मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
एमाले नेता युवराज ज्ञवालीसँग ‘वारपार’

‘टिकट वितरणमा ठुलो पक्षपात भएको देखिन्छ’(भिडियो सहित )

बुधबार, ०७ माघ २०८२, १८ : १२
बुधबार, ०७ माघ २०८२

काठमाडौं । पाँच दशक लामो संगठित र सक्रिय राजनीतिक जीवनबाट करिब–करिब बिदा लिएका छन् नेकपा एमालेका नेता युवराज ज्ञवालीले । किनेर टिकट लिनेको भिड बढिरहेको समयमा ज्ञवालीले २०७४ सालको निर्वाचनमै पाएको टिकट फिर्ता गरिदिए । 

पार्टीको पदाधिकारीमा दुई कार्यकाल र ७० वर्षे उमेर हद हटिसके पनि त्यसको पक्षमा अडिग रहँदै ज्ञवालीले एमालेको एघारौं महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गर्दै उपाध्यक्ष पदबाट बिदा भए । एमालेको टिकट वितरण, निर्वाचन, एमालेको अवस्था, केपी शर्मा र बालेन्द्र शाहबिचको चुनावी भिडन्त लगायत विषयमा रातोपाटीको ‘वारपार’मा ज्ञवालीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत अन्तर्वार्तामा भिडियोमा हेर्न सकिनेछ) :

तपाईं सक्रिय राजनीतिबाट बिदा हुँदै हो ? 

निष्क्रिय भएको पनि होइन । पार्टी छोडेको पनि होइन । पार्टीले कहीँ खटायो भने जाने हो । कार्यकारी पार्टीको कार्यकारी पदमा चाहिँ नरहने भनेको हो ।

तपाईंलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाहिरिनुस् भन्नुभएको त होइन नि त । 

म अटाउन पनि सक्थें । अध्यक्ष नै तेस्रो पटक अध्यक्षमा उठिसकेपछि विधानले हामीलाई छुट दिएको थियो ।
 
११औं महाधिवेशनपछि पार्टीभित्र केपी ओलीको क्रेज त अरु बढेको देखियो नि होइन ?

केन्द्रीय कमिटीमा उहाँको बहुमत कमान्ड भयो । जिल्ला इन्चार्जहरुदेखि विभिन्न काममा आफू अनुकूलका मान्छेलाई जिम्मेवारी दिइयो । 

भनेपछि एमाले विचारले भन्दा पनि लिगेसीले चल्छ ?

लिगेसी, एकदमै पर्सनल लिगेसीको स्थिति भयो । दुर्गा प्रसाईंजस्ता मान्छे पनि केन्द्रीय कमिटीमा आए नि त । हुन त महाधिवेशनले नै पाखा लगाइदिएपछि चुप लागेर बस्नुको विकल्प पनि भएन नि । 

Yuvaraj Gyawali1

कहिलेकाहीँ यस्तो स्थिति बन्छ । संसारको कम्युनिस्ट इतिहास हेर्‍यौं भने ठुला-ठुला दुर्घटनाबाट कम्युनिस्ट पार्टीहरु जोगिएका छन् । कम्युनिस्ट पार्टी चलाउन, टिकाउन धेरै गाह्रो छ । 

एमालेले अहिलेको टिकट वितरण गर्दा कुनै विधि समातेको देख्नुहुन्छ ?

टिकट वितरणमा भयंकर ठुलो पक्षपात भएको देखिन्छ । अहिले पनि म सुन्दैछु कि कतिपय ठाउँमा कुनै नेतालाई जिताउन भित्री रुपमा तालमेल गरेर अर्को जिल्लाको उम्मेदवारलाई हराइँदैछ भन्ने । यसरी एउटै पार्टीभित्र एउटा ठाउँको उम्मेदवारलाई हराउने र एउटा ठाउँको उम्मेदवारलाई जिताउनका लागि साँठगाँठ गरिँदैछ । यो घृणित काम हो ।

टिकटमा पक्षपातमा पर्ने व्यक्ति, समूह किन यति निरीह र चुपचाप ?

पार्टीले निर्णय गरेर दिइसकेपछि जिताउने हरेक पार्टी सदस्यको, नेता कार्यकर्ताको कर्तव्य हो । 

तपाईंलाई निर्वाचनमा केही भूमिका दिइएको छ ?

छैन । 

निर्वाचनभर तपाईं के गर्नुहुन्छ त ?

कसैले बोलाए जाने हो । नत्र खोज्दै जाने कुरा भएन । यत्तिकै जान्छु त म ?

तपाईंहरुजस्ता कति नेता, कार्यकर्ताहरु होलान् निष्क्रिय, अनि पार्टीलाई घाटा लाग्दैन ? 

त्यसमा त पार्टीले ख्याल गर्नुपर्ने हो । कसलाई कहाँ खटाउने, कसरी खटाउने भन्ने कुरा त । 

तपाईंहरुको पछि कांग्रेसको विशेष महाधिवेशन भयो, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

नेपाली कांग्रेसका नेताहरु वास्तवमा आफूभित्रको अन्तरविरोधलाई हल गर्न चुकेकै हुन् । यो नेतृत्वको कमजोरी मान्छु मैले ।
 
कांग्रेसको विशेष महाधिवेशन भइरहँदा एमाले अध्यक्षदेखि महासचिवसम्म रुवावासी चलेको थियो । किन रहेछ त्यो चाहिँ ? 

रुवाबासी गर्न आवश्यक छैन । बरु त्यसबाट सिक्नुपर्ने पाठ छ । नयाँको आवश्यकता, नयाँलाई लिडरसिपमा उठाउनुपर्छ भन्ने कुरा । 

Yuvaraj Gyawali2

एमालेले निर्वाचनमा कति सिट ल्याउँछ ? मानिसहरुले पत्याउने गरी भन्नुस् है । 

२०८२ सालमा एमालेको सानदार बहुमतको सरकार बन्नुपर्छ । एमालेको संगठनात्मक सञ्जाल, संगठनात्मक आधार हेर्नुहुन्छ भने…

तर भोट चाहिँ आउँदैन ।
 
अब भोट त के हुन्छ ? त्यो त हेर्न बाँकी छ । २१ गते के हुन्छ ?

पार्टी त्यस्तै हो । तपाईंको पार्टी अध्यक्षले चाहिँ चुनाव जित्नुहुन्छ ? 

म अपेक्षा के गर्छु भने एमालेको बहुमत आउँछ । नभए कम्तीमा पनि सबैभन्दा ठुलो दल हुन्छ, हुनुपर्छ ।

भदौ २३ र २४ गतेको घटना त छँदैछ । त्यसयता पनि तपाईंका अध्यक्षले छानबिन आयोगमा जान्नँ, चुनावमा जान्नँ, सरकार मान्दिनँ । टिकट वितरणमा पक्षपात भयो भनेर त तपाईंले नै भन्नुभयो । बहुमत आउने कारण यिनै हुन् ?

गाली गरेर के गर्नुहुन्छ ? अब आफ्नो पार्टी, यत्रो इतिहास, यत्रो संगठन । यदि बिग्रेकै हो भने २१ गते देखिएला । बनेकै हो भने पनि २१ गतेले देखाउँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाइले कत्तिको सातो गएको छ ?

चुनौती त देशैभरि छ नि । चुनौती गम्भीर छ । सानोतिनो प्रयासबाट चाहिँ यो सजिलो छैन । जनताले ह्वारह्वार्ती सूर्यमा भोट हालिदन्छन् भनेर एमालेका उम्मेद्वारहरु ढुक्क नपर्नु होला । 

निर्वाचन परिणामका हिसाबले कांग्रेसबारे ?

नयाँ चेहरा, नयाँ युवाहरुको जोस-जाँगरले गर्दा कांग्रेसले पुनर्जीवन प्राप्त गर्ने स्थिति हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप