सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक रूपमा शक्तिशाली बन्दै लिभरपुल, पहिलो पटक म्यानचेस्टर युनाइटेडलाई उछिन्यो

बिहीबार, ०८ माघ २०८२, ०९ : ४०
बिहीबार, ०८ माघ २०८२

सारांश

  • डेलोइटको प्रतिवेदन अनुसार लिभरपुल सर्वाधिक आम्दानी गर्ने क्लब बनेको छ, जसले ८३६ मिलियन युरो आम्दानी गर्यो।
  • म्यानचेस्टर युनाइटेड आठौँ स्थानमा झर्‍यो, आर्थिक गिरावटको मुख्य कारण युरोपेली प्रतियोगितामा छनोट हुन नसक्नु हो।
  • रियल म्याड्रिड १.२ बिलियन युरोसहित शीर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ।

लण्डन । वित्तीय क्षेत्रको प्रतिष्ठित संस्था डेलोइटको पछिल्लो प्रतिवेदन अनुसार लिभरपुल इतिहासमै पहिलो पटक प्रिमियर लिगको सबैभन्दा धेरै आम्दानी गर्ने क्लब बनेको छ। अघिल्लो सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले ८३६ मिलियन युरो आम्दानी गर्दै आफ्ना सबै घरेलु प्रतिस्पर्धीलाई पछाडि पारेको हो।

डेलोइट फुटबल मनी लिगको २९ औँ संस्करणमा म्यानचेस्टर युनाइटेड भने इतिहासकै सबैभन्दा खराब स्थानमा झरेको छ। कुनै समय व्यापारिक र म्याचडे आम्दानीमा विश्वकै बेन्चमार्क मानिने युनाइटेड अहिले चौथोबाट आठौँ स्थानमा पुगेको हो। 

गत सिजन लिगमा १५ औं स्थानमा सीमित हुनु र युरोपा लिगको फाइनलमा टोटनह्यामसँग पराजित हुनु युनाइटेडको आर्थिक गिरावटको मुख्य कारण मानिएको छ। यस सिजन युरोपेली प्रतियोगितामा छनोट हुन नसक्नु र घरेलु कपहरूबाट पनि चाँडै बाहिरिनुले युनाइटेडको आगामी आम्दानीमा थप असर पार्ने देखिन्छ।

विश्वभरका क्लबहरूको सूचीमा स्पेनिस महारथी रियल म्याड्रिड १.२ बिलियन युरो आम्दानीका साथ शीर्ष स्थानमा कायमै छ। गत सिजन ठूला उपाधि जित्न नसके पनि रियलको व्यावसायिक सञ्जालले उसलाई शीर्ष स्थानमा टिकाइराखेको हो। 

बार्सिलोना ९७५ मिलियन युरोसहित दोस्रो स्थानमा उक्लिएको छ भने बायर्न म्युनिख तेस्रो र पेरिस सेन्ट जर्मेन (पीएसजी) चौथो स्थानमा छन्। लिभरपुल समग्र विश्व वरीयतामा पाँचौँ स्थानमा रहेको छ।

पछिल्लो समय बलियो देखिएको म्यानचेस्टर सिटी दोस्रोबाट छैटौँ स्थानमा झरेको छ। शीर्ष १० भित्र ६ वटा इंग्लिस क्लबहरूको दबदबा कायमै छ। जसमा आर्सनल सातौँ, टोटनह्याम नवौँ र चेल्सी दशौँ स्थानमा छन्। 

यसका साथै एस्टन भिल्ला, न्युक्यासल युनाइटेड र वेस्ट ह्याम युनाइटेड पनि विश्वका शीर्ष २० धनी क्लबहरूको सूचीमा अटाउन सफल भएका छन्।

डेलोइटका खेलकुद व्यवसाय समूहका साझेदार टिम ब्रिजका अनुसार १०–१५ वर्षअघि म्यानचेस्टर युनाइटेडले बजारको रणनीति तय गर्थ्यो, तर अहिले त्यो अवस्था बदलिएको छ। लिभरपुलको व्यावसायिक सफलता र मैदानमा देखिएको सुधारले उसलाई आर्थिक रूपमा पनि इंग्ल्याण्डको नम्बर एक क्लब बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप