शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

बा यो पाला भोट नबिगार्नू

शनिबार, २४ माघ २०८२, १४ : ३०
शनिबार, २४ माघ २०८२

बा,
देश बिग्रियो त्यसैले
छोरो फर्केन भन्छौ 
वा 
छोरो बिग्रियो त्यसैले
देश फर्केन भन्छौ ?
बिन्ती बा, यो पाला भोट नबिगार्नू।
अनि हेर्नु, 
देश पनि बन्छ,
र 
छोरो पनि फर्किन्छ।
बा,
फेरि उनै आउलान्
हुलका–हुल भोट माग्न।
बा, बिन्ती 
यसपालि भोट हाल्दा
केवल झण्डा नहेर्नू।
आफ्ना नहेर्नु,
राम्रा हेर्नु ।
ती थोत्रा, खोक्रा भाषण नसुन्नू ।
झण्डा त रङ्गीन हुन्छन्
हाम्रा सपना त रङ्गहीन भइसके 
त्यसैले बा,
हाम्रो रित्तिएको गाउँ सम्झिनू,
आफ्नो खाली आँगन सम्झिनू।

आमाका नओभाएका 
आँसुका धर्सा सम्झिनू।
हाम्रा सपनामा परेका
खाली ठाउँ सम्झिनू।

परिवर्तनको खातिर,
शिरमा गोली थापेर ढलेका
अबोध बालक सम्झिनू ।

भर्खर आन्दोलनमै
सन्तान गुमाएर
रित्तिएका काख सम्झिनु।

मान्नुस् बा,
मै ढलेको हुँ, तिनैका गोलीले।
त्यसैले बा,
फेरि मिठा आश्वासनमा
नभुल्नू।
सुन्नु त
केवल आफ्नै मनको ढुकढुकी।
किनकि बा,
देश सुध्रियो भने
गाउँ फेरि हाँस्छ।
गाउँ हाँस्यो भने
तपाईंको छोरो
अवश्य फर्किन्छ, 
परदेशबाट।
तपाईंको कसम, बा 
म फर्किन्छु।
बा, म पक्कै फिर्छु।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरज रेग्मी
सुरज रेग्मी
लेखकबाट थप