युक्रेनमा यात्रुवाहक रेलमाथि रुसी ड्रोन आक्रमण, चारको मृत्यु
सारांश
- रुसले युक्रेनको एउटा यात्रुवाहक रेलमाथि ड्रोन आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यस आक्रमणलाई 'खुला आतङ्कवाद' भन्दै निन्दा गरेका छन्।
- खार्किभ क्षेत्रमा भएको आक्रमणमा एक डब्बामा ड्रोन ठोक्किँदा १८ जना प्रभावित भएका थिए।
किभ । रुसले युक्रेनमा एउटा यात्रुवाहक रेलमाथि ड्रोन आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । २०० भन्दा धेरै यात्रु सवार यस रेलमाथि भएको आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘खुला आतङ्कवाद’ भन्दै कडा निन्दा गरेका छन् । उत्तर–पूर्वी खार्किभ क्षेत्रमा मंगलबार भएको उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
रेलको एक डब्बामा ड्रोन ठोक्किँदा १८ जना रहेको डब्बा प्रत्यक्ष प्रभावित भएको बताइएको छ । आक्रमणपछि चार जना अझै बेपत्ता रहेको भनिएको छ । ‘सर्वसाधारण यात्रु बोकेको रेलमाथि ड्रोन आक्रमण कुनै पनि देशमा आतङ्कवादकै रूपमा लिइन्छ ।’ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कस्ले भनेका छन् ।
युक्रेनको आपतकालीन सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा एक डब्बा पूर्ण रूपमा क्षतिग्रस्त भई आगो बलिरहेको देखिन्छ । खार्किभ क्षेत्रीय अभियोजक कार्यालयका अनुसार रेल याजिकोभ गाउँ नजिकै आक्रमणको सिकार भएको हो । एक ड्रोनले सिधै डब्बामा प्रहार गरेको र अन्य दुई ड्रोन रेल नजिकै विस्फोट भएको बताइएको छ ।
उक्त रेल पश्चिमी सीमावर्ती सहर चोपबाट खार्किभ हुँदै बार्भिन्कोभेतर्फ जाँदै थियो । यसैबिच, दक्षिणी बन्दरगाह सहर ओडेसामा रातभर गरिएको रुसी ड्रोन आक्रमणमा थप तीन जनाको मृत्यु भएको छ । रुसले यसबारे प्रतिक्रिया दिएको छैन । पछिल्ला महिनाहरूमा रुसले युक्रेनको ऊर्जा र यातायात पूर्वाधार निशाना बनाएर आक्रमण तीव्र पारेको छ । कठोर जाडोको समयमा भइरहेका यस्ता आक्रमणले लाखौँ नागरिक आधारभूत सेवाबाट वञ्चित भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण