सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा एक नेताले जन्मदर बढाउन ‘विदेशी महिला आयात’ गर्ने प्रस्ताव राखेपछि...

सोमबार, २६ माघ २०८२, १७ : ०५
सोमबार, २६ माघ २०८२

सारांश

  • दक्षिण कोरियामा जन्मदर बढाउन भियतनाम वा श्रीलङ्काबाट युवती ल्याएर विवाह गराउने एक अधिकारीको प्रस्तावले विवाद निम्त्यायो।
  • विवादित टिप्पणी गरेपछि ती अधिकारीलाई सत्तारूढ पार्टीबाट निष्कासन गरियो, र भियतनामले कूटनीतिक विरोध जनायो।
  • अधिकारीले माफी मागे पनि विवाद साम्य भएन र महिला अधिकारकर्मीहरूले प्रदर्शनको तयारी गरेका छन्।

सोल । हालैका वर्षमा दक्षिण कोरियामा जन्मदर घट्दै गइरहेको छ । सोही क्रममा जन्मदर बढाउन ‘भियतनाम वा श्रीलङ्काबाट युवती आयात गरेर ग्रामीण युवकसँग विवाह गराउन सकिने’ भन्दै एक जना स्थानीय अधिकारीले टिप्पणी गरेपछि बबाल छ । यस्तो टिप्पणी गर्ने अधिकारीलाई  सत्तारूढ पार्टीबाट निष्कासन समेत गरिएको छ ।

दक्षिणी जिन्दो काउन्टीका प्रमुख किम ही–सूले गत साता सार्वजनिक टाउन हल बैठकमा यस्तो प्रस्ताव राखेका थिए । ग्रामीण क्षेत्रमा पुरुषहरू अविवाहित रहिरहेको भन्दै उनले विदेशी महिलासँग विवाह गराउने उपाय सुझाएका थिए ।

उनको भनाइ सरकारी टिभीमा प्रसारण भएपछि यसको तीव्र आलोचना भयो । उनको सो अभिव्यक्ति पछि भियतनामले कूटनीतिक विरोध जनाएको छ भने दक्षिण कोरियामा व्यापक आक्रोश फैलिएको छ ।  अन्ततः सत्तारूढ डेमोक्रेटिक पार्टीले उनलाई निष्कासन नै गरेको छ ।

किमले अर्को दिन माफी माग्दै आफूले ग्रामीण जनसङ्ख्या सङ्कटलाई मात्र उजागर गर्न खोजेको दाबी गरे । उनले आफूले प्रयोग गरेको भाषा अनुचित भएको पनि स्वीकारे । तथापि, उनको माफीले विवाद शान्त हुन सकेन । दक्षिण जिओला प्रान्तीय सरकारले पनि औपचारिक रूपमा क्षमा याचना गर्दै उनको टिप्पणीले भियतनामी जनता र महिलाहरूलाई गहिरो चोट पु‍र्याएको जनाएको छ ।

सोलस्थित भियतनामी दूतावासले फेसबुकमार्फत वक्तव्य जारी गर्दै किमको भनाइ ‘केवल अभिव्यक्ति मात्र नभई आप्रवासी महिला र अल्पसङ्ख्यकप्रति गलत मूल्य र दृष्टिकोणको प्रश्न’ भएको भनेको छ । श्रीलङ्काले भने यस मामिलामा अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । 

यसैबिच महिला तथा आप्रवासी अधिकारकर्मीहरूले मङ्गलवार जिन्दो काउन्टी कार्यालय अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । दक्षिण कोरियाको जन्मदर विश्वकै न्यून स्तरमा पुगेको छ । जसका कारण हाल ५ करोड रहेको जनसङ्ख्या आगामी ६० वर्षमा घटेर आधामा झर्न सक्ने चेतावनी दिइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप