शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुरक्षा/अपराध

‘सस्तोमा सुन दिन्छु’ भन्दै ६० लाख लुट्ने गिरोहका ४ जना पक्राउ

मङ्गलबार, २७ माघ २०८२, १७ : २६
मङ्गलबार, २७ माघ २०८२

काठमाडाैँ । ‘सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु’ भन्दै प्रलोभनमा पारेर ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घटना गत माघ १४ गते दिउँसोको हो । लुटेरा समूहले पीडितलाई काठमाडौँ महानगरपालिका–१४ स्थित घ्याखेलमा बोलाएको थियो । सस्तोमा सुन पाउने लोभमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगे । तर, त्यहाँ सुन त थिएन, बरु ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पार्‍यो । उक्त समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट गरेर उनीसँग भएको ६० लाख रुपैयाँ लुटेर फरार भएको थियो ।


लुटपाटको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका–७ घर भई तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूलाई माघ १८ गते पक्राउ गरिएको हो ।

त्यस्तै, नवलपरासीको कावासोती नगरपालिका–१३ घर भई काठमाडौंको एयरपोर्ट बस्ने ३८ वर्षीय कर्णबहादुर सुनारलाई माघ २० गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये ९ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ । यसका साथै ५ थान मोबाइल, घटनामा प्रयोग भएका ३ थान मोटरसाइकल र विभिन्न कम्पनीका १३ थान सिमकार्ड पनि बरामद भएको छ । 

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप