बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
नेपाली कांग्रेस

सभापति भएपछि थापाले अझै भेटेनन् देउवा

देउवानिकट नेता भन्छन्, ‘अभिभावकको हिसाबले आशीर्वाद लिन आउनुपर्ने, तर आएनन्’
बुधबार, १४ माघ २०८२, १६ : १२
बुधबार, १४ माघ २०८२

सारांश

  • नेपाली कांग्रेस विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले देउवालाई भेटेका छैनन्, फोनमा पनि कुराकानी भएको छैन।
  • विशेष महाधिवेशनलाई देउवा समूह र कोइराला समूहले अस्वीकार गरे पनि निर्वाचन आयोगले आधिकारिकता दिएको छ, तर सर्वोच्चमा रिट बाँकी छ।
  • थापाले देउवालाई फकाउने प्रयासस्वरूप पदभार ग्रहण गर्दा देउवाको फोटो राखे, र उनलाई 'श्रद्धेय नेता' भने।

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत सभापति बनेका गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेटेका छैनन् । थापाले देउवासँग अनौपचारिक च्यानल र टेलिफोनमा समेत कुराकानी गरेका छैनन् । 

२०७८ साल मंसिरमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन भएको थियो । त्यही विशेष महाधिवेशनबाट देउवालाई अपदस्त गरेर सभापति बनेका थापाले १४ दिन बित्दासम्म पनि उनीसँग टेलिफोनमा कुराकानी र भेटघाट नगरेका हुन् । 

विशेष महाधिवेशनलाई देउवा नेतत्वको समूह र डा. शेखर कोइराला समूहले अस्वीकार गरेको थियो, तर निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा समूह र डा. कोइराला समूह किनारा लागेको छ, यद्यपि सर्वोच्च अदालतमा रिट बाँकी नै छ । 

विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी पुष्पा भुसालले सभापति थापा र निवर्तमान सभापति देउवाबिच विशेष महाविधेशनपछि कुराकानी नभएको स्विकारिन् । उपसभापति भुसालले रातोपाटीसँग भनिन्, ‘अहिले सभापति आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा जानुभएको छ । पर्सि काठमाडौँ फर्केपछि भेट गर्ने कुरा छ, त्यो बेला भेट होला ।’ 

देउवानिकट एक केन्द्रीय सदस्यले भेटघाट त परको कुरा, टेलिफोनमा समेत दुईबिच कुराकानी नभएको बताए । ‘नयाँ सभापतिले भेटघाटका लागि अहिलेसम्म समय माग्नुभएको छैन । टेलिफोनमा पनि कुराकानी भएको छैन,’ देउवानिकट ती केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘उहाँ (देउवा)ले त कार्यवाहक दिइसक्नुभएको थियो । अभिभावकको हिसाबले भेट्न र आशीर्वाद लिन पनि आउनुपर्ने हो आउनुभएको छैन ।’
सभापति थापा पक्ष भने समय नपाएको बताउँछ, त्यसविपरीत देउवा पक्ष भने सम्पर्कमा नै नआएको बताइरहेको छ । 

माघ १२ गते महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा ‘निर्वाचन कार्यक्रममा सहभागिता सम्बन्धमा शीर्षकमा पार्टीका सबै जिल्ला सभापति र प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई पठाएको परिपत्रमा निवर्तमान सभापति देउवालगायत सबैलाई लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ दिन आग्रह गरिएको छ । 

‘नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय निवर्तमान सभापति श्री शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ,’ महामन्त्रीद्वयले लेखेको परिपत्रमा छ । 

प्रतिनिधिसभा निर्वाचनमा सन्दर्भमा गरिएको परिपत्रमा पार्टी एकढिक्का भई एकताका साथ अगाडि बढ्नुपर्ने बेला आएको विशेष महाधिवेशनबारे विभिन्न व्याख्या र विश्लेषण गर्दै उल्लेख गरिएको छ ।  

‘विशेष महाधिवेशनमा सहभागी हुनु भएका/नहुनु भएका, सहमत हुनु भएका/नहुनु भएका सबै नेपाली कांग्रेसका आबद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई यो अवगत गराउन चाहन्छौँ कि –यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन– कुनै अलमत नपरौँ, सबै संयम होऔं, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ । विश्वास र भरोसा राखौँ, अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा सुरु भइसकेको छ । अब उच्च आत्मविश्वास र ब्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नुपर्ने बेला आएको छ,’ परिपत्रमा लेखिएको छ । 

अनौपचारिक कुराकानीमा देउवा निकट नेताहरू आफूले कार्यवाहकको जिम्मेवारी दिइसकेको, १५ औँ महाधिवेशनबाट पुनः नेतृत्वमा आउन विधानले नदिने र सार्वजनिक रूपमै नेतृत्वका लागि प्रयास नगर्ने बताइसकेको अवस्थामा विशेष महाधिवेशन नगर भन्दा थापा र शर्माले नमानेको बताउँदै आएका छन् । पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न खोज्दा पनि निर्वाचनको मुखैमा विभाजनको विजारोपण गर्ने काम गरेको भन्दै देउवा थापा र शर्मासँग क्रुद्ध रहेको उनीनिकट नेताहरू बताउँछन् । 

अर्कोतर्फ सभापति थापा निकट नेताहरू भने गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेतृत्व परिवर्तनलाई मुख्य विषय बनाएको र निर्वाचनमा जाँदा नेतृत्व परिवर्तन नगरी जाँदा नयाँ के लिएर आयौँ भन्ने विषय नभएकोले हतारमा विधानसम्मत विशेष महाधिवेशन गरिएको बताउँछन् । आफूहरू कसैलाई पञ्छाउने उद्देश्यका साथ नभई विधानमा भएको व्यवस्था कार्यान्वयन गरेको र त्यसलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको उनीहरूको तर्क छ । 

भेटघाट नगरे पनि सभापति थापाले सभापतिको हैसियतमा गर्ने निर्णय देउवालाई फकाउने गरी गरेका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएको ८ दिनपछि माघ ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गर्ने बेलामा सभापति थापाले आफ्नो कार्यकक्षमा पूर्वसभापतिको रूपमा आफ्नो नेतृत्वमा विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिविरुद्ध सर्वोच्च पुगेका निवर्तमान सभापति शेरबहादुर देउवाको फोटो राख्न लगाए । 

पदभार ग्रहणपछि बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा थापाले देउवालाई ‘श्रद्धेय नेता’ का रूपमा स्मरण गरे । थापाले आफू बसेको कुर्सीको गरिमा र इतिहासलाई देउवासँग जोडेर धारणा राखे । ‘यो कुर्सी बीपी कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला बस्नुभएको कुर्सी हो,’ थापाले भने, ‘र, यो श्रद्धेय नेता शेरबहादुर देउवा बस्नुभएको कुर्सी हो । यो कुर्सीमा बस्न जति सहज छ, जिम्मेवारी निर्वाह गर्ने कुरा उत्तिकै चुनौतीपूर्ण छ भन्ने मैले बुझेको छु ।’

थापाले निवर्तमान सभापति देउवालगायत सबै अग्रज नेताहरूप्रति आफ्नो पूर्ण सम्मान रहेको र पार्टीको आन्तरिक लोकतन्त्रमा सबैको अस्तित्व स्वीकार्य हुने बताए ।

शुक्रबारको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलाइएको पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ । श्रेष्ठलाई देउवाले कोषाध्यक्षमा मनोनयन गरेका थिए । 

यो पनि

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप