बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस–एमाले–माओवादी सबै ‘यथास्थितिवादी’, परियारले भने, ‘हामी मात्रै वामपन्थी विकल्प’

शुक्रबार, १६ माघ २०८२, १५ : ०३
शुक्रबार, १६ माघ २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रवक्ताले कांग्रेस, एमाले र माओवादीलाई यथास्थितिवादी शक्ति भने।
  • उनले आफ्नो पार्टी स्पष्ट वामपन्थी विकल्प भएको र गरिब, मधेसी, महिला, दलित र सीमान्तकृत समुदायको पक्षमा उभिने बताए।
  • आगामी निर्वाचनलाई पार्टीको अस्तित्व र भविष्यसँग जोडिएको भन्दै उनले पैसा र प्रलोभनमा नभई एजेन्डामा चुनाव लड्ने घोषणा गरे।

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रवक्ता सन्तोष परियारले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई ‘यथास्थितिवादी’ शक्ति भएको आरोप लगाएका छन्।

सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब मुलुकमा दुईवटा मात्र राजनीतिक ध्रुव रहने र आफूहरू स्पष्ट वामपन्थी विकल्प भएको दाबी गरे।

परियारले नेपालको वैकल्पिक राजनीतिमा देखिएको अस्पष्टताप्रति टिप्पणी गर्दै वैकल्पिक हुनु भनेको विचारशून्य हुनु नभएको बताए। उनले विवेकशील साझा र रवीन्द्र मिश्रको अभियानमा वैचारिक उल्झन देखिएको भन्दै आफ्नो पार्टी भने वर्गीय, सामुदायिक र सांस्कृतिक रूपमा स्पष्ट रहेको जिकिर गरे। 

उनले आफूहरू धनी र गरिबबिचको लडाइँमा गरिबको पक्षमा, मधेसको पक्षमा तथा महिला, दलित र सीमान्तकृत समुदायको पक्षमा उभिने स्पष्ट पारे। पुँजीवादले हरेक चिजलाई वस्तुकरण गरिरहेको अवस्थामा पर्यावरण र पृथ्वी बचाउने मान्यता राख्ने भएकाले आफूहरू नै असली वामपन्थी भएको उनको तर्क थियो।

मुलुकको राजनीति अब प्रष्ट रूपमा ध्रुवीकृत हुने परियारको विश्लेषण छ। उनले एमाले, कांग्रेस र माओवादीलाई संसदीय व्यवस्था र संविधानलाई जस्ताको तस्तै जोगाउन चाहने यथास्थितिवादी समूहको संज्ञा दिए। त्यसको विपरीत आफ्नो पार्टीले संविधान र व्यवस्थालाई परिमार्जन गर्दै दलित, महिला र मधेसीको पक्षमा अझ समावेशी बनाउन चाहने अग्रगमनकारी शक्तिको नेतृत्व गर्ने उनले बताए।

राजनीतिमा ‘ग्रे लाइन’ अर्थात् धमिलो रेखा नहुने भन्दै उनले कि त सेतो कि त कालो हुनुपर्नेमा जोड दिए। विगतमा ठूला पार्टीमा रहँदा विचार र निष्ठाको मेल नहुँदा एक्लो महसुस गरेको स्मरण गर्दै उनले समय र समाजभन्दा राजनीति अगाडि हुनुपर्ने मान्यता राखे। उनले युवा पुस्तालाई अझ बढी लोकतान्त्रिक र अनुशासित बन्न आग्रह गर्दै अहिलेको पुँजीवाद र उदारवादविरुद्धको संघर्ष नै मुख्य चुनौती रहेको बताए।

आगामी फागुन २१ गते हुने निर्वाचन आफूहरूका लागि अस्तित्व र भविष्यसँग जोडिएको उनको भनाइ छ। निर्वाचन प्राविधिक जितहार मात्र नभई विचार स्थापित गर्ने माध्यम भएको भन्दै उनले पैसा र प्रलोभनमा नभई एजेन्डामा चुनाव लड्ने उद्घोष गरे। 

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ गाउँगाउँमा गएर पार्टीको विचार र चुनाव चिन्ह ‘आँखा’ स्थापित गर्न निर्देशनसमेत दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप