रोमन चिकित्सामा मानव मल प्रयोग गरेको पुरातात्त्विक प्रमाण फेला
अंकारा । टर्कीका अनुसन्धानकर्ताहरूले प्राचीन रोमन चिकित्सामा मानव मल प्रयोग गरिएको पहिलो भौतिक प्रमाण फेला पारेका छन् ।
यो खोज सम्बनधी अध्ययन प्रतिवेदन जर्नल अफ आर्कियोलोजिकल साइन्सः रिपोर्ट्समा प्रकाशित गरिएको छ । सिवास कुम्हुरियत विश्वविद्यालयका पुरातत्त्वविद् सेन्कर अतिलाले बर्गामा संग्रहालयमा राखिएका रोमन कालका काँचका साना बोतलमाथि अनुसन्धान गर्दा अवशेष भेटाएका हुन् ।
सात वटा भाँडामा अवशेष देखिए पनि दोस्रो शताब्दीको पर्गामोन सहरबाट उत्खनन गरिएको एउटा बोतलमा मात्र निर्णायक नतिजा प्राप्त भयो ।
बोतलभित्रका खैरो टुक्रा खोतल्दा त्यसमा मानव मल, उच्च मात्राको थाइम र जैतुनको तेल रहेको पुष्टि भएको अतिलाले बताए । उनका अनुसार यो मिश्रण प्रख्यात रोमी चिकित्सक ग्यालेनले वर्णन गरेको औषधिसँग मेल खान्छ । ग्रीक मूलका चिकित्सक ग्यालेन रोमन साम्राज्यका तीन जना सम्राटका चिकित्सक थिए । उनका चिकित्सा ग्रन्थहरूले करिब १ हजार ५०० वर्षसम्म प्रभाव पारेका थिए । ‘ग्यालेनले लेखेको ठीक त्यही उपचार फेला पर्नु हाम्रो लागि अप्रत्याशित र रोमाञ्चक थियो,’ अतिलाले भने ।
अध्ययनका अनुसार प्राचीन ग्रन्थहरूमा मानव तथा जनावरको मललाई सुन्निएको, संक्रमण र प्रजननसम्बन्धी समस्या आदिको उपचारका रूपमा प्रयोग गरिएको उल्लेख छ । अनुसन्धानकर्ताहरूले यस्तो पदार्थलाई त्यस समय घिनलाग्दो नभई शक्तिशाली औषधि मानिएको बताएका छन् । सामान्यतः लामो घाँटी भएको यस्तो काँचको बोतल अत्तर राख्न प्रयोग हुन्थ्यो । तर यो नमुना औषधिका रूपमा पुनः प्रयोग गरिएको देखिन्छ । थाइम भने यसको जीवाणुनाशक गुण र दुर्गन्ध दबाउन प्रयोग गरिएको हुन सक्ने अतिलाले बताए ।
अतिलाका अनुसार यस खोजले आधुनिक चिकित्सामा प्रयोग हुने फिकल ट्रान्सप्लान्ट (स्वस्थ व्यक्तिको मल बिरामीमा प्रत्यारोपण)को अवधारणा पुरातन कालमै ज्ञात रहेको देखाउँछ । अमेरिकाको औषधि प्रशासनले पनि पुनरावर्ती आन्द्रा संक्रमण रोक्न दुईवटा फिकल ट्रान्सप्लान्ट उत्पादन स्वीकृत गरिसकेको छ ।
यो अध्ययनले लिखित इतिहासमा मात्र सीमित ज्ञानलाई पुरातात्त्विक प्रमाणले पुष्टि गरेको भन्दै अनुसन्धानकर्ताहरूले यसलाई रोमन चिकित्सा इतिहासमा महत्त्वपूर्ण उपलब्धि मानेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण