मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

दोस्रो अभ्यास खेलमा क्यानडाको सामना गर्दै नेपाल

बिहीबार, २२ माघ २०८२, ०९ : ५०
बिहीबार, २२ माघ २०८२

सारांश

  • नेपाली क्रिकेट टोलीले टी२० विश्वकप २०२६ को तयारीको क्रममा क्यानडासँग खेल्दैछ।
  • पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो, जसमा दीपेन्द्र र आरिफको अर्धशतक महत्वपूर्ण रह्यो।
  • नेपाल समूह 'सी' मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्, र नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग खेल्नेछ।

काठमाडौँ । टी–२० विश्वकप २०२६ का लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार दोस्रो अभ्यास खेलमा क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ बजेर १५ मिनेट जाँदा सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघि चेन्नईमा भएको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अविजित अर्धशतकको मद्दतले नेपालले सहज जित निकाल्यो ।

युएईले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले ३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्र र आरिफबिचको १०३ रनको अविजित साझेदारी निर्णायक बन्यो ।

समूह ‘सी’ मा २–२ पटकका च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिज छन्। नेपाललाई समूह चरणको ‘डार्क हर्स’ मानिएको छ। अघिल्लो टी–२० विश्वकपपछि नेपालले २४ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो, जसमा १६ मा जित र ५ मा हार ब्यहोर्‍यो, बाँकी खेल टाइ वा नतिजाविहीन रहे।

२०२४ देखि अक्टोबर २०२५ को बिचमा नेपालले अमेरिकाविरुद्धको शृङ्खलामा दुई जित हासिल गर्‍यो भने वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई शारजाहमा दुई खेलमा १९ र ९० रनले हराएर सबैलाई चकित पारेको थियो। अब टोली फेरि एकपटक वेस्ट इन्डिजसामु हुनेछ।

बंगलादेश टी–२० विश्वकपबाट बाहिरिएपछि समूह ‘सी’ मा स्कटल्यान्डलाई समावेश गरिएको छ। यो समूहमा अब स्कटल्यान्डसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटाली छन्। इटालीले पहिलो पटक कुनै आईसीसी प्रतियोगिताका लागि छनोट गरेको हो।

नेपालले विश्वकपको पहिलो खेलमा आइतबार इंग्ल्याण्डको समाना गर्दैछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप