सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

तिग्रापानी गाउँका मतदातालाई छैन चुनावबारे जानकारी

बुधबार, २८ माघ २०८२, ११ : २६
बुधबार, २८ माघ २०८२

सारांश

  • बागलुङको तिग्रापानी गाउँमा निर्वाचनको माहोल नभएको र स्थानीय बासिन्दालाई चुनावको मिति समेत थाहा नभएको कुरा उल्लेख छ।
  • गाउँमा मोटरबाटो पुगे पनि गाडी नियमित नचल्ने, विद्यालय र स्वास्थ्य संस्थाको अभावका कारण स्थानीय सास्तीमा परेका छन्।
  • स्थानीयले सामान्य उपचार, नजिकै विद्यालय र पशुधनको उपचारको लागि राज्यबाट सहयोगको अपेक्षा गरेका छन्।

बागलुङ । देश निर्वाचनमय बनिरहेको अवस्थामा समेत बागलुङको तिग्रापानी गाउँ शान्त छ । गाउँले आफ्नै धुनमा दैनिकी चलाइरहेका छन् । माघ अन्तिम सातासम्म पनि कठ्याङ्ग्रिदो चिसो छ । चिसोका कारण बिहान–बेलुका जनजीवन कष्टकर नै छ ।

फागुन महिना नजिकिएसँगै स्थानीयलाई बारी जोत्ने, मल ओसार्ने र आलु रोप्ने चटारो छ । बागलुङको बजारी इलाका चुनावी माहोलले गर्माएको बेला यहाँका नागरिकमा भने कुनै चासो नै छैन ।

प्रतिनिधि सभा निर्वाचन हुने कुरा सुने पनि कुन मितिमा हुँदैछ भन्ने जानकारीसमेत छैन यहाँका अधिकांश बासिन्दालाई । भौगोलिक विकटताका कारण ओझेलमा रहेको तिग्रापानी विकासका हिसाबले पनि दुरमै छ । गाउँमा मोटरबाटो पुगेको छ, तर दिनहुँ गाडी चल्दैन । विद्यालय र स्वास्थ्य संस्था पनि छैनन्, जसका कारण बालबालिकाले एक घण्टाभन्दा बढी हिँडेर स्कुल पुग्नु पर्छ भने बिरामीलाई बोेकेर अस्पताल पुर्‍याउनु पर्छ ।

C0658T01

निसीखोला गाउँपालिका–६ मा पर्ने यो गाउँमा दुई सय हारहारीमा घर छन् । एउटै घर परिवारले सयौँको सङ्ख्यामा वस्तुभाउ पाल्ने हुँदा उनीहरूलाई त्यत्ति फुर्सद हुँदैन । बजारका चोक र चिया पसलमा जस्तो चुनावी चर्चा यहाँ हुँदैन ।

चुनावको दुई/तीन दिन अगाडिमात्रै नेताहरू भोट माग्न पुग्छन् र सुनाउँछन् आफ्ना बाचा । अनि पत्याउँछन् र मतदान गर्न विवश हुन्छन् गाउँले । विकासले पछाडि पर्दा पनि यहाँका जनतामा रिस, आक्रोश र गुनासो खासै देखिँदैन । सानातिना विकासमा पनि उनीहरू खुसी छन् । उनीहरूका माग बडेमानका छैनन् । गाउँमै सामान्य उपचार गर्न पाइयोस्, बालबालिकाले नजिकमा पढ्न पाउन् र गाईवस्तु बिरामी पर्दा खोप पाउन् भन्ने चाहना उनीहरूको छ ।

रेडियोबाट चुनाव हुने सूचना पाए पनि कहिले हुन्छ भन्ने यकिन मिति जानकारी नभएको स्थानीय ५६ वर्षीय लक्ष्मी घर्ती मगरले बताइन् । अघिल्ला निर्वाचनहरूमा नेताहरू भोट माग्न आउँदामात्रै चुनाव आएको थाहा हुने गरेको उनले सुनाइन् ।

लक्ष्मी घर्ती मगर

घर्ती मगरले भनिन्, ‘अस्ति हो कि कहिले हो, रेडियोमा चुनाव आउँदैछ भन्ने सुनेको थिएँ, तर कुन मितिमा हुने भन्ने जानकारी छैन । चुनाव भए त नेताहरू भोट माग्न आउँछन् होला नि ।’

गाउँमा आएको बाटोमा धेरै गाडी चल्न पाए सुविधा लिन पाइने उनले सुनाइन् । गाडी नचल्दा सामान ढुवानीमा समस्या हुने गरेको उनको भनाइ छ । ‘मोटरबाटो नआउँदा बजारबाट दुई÷तीन घण्टा बोकेर सामान ल्याउने गर्थ्यौँ । अहिले गाडी हिँड्ने बाटो त बन्यो, तर चाहिएको बेला गाडी पाइँदैन । एक बोरा चामल ल्याउनका लागि गाउँभरिका मिलेर बोलाएपछि बल्ल गाडी आउँछ ।’

तिग्रापानी गाउँ जिल्ला सदरमुकाम बागलुङ बजारबाट करिब १२० किलोमिटर पश्चिममा पर्छ । सहरी कोलाहलभन्दा टाढा रहेको यस गाउँका स्थानीयको जनजीवन पनि सामान्य किसिमको छ । पशुपालनबाटै जीविकोपार्जन गर्दै आएका किसानले राज्यबाट सामान्य सहयोगको अपेक्षा गरेको स्थानीय ६० वर्षीय गुमानसिंह घर्ती मगरले बताए ।

गुमानसिंह घर्ती मगर

उनले भने, ‘हामी त किसान मान्छे । सरकारले बिउभिजन र वस्तुभाउलाई उपचार गरिदिए राम्रो हुन्थ्यो । बेला–बेला धेरै वस्तुभाउ एकै पटक मर्छन् । राज्यबाट केही सहायता पाए त नोक्सान व्यहोर्न पर्ने थिएन ।’

घर्ती मगरले चुनावमा भोट दिएका नेताले गाउँमा सामान्य विकास गरेको सुनाए । अहिले भएको विकासले स्थानीयलाई सुविधा दिएको उनी सुनाउँछन् । घर्ती मगर भन्छन्, ‘विकास यही त होला, मोटरबाटो आएको छ । धारामा पानी पनि आउँछ । अब जिते भने फेरि विकास गर्लान् ।’

C0662T01

गाउँ नजिक स्वास्थ्य संस्था छैन । गाउँमा कोही बिरामी भए तीन/चार घण्टा हिँडेर भल्कोटमा रहेको स्वास्थ्य चौकीमा आउनुपर्ने बाध्यता छ । स्थानीय ५७ वर्षीय दलबहादुर घर्ती मगरले नजिकमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार पाउन नसकेको सुनाए । उनले भने, ‘यहाँ कतै उपचार गर्ने ठाउँ छैन । भनेका बेला गाडी पाइँदैन । सामान्य चोटपटक लाग्यो भने पनि भल्कोट पुग्नु पर्छ ।’

दलबहादुर घर्ती मगर

उनले विद्यालय टाढा हुँदा बालबालिकाले दुःख पाएको गुनासो पोखे । ‘अहिले यस्तो चिसो छ, बिहान सबेरै उठर थुरथर काँप्दै जान्छन् । साँझ थुरथुर काँप्दै आउँछन्,’ उनले भने, ‘बर्खामा पनि उस्तै समस्या हुन्छ, वर्षाले भिजेर निथु्रक्क पर्दै आउँछन् । स्कुल नजिक भएको भए केटाकेटीले दुःख पाउने थिएनन् ।’

IMG_8435

चुनावका बेला नेताले अनेक बाचा गर्छन्, तर जितेपछि एक पटक पनि फर्किएर गाउँ नआउने गरेको यहाँका बासिन्दाको गुनासो छ । तिग्रापानीवासीले कैयौँ पटक नेतालाई जिताएर संसदमा पठाए पनि आफ्ना समस्याका बारेमा आवाज उठाउने नेता कहिल्यै पाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप