बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

चर्चा नभए पनि जसले दिन सक्छन् गगन र अमरेशलाई टक्कर

बिहीबार, १५ माघ २०८२, १७ : ००
बिहीबार, १५ माघ २०८२

सारांश

  • सर्लाही-४ मा नेपाली कांग्रेसका गगन थापा र रास्वपाका अमरेश सिंहबीच प्रतिस्पर्धा हुँदैछ।
  • जनता समाजवादी पार्टीका रामेश्वर राय यादव पनि चुनावी मैदानमा छन्, तर उनको चर्चा कम छ।
  • अमरेश सिंह र गगन थापाको प्रतिस्पर्धामा यादवले जित्ने दाबी गरेका छन्, तर स्थानीय मतदाताहरूले फरक धारणा राखेका छन्।

काठमाडौँ । यतिबेला सर्लाही–४ निकै चर्चामा छ । नेपाली कांग्रेसका सभापति गगन थापा र माघ ५ गतेबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका अमरेश सिंह यहाँका हेभिवेट उम्मेदवार बनेका छन् । यी दुई उम्मेदवारको छायामा परेका छन् अन्य दलका उम्मेदवार । धेरैलाई त यस क्षेत्रमा गगन र अमरेशबाहेक अन्य उम्मेदवार को छन् भन्ने पनि थाहा नहुन सक्छ । 

यहाँ जनता समाजवादी पार्टी, नेपालको तर्फबाट रामेश्वर राय यादव पनि उम्मेदवार छन् । लामो समय नेपाल सद्भावना पार्टी र त्यसपछि तत्कालीन मधेसी जनाधिकार फोरम नेपालमा रहेर राजनीति सक्रिय उनी संविधान निर्माणपछि माओवादी प्रवेश गरेका थिए । 

माओवादीबाट २०७४ मा सर्लाही–३ बाट जितेका उनी श्रममन्त्रीसमेत भएका थिए । २०४८ सालमै राष्ट्रियसभा सदस्यमा चुनाव जितेका उनले एकपटक सर्लाही–२ र अर्कोपटक सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भइसकेका व्यक्ति हुन् । 

यसपटक सर्लाही–३ मा भने उनी आबद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नारायणकाजी श्रेष्ठलाई टिकट थमाएपछि उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरे । र, सर्लाही–४ बाट जितेर संसद्को यात्रा गर्ने दाउमा लागिपरेका छन् । भन्छन्, ‘चुनाव लड्छु भनेर सुरुदेखि नै क्षेत्रमा काम गरेको थिएँ, तर अन्तिममा नेकपाले टिकट दिएनन्, नारायणकाजी श्रेष्ठलाई हराउन चुनाव लडेको भनी आरोप नलागोस् भनेर नै म क्षेत्र नम्बर ४ मा गएको हुँ ।’

तर गगन र अमरेशको व्यापक चर्चासँगै उनी ओझेलमा छन् । स्थानीय मतदाताहरूका अनुसार संगठन र मतका हिसाबले रामेश्वर बलिया प्रतिस्पर्धी हुन्, तर चर्चा भने उतिसारो छैन । यहाँका पाँच वटा पालिकामध्ये तीन वटा जसपा, नेपालले जितेको छ भने एउटामा कांग्रेस र अर्को माओवादी अर्थात् नेकपाले जितेको छ, अधिकांश वडा पनि जसपा, नेपालकै वर्चस्व छ । 

संगठनको हिसाबले रामेश्वर यहाँका बलिया उम्मेदवार देखिएका स्थानीय पत्रकार मनोज यादव बताउँछन् । ‘जातीय हिसाबले पनि रामेश्वर यादवको यहाँ पकड छ । यहाँ सबैभन्दा बढी यादव समुदाय छन्, त्यसपछि कुशवाहा अनि तेस्रोमा मलाह समुदाय छन् । यस्तोमा यहाँ यादव समुदायको मतले नै जित–हार निर्धारण गर्ने पत्रकार यादव तर्क गर्छन् । 

यहाँका चर्चित नेता शिवपुजन यादवले नेकपाबाट टिकट नपाएपछि आफ्ना छोरा अमनिश कुमारलाई एमालेबाट र छोरी मधुवालाकुमारीलाई स्वतन्त्रबाट उम्मेदवार बनाएका छन् । शिवपुजन आफू भने चुनावमा उठेका छैनन् । 
रास्वपाले वरिष्ठ नेता बनाएर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि मधेसमा यतिबेला ‘घण्टी’को लहर छ, यस्तोमा अमरेशको चुनाव जित्ने सम्भावना झनै बढेर गएको त्यहाँका मतदाताहरू बताउने गर्छन् । यसअघि पनि अमरेशले यसै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसलाई हराउँदै चुनाव जितेका थिए, त्यसअघि भने उनले कांग्रेसबाटै उम्मेदवार बनेका जितेका थिए । 

अमरेशको यहाँ गगन थापासँग प्रतिस्पर्धा हुने तीर्व चलेको छ । यस्तोमा तर रामेश्वर भन्छन्, ‘चर्चा जसको भए पनि चुनाव जित्ने मैले नै हो । गगन थापा बहिरिया हुनुहुन्छ, मधेसी जनताले उहाँलाई रुचाएका छैनन् । पार्टीकै कतिपय नेताहरू उहाँबाट रुष्ट छन् । काठमाडौँमा हार्ने भएपछि उहाँ सर्लाही आउनुभएको कुरा यहाँका मतदाताले थाहा पाइसकेका छन् ।’ 

साथै अमरेशबारे पनि हल्ला मात्र बढी देखिएको तर ग्रासरुटमा भने उनलाई मतदाताहरूले नरुचाएका उनले दाबी गरे । अमरेश भने आफूसँग कसैको प्रतिस्पर्धा नहुने बताउँछन् । ‘कति धेरै मतले जित्छु, त्यसको हिसाब मात्र मैले गरिरहेको छु । गगन हार्न आउनुभएको छ, अरू कुनै उम्मेदवारको यहाँ चर्चा पनि छैन,’ उनी पनि जित्ने दाबीसहित भन्छन् । 

यहाँ गगनले वारेसमार्फत प्रदेशसभा सदस्य वीरेन्द्र सिंहबाट उम्मेदवारी दर्ता गराएका थिए । सिंह भन्छन्, ‘सर्लाहीवासीले गगन थापालाई एउटा पार्टीको सभापति मात्र होइन, प्रधानमन्त्रीका रूपमा पाउनुलाई सौभाग्य ठान्छन्, सर्लाहीका आमजनता खुसी छन् । अत्यधिक मत दिएर विजय गराएर पठाउँछन् ।’ 

गगन थापाप्रतिको मतदाताको समर्थन देखेर अमरेशले हार महसुस गरिसकेका उनको बुझाइ छ । विभिन्न दलका वडाध्यक्षहरू नै टीका लगाएर पार्टी प्रवेश गरिसकेकाले यहाँ गगनबाहेक अन्यले जित्नै नसक्ने दाबी गरे । 
यस क्षेत्रमा विभिन्न दलबाट १३ जनाले उम्मेदवारी दिएका छन् भने २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनमत पार्टीबाट राकेश मिश्रले उम्मेदवारी दिएका छन् । २०७९ सालको निर्वाचनमा अमरेशले यहाँ २० हजारभन्दा बढी मत ल्याएर जित्दा मिश्र जसपा, नेपालबाट चौथो स्थानमा थिए । 

यहाँ कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायले प्रत्यक्षतर्फ १८ हजार २ सय ५२ मत ल्याएका थिए भने शिवपुजन यादवकी छोरी मधुमालाले स्वतन्त्र उठेर तेस्रो स्थान (१४ हजार ६२२ मत) ल्याएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप