शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सेयर बजार

२६८० को सपोर्टले उचालियो सेयर बजार

प्राविधिक सूचकले के सङ्केत गर्दैछन्?
शुक्रबार, २३ माघ २०८२, १६ : ३१
शुक्रबार, २३ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । लगानीकर्ताहरू केही ‘पर्ख र हेर’ को रणनीतिमा देखिँदा यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ। अघिल्लो साता २७१४.०५ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा ५.३५ अङ्क अर्थात् ०.२० प्रतिशतले घटेर २७०८.७० विन्दुमा रोकिएको हो । 

साताभर बजार २७१९.६२ को उच्च विन्दु र २६५९.८६ को न्यून विन्दुको बिचमा रह्यो । परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने भारी गिरावट देखिएको छ । अघिल्लो साता ७० अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा यो साता करिब ३६ प्रतिशतले घटेर ४५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ । यसले बजारमा तत्काल ठुलो खरिद वा बिक्री चाप नरहेको देखाउँछ । 

प्राविधिक विश्लेषण अनुसार हाल नेप्सेको डेली चार्टमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५७.०५ तथा साप्ताहिक चार्टमा ५५.३० मा रहेको छ । आरएसआई ५० भन्दा माथि र ६० को आसपास हुनुले बजारमा क्रेताहरूको उपस्थिति अझै कायम रहेको सङ्केत गर्छ । यो ओभरबट वा ओभरसोल्ड अवस्था नभई बजार सन्तुलित अवस्थामा रहेको र माथि जान सक्ने ठाउँ बाँकी नै रहेको जनाउँछ ।

अर्को महत्त्वपूर्ण सूचक एमएसीडी अझै पनि शून्य रेखाभन्दा माथि अर्थात् १८.५२ को विन्दुमा रहेको छ र सिग्नल लाइन पनि सकारात्मक क्षेत्रमै छ। एमएसीडी पोजेटिभ जोनमा रहनुले बजारको मध्यकालीन प्रवृत्ति अझै पनि सकारात्मक वा 'बुलिस' नै रहेको सङ्केत गर्छ । 

यद्यपि, नेप्से परिसूचक ५ दिने एक्सपोनेन्शियल मुभिङ एभरेजभन्दा तल झरेको छ । यो सूचकले अल्पकालीन रूपमा बजारमा केही नाफा बुक गर्ने क्रम चलेको वा साना करेक्सन आइरहेको जनाउँछ । तर, २० दिने मुभिङ एभरेजभन्दा माथि नै इन्डेक्स रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सङ्केत गर्छ । बजारले २६५० विन्दुलाई नजिकको सपोर्ट र २८३० विन्दुलाई प्रमुख अवरोधको रूपमा लिएको देखिन्छ।

क्षेत्रगत रूपमा हेर्दा यो साता लगानीकर्ताहरूको आकर्षण होटल तथा पर्यटन क्षेत्रमा देखिएको छ । १३ उपसूचकहरूमध्ये ६ वटामा हरियाली छाउँदा होटल तथा पर्यटन समूह सर्वाधिक २.१९ प्रतिशतले बढेको छ । 

निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहमा पनि १ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ । अर्कोतर्फ, फाइनान्स समूहमा भने लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा सर्वाधिक १.०३ प्रतिशतको गिरावट आएको छ। बैंकिङ र माइक्रोफाइनान्स समूह पनि यो साता नकारात्मक देखिए ।

कम्पनीगत प्रदर्शनतर्फ कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताका लागि यो साता निकै सुखद रह्यो । कम्पनीको सेयर मूल्य ३४.३६ प्रतिशतले बढेर १०७८.१० रुपैयाँ पुगेको छ। यसका विपरीत कालिका पावर कम्पनीको सेयर मूल्यमा भने ९.२७ प्रतिशतको पहिरो गयो । कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल लिमिटेड यो साता सर्वाधिक लोकप्रिय रह्यो । यो कम्पनी एक्लैले २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

ब्रोकरहरूको गतिविधिलाई नियाल्दा नासा सेक्युरिटिज बजारमा हाबी भएको देखिन्छ । यो साता नासा सेक्युरिटिज नै सर्वाधिक सेयर खरिद गर्ने र बिक्री गर्ने ब्रोकर बनेको छ । नासाले ३ अर्ब ३३ करोडको खरिद र ३ अर्ब २६ करोडको बिक्री गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप