नेपाली भाषाको थारू फिल्म ‘बहौरिया’ फागुन १ मा रिलिज हुने
काठाडौं । थारू संस्कृति र लवजमा आधारित नेपाली भाषाको फिल्म ‘बहौरिया’ (बुहारी) आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । थारू समुदायभित्रकका संस्कार, लवज र रहनसहनलाई प्रस्तुत गरिएको फिल्मलाई परशुराम चौधरीले निर्देशन गरेका हुन् ।
नेपाल म्याक्स अडियो भिडियो प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा रिसन चौधरी, खुश्बु चौधरी र रक्षा चौधरी छन् । फिल्मले थारू विवाह संस्कृति र जीवनको उतारचढावको कथा प्रस्तुत गर्ने निर्देशक चौधरीले रातोपाटीलाई बताए ।
‘फिल्ममा थारू समुदायका संघर्ष, विवाह संस्कार, परम्परालाई थारू लवजमै नेपाली भाषामा प्रस्तुत गरिएको छ । यसमा थारू बुहारीको कथा छ,’ उनले भने । फिल्मको कथा, पटकथा र संवाद पनि चौधरीकै छ । चौधरी चार दशकदेखि ध्वनि मुद्रण, फिल्म सम्पादन र लेखन गर्दै आएका छन् ।
फिल्मको शीर्ष भूमिकामा रेनु चौधरी छिन् । अन्य मुख्य कलाकारहरुमा परशुराम चौधरी, पुनम चौधरी, वीर चौधरी, ममता चौधरी, नीरज ब्लाक, संगीता चौधरी र प्रदीप बस्मेत छन् ।
फिल्ममा विकास चौधरी र प्रवलदीप विश्वासको संगीत, तुलसी घिमिरे र वीर चौधरीको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, सन्देश मोतेको छायांकन र सन्दीप मोतेको सम्पादन छ । सुरूमा तराई-मधेसका केही हलमा मात्रै प्रदर्शन गरिने ‘बहौरिया’लाई केही समयपछि देशव्यापी रिलिज गरिने निर्देशक चौधरीले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण