बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रादेशिक संरचना असफल भइसक्यो, अब दुई तहको चुस्त शासन प्रणाली हुनुपर्छ : खुश्बु ओली

सोमबार, २६ माघ २०८२, १५ : ३९
सोमबार, २६ माघ २०८२

सारांश

  • राप्रपा नेतृ खुश्बु ओलीले संघीयता असफल भएको र दुई तहको शासन प्रणाली उपयुक्त हुने दाबी गरिन्।
  • उनले नेपालको अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्ने र डाटा सेन्टरको हब बनाउन सकिने तर्क गरिन्।
  • ओलीले संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पुन:स्थापना आवश्यक रहेको बताइन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा समानुपातिक उम्मेदवार खुश्बु ओलीले संघीयताको वर्तमान प्रादेशिक संरचना पूर्णतः असफल भएको दाबी गरेकी छन् । अब केन्द्र र स्थानीय तह गरी दुई तहको चुस्त शासन प्रणाली मात्र देशका लागि उपयुक्त हुने उनको जिकिर छ । 

उनले सार्वजनिक गरेको अवधारणा पत्रमा प्रदेश सरकारहरू आर्थिक रूपमा बोझिलो र नतिजाविहीन बनेको भन्दै आधुनिक प्रविधि र सनातन धर्मको समिश्रणसहितको विकास मोडेलले मात्रै मुलुकलाई नयाँ दिशा दिनसक्ने जिकिर गरेकी छन् ।

ओलीले नेपालको अर्थतन्त्रलाई परम्परागत रेमिट्यान्स र निर्वाहमुखी कृषिबाट माथि उठाएर आधुनिक प्रविधिमैत्री बनाउनुपर्नेमा विशेष जोड दिएकी छिन्।

नेतृ ओलीले नेपालको चिसो हावापानीलाई आर्थिक अवसरमा बदल्न सकिने अवधारणापत्रमा उल्लेख गरेकी छिन्। विश्वव्यापी रूपमा बढ्दो ‘डाटा सेन्टर’ को मागलाई सम्बोधन गर्न नेपालको हिमाली भू-भाग उपयुक्त हुने र यसले ‘कुन्लिङ’ खर्च घटाउने भन्दै उनले नेपाललाई डाटा सेन्टरको हब बनाउन सकिने तर्क गरेकी छिन्। 
साथै, आईसीटी, एआई र स्टेम शिक्षामा जोड दिँदै युवालाई स्वदेशमै रोक्न ‘युवा नवप्रवर्तन केन्द्र’ स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।

राजनीतिक स्थिरताका लागि संवैधानिक राजसंस्थाको अपरिहार्यता रहेको उनको जिकिर छ। बेलायत, जापान र अरब राष्ट्रहरूको उदाहरण दिँदै उनले राजासहितको प्रजातन्त्रले मात्र राष्ट्रिय एकता र अनुशासन कायम राख्न सक्ने बताएकी छिन्। 

साथै, ‘सिभिलाइजेसनल इरेजर’ रोक्न र विश्वमा नेपालको छुट्टै पहिचान स्थापित गर्न ‘सनातन हिन्दु राष्ट्र’ को पुन:स्थापना आवश्यक रहेको उनको जिकिर छ।
किसानलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै उनले किसानको उत्पादनलाई सिधै बजारसँग जोड्ने र पेसालाई सम्मानित बनाउने नीति अघि सारेकी छिन्।

 पर्यटन क्षेत्रमा भुटानको मोडेलबाट सिक्दै ‘हाई भ्यालु, हाई इम्प्याक्ट’ नीति अपनाउनुपर्ने उनको धारणा छ। धार्मिक पर्यटनलाई ‘राष्ट्रिय ब्रान्ड’ बनाएर आर्थिक लाभ लिन सकिने उनले उल्लेख गरेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप