पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
बागलुङ । बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।
बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै आएका छन् । उनीहरुले विद्यालयमा हुने कार्यक्रम र विभिन्न मेला पर्वमा बजाउने गर्छन् । विद्यालयले रु एक लाख ५० हजारमा बाजा खरिद गरेर विद्यार्थीलाई सिकाउँदै आएको प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विद्यालयका शिक्षक थमबहादुर परियारले बाजा बजाउन सिकाउछन्। कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले बाजा बजाउने गरेको प्रअ पौडेलले बताए । उनले भने, “विद्यार्थीलाई गाउँघरमा हुने परम्परागत पेसाप्रति आकर्षित गराउनुपर्छ र मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले हामीले पन्चैबाजा संरक्षणमा जोड दिएका हौँ, पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि भएको छ ।”
त्यसैगरी बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थी पनि पन्चैबाजा संरक्षणमा जुटेका छन् । कक्षा ३ देखि १० सम्मका विद्यार्थीले पढाइसँगै बाजा बजाउन सिकिरहेका छन् । विद्यालयमा करिब १५ जना विद्यार्थीले अहिले बाजा बजाउने गर्छन् । शिक्षक रामबहादुर नेपालीले बाजा बजाउन सिकाउँदै आएका छन् ।
विद्यार्थीले चासो दिएपछि बाजा बजाउन सिकाउन थालेको शिक्षक नेपालीले बताए । एक दशक अगाडिसम्म गाउँमा पन्चै बाजा बजाउने धेरै समूह भए पनि पछिल्लो समय एउटा समूह बनाउन सक्रिय छैन । विवाह, ब्रतबन्ध र सार्वजनिक मेला महोत्सवमा पन्चैबाजाको माग भने धेरै छ ।
त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र सक्षम परियारले पुख्र्यौली पेसा र संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको बताए। घरमा बाउबाजेले बजाउँदा अलिअलि जानेको उनले विद्यालयमा शिक्षकले सिकाउन थालेपछि पूर्ण रूपमा जान्ने भएको बताए ।
बागलुङ नगरपालिकासहित गलकोट, बडिगाड, बरेङलगायतका स्थानीय तहमा रहेका विद्यालयहरुले पनि विद्यालयमा बालबालिकालाई बाजा बजाउन सिकाउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण