२०५६ मा किसुनजीलाई प्रधानमन्त्री घोषणा गर्दा कांग्रेसलाई बहुमत, अहिले गगनले के गर्लान् ?
सारांश
- नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ र निर्वाचनमा जाने निर्णय गरेको छ।
- पार्टीभित्रको विवाद र थापाको निर्वाचन क्षेत्र परिवर्तनले चुनौती खडा गरेको छ।
- यसअघि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर कांग्रेस निर्वाचनमा गएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन (पुस २७–३०) बाट सर्वसम्मत सभापतिमा चयन भएका गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको छ । थापाले पार्टी कार्यालय सानेपामा शुक्रबार सभापतिको पद बहाली गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको बताए । ‘हामीले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेका छौँ,’ प्रवक्ता चालिसेले भने ।
कांग्रेसले केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेर निर्वाचनमा होमिन लागेको यो पहिलो पटक हो । ‘केन्द्रीय कार्यसमितिबाट निर्णय गर्दै निर्वाचन अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर नेपाली कांग्रेस निर्वाचनमा होमिन लागेको यो पहिलो पटक हो,’ पार्टी केन्द्रीय कार्यालयका पूर्वमुख्यसचिव तथा कांग्रेस नेता डा. शोभाकर पराजुलीले रातोपाटीसँग भने ।
- थापाको राजनीति
त्रिचन्द्र क्याम्पसबाट कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति सुरु गरेका थापा २०५१ मा स्ववियु सदस्य र त्यसको दुई वर्षपछि सभापति निर्वाचित भएका थिए । थापा नेविसंघको महामन्त्री भएका बेलामा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध आन्दोलन भयो । त्यो आन्दोलनका क्रममा २०६० पुस १ गते थापालाई सूर्यबहादुर थापा नेतृत्वको सरकारले राजद्रोहको आरोपमा पक्राउ गरी १० दिन हिरासतमा राख्यो ।
_fea29IJA1T.jpg)
थापाले पार्टी निर्णयविपरीत २०६१ साउन १० गते एक कार्यक्रममा राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा भाषण गरेपछि त्यसको केही दिनमा भएको नेविसंघ दशौँ महाधिवेशनका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ‘दरबारको एजेन्ट’ भन्ने आरोप लगाएका थिए ।
२०६२/६३ को जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट पहिलो पटक सांसद बनेका थापा त्यसपछिका सबै संविधानसभा र प्रतिनिधिसभामा सदस्य छन् ।
२०६७ मा भएको १२ औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य भएका थापाले २०७२ फागुनमा भएको १३ औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरे र पराजित भए । २०७८ मा भएको १४ औँ महाधिवेशनमा थापा महामन्त्रीमा निर्वाचित भएका थिए ।
- चुनौतीमा छन् गगन थापा
पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाए पनि उनी चुनौतीपूर्ण अवस्थामा छन् ।
थापा गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका हुन् । त्यो विशेष महाधिवेशनलाई निवर्तमान संस्थापन र डा. शेखर कोइराला नेतृत्वको समूहले स्वीकारेको छैन ।

विशेष महाधिवेशनलाई मान्यता नदिन आफूहरूले दिएको निवेदन निर्वाचन आयोगले अस्वीकार गरेपछि देउवा र डा. कोइराला समूह सर्वोच्च अदालत गएको छ । उनीहरूले माघ ४ गते दिएको रिटमा माघ ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश त दिएन, तर मुद्दाको छिनोफानो भएको छैन । सुनिल पोखरेलको इजलासले निर्वाचन आयोगलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ लिएर उपस्थित हुन आदेश दिएको छ । यसले अदालतको फैसला के हुने हो भन्ने निश्चित भएको छैन । पार्टीभित्रको विवादका कारण एकजुट भएर निर्वाचनमा जान नसकेकाले कांग्रेसको सबै मत आउँछ कि आउँदैन भन्ने प्रश्न बाँकी छ ।
अर्कोतर्फ थापाले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । २०७०, ०७४ र ०७९ मा काठमाडौँ–४ बाट निर्वाचित भएका थापा अहिले क्षेत्र परिवर्तन गरेर सर्लाही–४ मा पुगेका छन् । कोर मधेसी समुदाय रहेको यो क्षेत्रमा थापाले जित्छन् कि जित्दैनन् भन्ने प्रश्न पनि टड्कारो रूपमा उठेको छ । उनको प्रतिस्पर्धीका रूपमा पुराना कांग्रेसी नेता डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार छन् । डा. सिंहले अघिल्लो निर्वाचनमा स्वतन्त्र उठेर पनि जितेका थिए भने त्योभन्दा अघिल्लो निर्वाचन कांग्रेसबाटै उम्मेदवार भएर जितेका थिए ।
तेस्रो, थापाले पुराना र अनुभवी नेतालाई भन्दा प्रत्यक्षतर्फको उम्मेदवारीमा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् । पुराना नेताको विरासतलाई कायम राख्दै नयाँले निर्वाचन जित्छन् कि जित्दैनन्, त्यो पनि हेर्न बाँकी छ । १६५ निर्वाचन क्षेत्रमध्ये थापाले १०६ जनालाई नयाँ उम्मेदवार बनाएका छन् ।
- यसअघि किसुनजीलाई बनाइएको थियो उम्मेदवार
प्रधानमन्त्रीको उम्मेदवार निर्वाचन अघि घोषणा गरिएको भने यो दोस्रो पटक हो ।
कांग्रेसले यसअघि २०५६ सालको निर्वाचनमा तत्कालीन पार्टीका नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा गएको थियो । त्यो बेला भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय केन्द्रीय समितिले भने गरेको थिएन । वि.सं. २०५३ वैशाख २६–२८ मा काठमाडौँमा भएको कांग्रेसको नवौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गिरिजाप्रसाद कोइरालाले निर्वाचन अघि पार्टीले जनकपुरमा आयोजना गरेको आमसभामा भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको कांग्रेस नेता डा. पराजुलीले बताए ।

‘२०५६ सालमा भएको निर्वाचनमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो,’ डा. पराजुलीले भने, ‘तत्कालीन पार्टी सभापति गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) ले निर्वाचनअघि जनकपुरमा आयोजित आमसभामा किसुनजी (कृष्णप्रसाद भट्टराई) पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हो भन्दै उहाँका दुवै हात उठाइदिनुभएको थियो ।’
कोइरालाले भट्टराईलाई प्रधानमन्त्रीमा अघि सार्ने बताएको सो निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । २०५६ वैशाख २० र जेठ ३ गते गरी दुई चरणमा भएको २०५ सदस्यीय प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १११ सिट जितेको थियो । तत्कालीन पर्सा–१ वीरगञ्ज क्षेत्रबाट उम्मेदवार बनेका भट्टराई अत्यधिक मतसहित निर्वाचित भएका थिए ।
निर्वाचनमा पार्टीको बहुमत आएपछि निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषित भट्टराई २०५६ जेठ १७ गते प्रतिनिधिसभाबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । पार्टीको एकल बहुमतको प्रधानमन्त्री भए पनि भट्टराईले संसद्को पूरै कार्यकाल त परैको कुरा, एक वर्ष पनि सरकार चलाउन पाएनन् । उनी पार्टीभित्रको आन्तरिक खिचातानीको सिकार भएर २०५६ सालकै चैत ७ गते प्रधानमन्त्री छोडेर बाहिरिन बाध्य भए । गिरिजा र उनको व्यक्तित्वको टकरावले बहुमतको सरकार एक वर्ष पनि टिक्न नसकेको भन्दै अहिलेसम्म राजनीतिक वृत्तमा चर्चा–परिचर्चा भइरहन्छ ।
भट्टराई बाहिरिएपछि कांग्रेसका तत्कालीन सभापति कोइराला प्रधानमन्त्री बनेका थिए । भट्टराईले राजीनामा दिएको २ दिनपछि चैत ९ गते कोइराला प्रधानमन्त्रीमा निर्वाचित भए । उनले २०५८ साउन ११ गतेसम्म प्रधानमन्त्री भएर सरकार चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण