दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम
सारांश
- दार्चुलामा प्रतिनिधिसभा निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ।
- छाङरु र तिङ्करका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा केन्द्र तोकिएको हो ।
- मतदान केन्द्र सदरमुकाममै हुँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो । छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३ सय ८३ र तिङ्करमा २ सय ३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।
यसपटक भने गत मंसिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि माघ ५ गते मतदान केन्द्र खलंगामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि १ सय १२ मतदानस्थल र १ सय ४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ वटा मतदानस्थल अतिसंवेदनशील, ३२ वटा संवेदनशील र ६५ वटा सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।
मतदाता संख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार १ सय ९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण