शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अण्डामा 'अस्वाभाविक' मूल्यवृद्धि

निर्वाचनलक्षित ‘सिन्डिकेट’, उत्पादन कम देखाएर अण्डामा मूल्यवृद्धि

सोमबार, १२ माघ २०८२, १७ : ०४
सोमबार, १२ माघ २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बजारमा माग बढेपछि कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ।
  • मूल्य बढेपछि बजारमा कालोबजारी बढ्न सक्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन टोली खटाएको छ।
  • उपभोक्ता अधिकारकर्मीले मूल्यवृद्धिलाई सरकारले टुलुटुलु हेरेर बस्नु 'राज्य संरक्षित अपराध' भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले मूल्य बढापछि बजारमा कालोबजारी बढ्न सक्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन टोली खटाएको छ । 

एक साताअघि मात्रै मूल्य घटाएको संघले निर्वाचनको माहोलसँगै माग उच्च भएको भन्दै आइतबारदेखि लागु हुनेगरी मूल्य बढाएको छ । नयाँ मूल्यसूचीअनुसार ठुलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढेर ४९५ रुपैयाँ पुगेको छ । यसअघि ठुलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । 

यस्तै मझौला अण्डाको फार्म मूल्य पनि बढेर ४७५ रुपैयाँ कायम भएको छ । यसअघि मझौला अण्डा ४४५ रुपैयाँमा बिक्री भइरहेको थियो । 

किन बढ्नुको मुख्य कारण के ?

संघका अनुसार देशमा निर्वाचनको माहोल बन्नु र जाडो मौसम सुरु हुनुले अण्डाको खपत बढेको छ । साथै निर्वाचनका कारण सीमा क्षेत्रमा गरिएको कडाइले भारतीय अण्डाको आयात रोकिँदा र जाडो विदापछि विद्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा माग बढेको जनाएको छ । अर्कोतर्फ कुखुराको संख्यामा कमी आउँदा उत्पादन नै घटेकाले मूल्यमा चाप परेको व्यवसायीको भनाइ छ । 

संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार एक क्रेट अण्डाको लागत ५७४ रुपैयाँ पर्न आउँछ । मूल्य वृद्धिपछि किसानलाई केही राहत पुगेको बताइएको छ । गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च (ठुलो ५६५ र मझौला ५५० रुपैयाँ) पुगेको थियो । 

अण्डा व्यवसायीहरूले कुनै मापदण्डबिनै जथाभावी मूल्य बढाउने गरेको गुनासो आइरहेको छ । व्यवसायीहरूले मन लाग्दा बढाउने/घटाउने गरेकोबारे उपभोक्ता अधिकारकर्मी विष्णुप्रसाद तिमिल्सिनाले कडा आपत्ति जनाएका छन् । उनले बजारमा बिनाकारण गरिएको मूल्यवृद्धिलाई सरकारले टुलुटुलु हेरेर बस्नु ‘राज्य संरक्षित अपराध’ भएको टिप्पणी गरेका छन् । 

पछिल्लो एक सातामै अण्डाको मूल्य बढेको विषयमा प्रतिक्रिया दिँदै तिमिल्सिनाले व्यापारीहरूले उत्पादनमा कमी देखाएर सिन्डिकेट गरी मूल्य वृद्धि गरेको बताए । साथै बजारमा निर्वाचनलाई लक्षित गर्दै सिन्डिकेट सुरु भएको उनको भनाइ छ । निर्वाचनको मुखमा दैनिक उपभोग्य वस्तुमा भएको अस्वाभाविक रूपमा कुनै ठोस कारणबिनै नै मूल्य बढाइएको भन्दै यसलाई उपभोक्तामाथिको ठगीको संज्ञा दिए । भने, ‘बजार विश्लेषण गर्नुपर्‍यो, के कारणले बढ्यो ? कामदार (लेबर) को पैसा बढेको हो कि ? कच्चा पदार्थको भाउ बढेको हो ? यी कुराहरू नगरी अनुचित रूपमा मूल्यवृद्धि गर्नु उपभोक्तामाथि ठगी हो ।’ 

सुशासन कायम गर्ने र मूल्यवृद्धि रोक्ने दाबी गर्ने सरकारले निर्वाचनको नजिक उपभोक्ता मारमा पर्दा पनि अनदेखा गरेको उनको आरोप छ । ‘सरकारले यसरी आँखा चिम्लिएर बस्न सुहाउँदैन,’ उनले थपे, ‘उपभोक्तामाथि परेको मार हेरीहेरी बस्ने हो भनेदेखि त त्यो एक प्रकारले राज्यसंरक्षित अपराध नै भयो ।’ 

सरकारको मुख्य जिम्मेवारी उपभोक्ताको संरक्षण गर्नु रहेको औंल्याउँदै तिमिल्सिनाले अनुचित मूल्यवृद्धिलाई तत्काल नियन्त्रण गर्नुपर्ने मागसमेत गरेका छन् । 

विभाग भन्छः अनुगमन सुरु भइसकेको छ

बजारमा अण्डाको मूल्य र गुणस्तरको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चासो देखाएको छ । विभागका निर्देशक नरहरि तिवारीले बजारमा अण्डाको मूल्य बढेको गुनासो आएपछि अनुगमन टोली खटाइएको जानकारी दिए । महानिर्देशक तिवारीले भने, ‘अण्डाको मूल्य बढेकोपछि बजार मूल्यमा पनि मनपरी भएको सूचना आएपछि हामीले आजै अनुगमन टोली पठाएका छौँ । बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउन विभाग प्रयत्नशील छ ।’ 

अण्डामा जथाभावी रूपमा मूल्य बढाउने गरेको गुनासोपछि विभागले गत भदौमा व्यवसायीहरूलाई बोलाएर अण्डामा एमआरपी र उत्पादन मितिसहितको लेबल अनिवार्य गर्न निर्देशन दिएको थियो । केही व्यवसायीले भने काटुन र क्रेटमा लेबल लगाउन थालेको निर्देशक तिवारीले बताए । प्रत्येक अण्डामा लेबल लगाउन अहिले नै सम्भव नभए पनि कार्टुन र क्रेटमा भने लेबल लगाउन भनेपछि व्यवसायीले सुरु गरेको उनको भनाइ छ ।

‘सबै अण्डामा तत्काल सम्भव नहोला, तर धेरैजसो फर्मले कार्टुनमा लेबल राखेर पठाउन थालेका छन्,’ तिवारीले भने, ‘दर्ता नगरी सञ्चालन भएका र मापदण्ड पालना नगर्ने केही फर्मलाई बोलाएर जरिवानासमेत तिराएका छौँ । यदि सम्भव हुन्छ भने क्यारेटमै र नभए कार्टुनमा भए पनि लेबल राख्न सचेत गराएका छौँ ।’ 

अण्डामा लेबल राख्ने अन्तर्राष्ट्रिय राम्रो अभ्यासलाई नेपालमा पनि लागु गर्ने प्रयास भइरहेको तिवारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप