शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी भिडन्त

सल्यानमा प्रचण्डका पूर्वस्वकीयलाई विप्लव र रास्वपाको डर, मौकाको खोजीमा एमाले

लडाकुदेखि पालिका हुँदै प्रदेश सभा हारेकासम्म चुनावी मैदानमा
मङ्गलबार, १३ माघ २०८२, २० : ००
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन रोचक बन्ने देखिएको छ, जसमा नेकपा, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने अनुमान छ।
  • निर्वाचनमा नेकपाबाट रमेशकुमार मल्ल, एमालेबाट गुलाबजंग शाह र कांग्रेसबाट केशबहादुर विष्ट उम्मेदवार छन्, जसमा अन्य साना दलका उम्मेदवारले पनि प्रतिस्पर्धा गर्ने देखिएको छ।
  • विश्लेषणमा, नेकपा र कांग्रेसलाई विप्लव माओवादी र रास्वपाका उम्मेदवारले मत काट्ने डर छ, भने एमालेले यसको फाइदा उठाउन सक्ने सम्भावना रहेको छ।

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाअन्तर्गत सल्यानमा चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । 

ठुला दलहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यस्तोमा अन्य नयाँ तथा साना दलका उम्मेदवारहरूले भोट काट्ने डर पनि उनीहरूमा छ । 
यहाँ नेकपाबाट रमेशकुमार मल्ल, एमालेबाट गुलाबजंग शाह र कांग्रेसबाट केशबहादुर विष्ट उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट  ललित कुमार चन्द, विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट चन्द्रबहादुर खड्का र राप्रपाबाट अनिशा नेपाली लगायत १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यद्यपि चुनावी प्रतिस्पर्धा तीन ठुला दलहरूबिच नै हुने आकलन गरिएको छ । 

नेकपाबाट उम्मेदवार बनेका मल्ल पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो समय स्वकीय सचिव थिए । तत्कालीन माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका मल्ल पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । 

यस्तै एमालेबाट उम्मेदवार बनेका शाह २०७९ मा प्रदेश सभा (२) मा पराजित हुन् । ०७४ मा (१)बाट भने उनले जितेका थिए । उनी हाल एमाले कर्णाली प्रदेश अध्यक्ष छन् । उनी एमालेभित्र प्रभावशाली नेता नै हुन् । सम्भवतः सल्यानका १६ उम्मेदवारमध्ये सबैभन्दा पाका र अनुभवी नेता नै उनी हुन् । 

यस्तै कांग्रेसबाट उम्मेदवार बनेका विष्ट जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन् । उनी ०७९ को स्थानीय तहको निर्वाचनमा छत्रेश्वरी गाउँपालिका अध्यक्षमा पराजित हुन् भने कांग्रेसको जिल्ला सभापति हुन् । १० जिल्लामध्ये कांग्रेसको विशेष महाधिवेशनमा खुल्ने कर्णालीका एक मात्र जिल्ला सभापति उनै हुन् । सोही अनुसार उनले प्रतिनिधि सभाको टिकट पाए । यता रास्वपाका उम्मेदवार चन्द बौद्धिक व्यक्ति हुन् । सिभिल इन्जिनियर रहेका उनी ग्रामीण विकासका सन्दर्भमा लामो समय काम गरेका छन् । 

उनी विप्लव माओवादी पृष्ठभूमिका हुन् । यस्तै राप्रपाकी उम्मेदवार नेपाली ०७९ को निर्वाचनमा प्रतिनिधि सभा समानुपातिक सांसद बनेकी थिइन् भने नेकपा माओवादीका खड्का सहिद परिवारका सदस्य हुनुका साथै लडाकु हुन् । 

प्रचण्डका पूर्वस्वकीयलाई माओवादीको डर, कांग्रेसलाई 'घण्टी'को 

धेरैको आकलन थियो, नेकपाबाट यो पटक प्रकाश ज्वालाले नै टिकट पाउँछन् । जिल्लामा प्रभावशाली नेता मानिने उनी एकीकृत समाजवादीमा हुँदा केन्द्रीय महासचिव थिए भने माधवकुमार नेपालका विश्वास पात्र हुन् उनी । 

कर्णाली सरकारको अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए भने एमालेबाटै ०५६ को आम निर्वाचनमा विजयी भएका थिए । ६० को दशकपछि सल्यानमा एमाले कमजोर हुँदा उनले ०७० को दोस्रो संविधान सभा चुनाव सल्यान–२ बाट जितेका हुन् । पछि एमाले विभाजनका बेला उनी माधव नेपालसँगै लागे । यद्यपि रस्साकसीबिच ज्वालाले टिकट पाएनन्,  पटक प्रचण्डकै जोडबलमा पूर्वमाओवादी रमेश मल्लले टिकट पाए । 

उनलाई जित निकाल्न एकातिर ज्वालाको पूर्ण सहयोग आवश्यक पर्ने देखिन्छ भने अर्कातिर विप्लव माओवादीका खड्काले नेकपाकै मत धेरै काट्ने हुँदा डर छ ।

खड्का सहिद परिवार, जनयुद्धका घाइते र सबैतिर चिनिएकै नेता हुन् । माओवादी र घण्टीले भोट बढाएको खण्डमा सल्यानमा सबैभन्दा धेरै क्षति नेकपाका मल्ललाई र त्यसपछि कांग्रेस, एमालेले हुने हुने आकलन नेताहरूले गरेका छन् ।

खड्का अहिले नेकपाको भोट धेरै आउने क्षेत्र दार्मा गाउँपालिकाका हुन् भने यस्तै रास्वपाका चन्द बागचौरका हुन् । दार्मा ०७९ मा नेकपाले जितेको स्थानीय तह हो । यहाँ नेकपाको ४ हजार ४६४ मत छ भने कांग्रेसको ३ र एमालेको हजार बराबर मत छ । दार्मा नेकपाको सांगठनिक र जनाधार भएको क्षेत्र हो, माओवादीबाट युद्धका लडाकु यहीबाट उम्मेदवार हुँदा नेकपाका मल्ललाई ठुलो क्षति हुने छ । 
मल्लको गृह पालिका कांग्रेसले जितेको छ । 

बागचौर कांग्रेसले जितेको ठाउँ हो, जहाँ रास्वपाका चन्द उम्मेदवार छन् । उनी जनतामा राम्रैसँग चिनिएका व्यक्ति हुन् । यहाँ कांग्रेसको सबैभन्दा धेरै ६ हजार २७, माओवादी (हाल नेकपा)को ५ हजार ५९४ र एमालेको ३ हजार ४२० मत छ । तर चन्दले आफ्नो गृह नगरबाट धेरै भोट लिएपछि कांग्रेस र नेकपालाई नै घाटा लाग्न सक्छ, राप्रपाले पनि तीन ठुला दलकै भोट काट्ने हो ।

कांग्रेस र नेकपाको फाइदा एमालेले उठाउन पनि सक्छ । एमाले उम्मेदवार गुलाबजंग पुराना अनुभवी नेता हुन्, ०७० को संविधान सभा चुनाव पराजित भएका थिए । यद्यपि त्यहाँ एमाले र कांग्रेसभित्र आन्तरिक समस्या ठुलो रहेको बताइन्छ । यसले दुवै दललाई समस्यामा पार्न सक्ने र ज्वालाको पूर्ण साथ पाएपछि मल्लले सहज चुनाव जित्न सक्ने आकलन पनि अर्कातर्फ गरिएको छ । 

तथ्यांकमा सल्यानको चुनावी विश्लेषण

५० को दशकमा यहाँ एमाले बलियो थियो । प्रकाश ज्वालाले एमालेबाट चुनाव लडेर जितेका थिए, ०५१, ०५६ मा । तर ६० को दशकपछि युद्धको रापतापबाट आएको माओवादी (हाल नेकपा)ले दबदबा कायम गर्‍यो ।
२०६४ को पहिलो संविधा सभा चुनावमा दुवै क्षेत्र माओवादीले जित्यो । क्षेत्र १ मा टेकबहादुर बस्नेत र क्षेत्र नम्बर २ बाट उमाकान्त शर्माले माओवादीबाट चुनाव जिते । ०७० सालको दोस्रो संविधान सभा चुनावमा क्षेत्र नम्बर १ मा पुनः माओवादीकै बस्नेतले जित्दा २ मा भने एमालेबाट प्रकाश ज्वालाले चुनाव जितेका थिए । 

६० को दशकपछि प्रतिनिधि सभा चुनाव जितेको एमालेले सल्यानमा यही एउटा सिट हो ।

त्यसपछि सल्यान प्रतिनिधि सभाअन्तर्गत एउटै क्षेत्र बन्यो । ०७४ मा वाम गठबन्धन हुँदा प्रतिनिधि सभातर्फ पुनः माओवादीका टेकबहादुर बस्नेत नै ४० हजार ८९७ मतसहित निर्वाचित भए । कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत पाए । 

२०७९ मा कांग्रेस–माओवादी र समाजवादीबिच गठबन्धन हुँदा एमाले नराम्रोसँग पराजित भयो । गठबन्धनबाट समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७०७ मत पाउँदा उनका प्रतिस्पर्धी राजेन्द्रबहादुर शाह (कांग्रेस, बागी)ले १९ हजार ७९२ मत ल्याए । एमाले तेस्रोमा आयो, एमालेले उक्त चुनावमा राप्रपाका नेता राजेन्द्रवीर रायलाई ल्याएर चुनाव लडायो । रायले १३ हजार मत पाएका थिए । रास्वपाले उक्त चुनावमा ३ हजार ६९६ मत पाएको छ ।  

तर ०७९ को स्थानीय तहको चुनावमा वडामा पाएको मत विश्लेषण गर्दा कांग्रेसको भोट धेरै छ । कांग्रेसको ३३ हजार ६१६, माओवादीले २५ हजार ७१३ र एमालेको २६ हजार ६२८ मत छ । एकीकृत समाजवादीको ९ हजार ४०८ मत छ । 

समानुपातिक मत सबैभन्दा धेरै एमालेको छ । एमालेलेले ०७९ को प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ २२ हजार २५६ मत पाउँदा माओवादीले २१ हजार ३२५ मत पाएको थियो । यस्तै कांग्रेसले १९ हजार ९६६ मत पाएको थियो । 

समाजवादीले ५ हजार ९७० र रास्वपाले ४ हजार ५२२ मत पाएका छन् । राप्रपाले २ हजार ३०८ मत पाउँदा अन्य साना तलहरूले हजार भन्दा कम मत पाएका छन् । त्यो वेला माओवादी र समाजवादीले पाएको मत जोड्दा हाल नेकपाको समानुपातिक मत २८ हजार २२६ हुन्छ । 

नेकपाले आफ्नो चुनाव जित्ने आधार नै यसैलाई मानेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप