सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेकपाकाे प्रतिबद्धता : हरित जलवायु कोषको उपयोगसँगै जनताको जिउधनको सुरक्षा गर्ने नीति

मङ्गलबार, २७ माघ २०८२, १८ : ०१
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सन् २०४५ सम्म नेट जिरो इमिसनको लक्ष्य लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा हरित जलवायु कोष तथा हानी नोक्सानी क्षतिपूर्तिको अधिकतम उपयोग गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी आधुनिक प्रविधिमा आधारित विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीको विकास गरेर जनताको जिउधनको सुरक्षा गर्ने नीति लिइएको छ । वन क्षेत्रको अवैध अतिक्रमण तथा दोहन रोक्नुको साथै रुख कटान, आगलागी र बाढीपहिरोको कारण खाली हुन गएको क्षेत्रमा नयाँ गुणस्तरीय जातको वृक्षारोपण गरी वन संरक्षण गरिने प्रतिबद्धता उल्लेख छ । यस्ता लक्ष्य कार्यान्वयनका लागि निम्नाअनुसार कार्यक्रम तय गरिएका छन् 
· तराई–मधेसलाई मरुभूमिकरण हुन नदिन चुरे र शिवालिक पर्वत श्रृङ्खलाको संरक्षण गरिनेछ । 

· वनजन्य स्रोतको विवेकशील उपयोग गरी उत्पादन, रोजगारी र आयआर्जन बढाउन ढले–पडेका र बुढा–पुराना रुखहरू कटान गरी निर्माण कार्य र फर्निचर उद्योगमा प्रयोग गरिनेछ । 
· वन सम्पदाको व्यवसायिक विकास र उपयोगको लागि सरकारी, सामुदायिक तथा निजी वनसँग सम्बन्धित नीतिमा सुधार गरिनेछ । 
· वन क्षेत्र लिजमा उपलब्ध गराई जडीबुटी खेती, वन्य पशुपन्छीको व्यावसायिक पालन र फलफूल खेती प्रवद्र्धन गरिनेछ । 
· सामुदायिक वनको उपयोगबाट स्थानीय समुदायले अधिक लाभ प्राप्त गर्ने गरी सामूहिक प्रणालीको उद्यम–व्यवसाय सञ्चालन गर्न “एक सामुदायिक वन, एक उद्यम” कार्यक्रम सञ्चालन गरिनेछ । 
· वातावरण संरक्षण गर्न हरित अर्थतन्त्रको प्रवर्द्धनमा जोड दिइनेछ । उद्योग–व्यवसाय, कार्यालय तथा प्रतिष्ठानहरूले वातावरणमैत्री विधिहरू अवलम्बन गर्नुपर्ने व्यवस्था गरिनेछ । 
· जैविक विविधताको संरक्षण गरिनेछ । 
· कार्बन मूल्य निर्धारणको लागि नीति निर्माण गरी कार्बन व्यापारको लागि स्पष्ट कानुनी र संस्थागत आधार तयार गरिनेछ । नयाँ बन्ने नीतिले उत्सर्जन घटाउने परियोजनालाई प्रोत्साहन दिई कार्बन क्रेडिटको उत्पादन, खरिद–बिक्री र नियमनको व्यवस्था गर्नेछ । 
· नेपालले सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य लिएको सन्दर्भमा सो लक्ष्य हासिल गर्न हरप्रयास गरिनेछ । 
· हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने असर र जोखिमहरूलाई कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गरिनेछ । 
· पृथ्वीको बढ्दो तापमान तथा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी जलवायु सङ्कटले हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे विश्वव्यापीरूपमा ध्यानाकर्षण गराइनेछ । यस दिशामा नेपालको नेतृत्वमा सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गरिनेछ । 
· जलवायु परिवर्तनसँग सम्बद्ध विश्व सम्झौताहरुद्वारा स्थापित हरित जलवायु कोष, नोक्सानी क्षतिपूर्ति कोषजस्ता वित्तीय कोषको रकम तथा अन्य अवसरहरूको अधिकतम उपयोग गर्नको लागि विशेष कूटनीतिक साथै प्राविधिक पहल गरिनेछ । 
· विनाशकारी भूकम्प, बाढी, पहिरो, डुबान, भूक्षय, डढेलो, उष्णवायु, आँधी, तुफान, चक्रवात, अतिवृष्टि, अनावृष्टि, हिमपहिरो, सुख्खा जस्ता प्राकृतिक विपदबाट हुने जनधनको नोक्सानी कम गर्नका लागि एआईको प्रयोगका साथै डिजिटल प्रविधिमा आधारित विपद् पूर्वसूचना प्रणाली विकास गरिनेछ । जोखिममा रहेका वस्तीहरूलाई स्थानान्तरण गर्ने र एकीकृत वस्ती निर्माण गर्ने कार्य अघि बढाइनेछ । 
· विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने नीति अवलम्बन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप