाले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ, बाँकी कुरा त मत परिणाम आएपछि थाहा भइहाल्छ ।’

  • फर्केर हेर्दा ०७९ मा चुनाव

देशका विभिन्न सहरी क्षेत्रमा नयाँ राजनीतिक दलका रूपमा रास्वपा उदाउँदा ०७९ को चुनावसम्म कर्णालीमा पुरानै दलहरूबिच प्रतिस्पर्धा भएको थियो । उक्त चुनावमा कांग्रेस, तत्कालीन माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनसँग एमालेले प्रतिस्पर्धा गर्‍यो ।

  • यस्तो छ चुनाव जितेकाहरूले पाएको मत

कालिकोट

महेन्द्रबहादुर शाही (माओवादी) : २३ हजार ७२७ (विजयी)

नगीन्द्र शाही ‘नेसनल’ : १६ हजार ७१८

०६४, ०७०, ०७४ पनि माओवादीले जितेको ।

जुम्ला

ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) (राप्रपा) : २२ हजार ८१९ (विजयी)

गोमा कुवँर (माओवादी) : ११ हजार ९५९ मत

एमाले तेस्रो

०६४, ०७४ माओवादी, ०७० मा कांग्रेसले जितेको ।

सल्यान

प्रकाश ज्वाला (एकीकृत समाजवादी)ः ३५ हजार ७०७ (विजयी)

राजेन्द्रबहादुर शाही (स्वतन्त्र, कांग्रेस बागी)ः १९ हजार ७९२

राजेन्द्रवीर राय (एमाले)ः १३ हजार ३९

०६४, ०७०, ०७४ मा माओवादीले जितेको ।

दैलेख

क्षेत्र नम्बर १

अम्मरबहादुर थापा (एकीकृत समाजवादी)  : १८ हजार २९७ (विजयी)

रविन्द्रराज शर्मा (एमाले) : १७ हजार ४४५

यहाँ ०६४ कांग्रेस, ०७० र ०७४ एमालेले जितेको थियो ।

क्षेत्र नम्बर २

दीक्पालकुमार शाही (कांग्रेस)ः २० हजार १८३ (विजयी)

लक्ष्मीप्रसाद पोख्रेल (एमाले)ः २० हजार १६ मत

यहाँ ०६४, ०७०, ०७४ एमालेले जितेको थियो ।

सुर्खेत

क्षेत्र १

पूर्णबहादुर खड्का (कांग्रेस) : ४२ हजार ६०७ (विजयी)

ध्रुवकुमार शाही (एमाले) : ३० हजार ९८८

क्षेत्र २

हृदयराम थानी (कांग्रेस) : ३४ हजार ६२५ (विजयी)

अमृत कुमार बिसी (एमाले):  २९ हजार ५५८

रुकुम पश्चिम

जनार्दन शर्मा (माओवादी):  ३९ हजार ५४९ (विजयी)

नन्दराम देवकोटा (एमाले): १२ हजार ९६१

०६४, ०७०, ०७४मा माओवादीले जितेको ।

डोल्पा

धनबहादुर बुढा (एकीकृत समाजवादी) : ११ हजार २९२ (विजयी)

गणेश बहादुर शाही (एमाले) : ५ हजार ५०५

जाजरकोट

शक्ति बहादुर बस्नेत (माओवादी) : ३४ हजार १५१ (विजयी)

निरज आचार्य (एमाले): २५ हजार १२०

०६४, ०७०, ०७४ मा माओवादीले जितेको ।

मुगु

ऐनबहादुर शाही (कांग्रेस) : १४ हजार ७०६ (विजयी)

राजु कार्की (एमाले) :  १० हजार ७१०

हुम्ला

छिरिङ डम्डुल (कार्चेन) लामा (माओवादी) : ४ हजार ३७१ (विजयी)

दल रावल (एमाले): ९ हजार ५१६

 ०७९ मा स्थानीय, प्रदेशदेखि प्रतिनिधि सभाकै चुनावमा गठबन्धन थियो । ०७९ मा भएको स्थानीय तहमा वडामा पाएको मत विश्लेषण गर्दा कांग्रेस पहिलो राजनीतिक दल छ । दोस्रोमा एमाले र माओवादी तेस्रो स्थानमा छ ।

शान्ति प्रक्रियापछि माओवादी निरन्तर सत्तामा रहे पनि हरेक चुनावमा उसको जनाधार खस्किँदै गएको छ । अहिले माओवादी र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । दुई दलले वडामा पाएको मत विश्लेषण गर्दा पनि नेकपा ०७९ को चुनावमा तेस्रै स्थानमा आउँछ ।

स्थानीय तहको चुनावमा वडामा पाएको दलहरूको मतपरीणाम

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप