रुपन्देही-३ : फरक–फरक पृष्ठभूमिका उम्मेदवार मैदानमा, पाइलटदेखि डाक्टरसम्म
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको तयारी भइरहेको छ, जसमा विभिन्न दलहरूले युवा उम्मेदवारहरूलाई अघि सारेका छन्।
- निर्वाचनमा कांग्रेसबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, रास्वपाबाट डा. लेखजंग थापा, राप्रपाबाट गौरव बोहरा लगायतका उम्मेदवार छन्।
- उपनिर्वाचनमा नयाँ र पुराना अनुहारहरूबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ, जसले जिल्लाको ध्यान खिचेको छ।
बुटवल । तत्कालीन सांसद दीपक बोहराको निधनपछि रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते नै उपनिर्वाचन हुनेगरी घोषणा भएको थियो । उपनिर्वाचन घोषणा भएसँगै दलहरूले आ–आफ्नो तयारी अघि पनि बढाएका थिए। तर जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभाकै निर्वाचन फागुन २१ गते तय भएसँगै अहिले माहोल थप गर्माएको छ ।
मंगलबार मनोनयन दर्ता हुँदा क्षेत्र नम्बर ३ मा नयाँ–पुराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन्। ती उम्मेदवारहरूको पृष्ठभूमि पनि फरक–फरक रहेको छ। पाइलटदेखि डाक्टरसम्म पेसामा स्थापित युवाहरू निर्वाचन मैदानमा उत्रिएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रमा दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ। १ लाख ४ हजार ३५ मतदाता रहेको उक्त क्षेत्रमा ठूला दलबाट नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. लेखजंग थापा, राप्रपाबाट गौरव बोहरा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट फैज अहमद खाँ र जसपा नेपालबाट श्रीनिवास यादव उम्मेदवार बनेका छन्।
एमालेका वासुदेव घिमिरे यसअघि रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन जितेका नेता हुन् भने अन्य प्रमुख उम्मेदवारहरू नयाँ अनुहार हुन्। नयाँ र युवा उम्मेदवारको बाहुल्यताका कारण यो क्षेत्रले जिल्लाका अन्य निर्वाचन क्षेत्रभन्दा बढी ध्यान तानेको बुझाइ छ।
कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता सुशील गुरुङ पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। उनी कांग्रेस क्षेत्रीय सभापति पनि हुन्। विद्यार्थी राजनीतिबाट खारिएका गुरुङले भैरहवा क्षेत्रमा दर्जनौँ संघ–संस्थामा नेतृत्व गरिसकेका छन्। यसअघि बालकृष्ण खाँण उम्मेदवार बनेको यो क्षेत्रमा कांग्रेसले यसपटक पुस्तान्तरणका रूपमा युवा उम्मेदवार अघि सारेको हो।
राप्रपाबाट उम्मेदवार बनेका गौरव बोहरा पूर्व मन्त्री स्व. दीपक बोहराका छोरा हुन्। बुद्ध एयरका वरिष्ठ पाइलटसमेत रहेका गौरव क्षेत्रका उद्योगी–व्यवसायी, युवाहरू तथा मधेसी समुदायमा परिचित छन्। २०७० सालमा दीपक बोहराले निर्वाचन जितेपछि गौरव यस क्षेत्रमा सक्रिय रूपमा लाग्दै आएका छन्। उनले व्यक्तिगत लगानीमा समेत गाउँ–गाउँमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
रास्वपाबाट उम्मेदवार बनेका भैरहवाका डा. लेखजंग थापा पेसाले न्युरोलोजिस्ट हुन्। उपनिर्वाचनमा पनि उनैलाई पार्टीले उम्मेदवारका रुपमा अघि सारेको थियो। राजनीतिसँगै लामो समयदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थापाले पूर्वाधार र सम्भावनाले भरिपूर्ण हुँदाहुँदै पनि क्षेत्र नम्बर ३ पछाडि परेकाले यसको राष्ट्रिय पहिचानका लागि आफू उम्मेदवार बनेको बताएका छन्।
जनमत पार्टीले यसपटक भैरहवाका युवा विशाल गुप्तालाई उम्मेदवार बनाएको छ। उनी जेनजी समूहका युवामाझ लोकप्रिय मानिन्छन्। रोचक पक्ष के छ भने यस क्षेत्रबाट यसअघि प्रतिनिधिसभामा उम्मेदवार बनेका केही अनुहार दोहोरिएका छन्।
एमालेले नगर प्रमुख र प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेको अनुभवलाई आधार मानेर वासुदेव घिमिरेलाई क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए। घिमिरे २०७९ मा कांग्रेसका भरतकुमार शाहलाई पराजित गर्दै रुपन्देही–५ बाट निर्वाचित भएका थिए। त्यसअघि २०७४ मा उनी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख थिए। नगर प्रमुखका रूपमा तिलोत्तमालाई राष्ट्रिय पहिचान दिलाएको दाबी गर्दै घिमिरेले प्रतिनिधिसभामा रहँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मल–खाद, सिँचाइ, कृषि र पर्यटनका विषयमा निरन्तर आवाज उठाएको बताएका छन्।
यस क्षेत्रमा भैरहवाका युवा राजनीतिकर्मी गोपाल भण्डारीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी २०७९ मा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर पराजित भएका थिए। उम्मेदवारी दर्तासँगै सबै दल र स्वतन्त्र उम्मेदवारहरूले छलफल र भेटघाटलाई तीव्रता दिएका छन्।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट बहाल गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरेका थिए। बोहराले २०७४ मा पनि कांग्रेससँग र २०७९ मा एमालेसँग तालमेल गरेर निर्वाचन जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण