काठमाडौं । जेनजी आन्दोलन कुनै एउटा सानो झिल्को थिएन, नेपाली समाजमा दशकौँदेखि गुम्सिएर बसेको आक्रोशको ठुलो विष्फोट थियो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा अहिले चुनाव हुन लागेको हो ।
सुशासन कायम र भ्रष्टाचार अन्त्यको माग गर्दै भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार चुनाव गराएर जनप्रतिधिहरुलाई सरकार सुम्पिने तयारीमा छ । तर के चुनावले मात्रै जेनजी आन्दोलनको मर्म पूरा गर्ला ? चुनावमा जाने राजनीतिक दललहरुले कस्तो मुद्दा उठाउनुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर जेनजी आन्दोलनका अभियन्ता एवं प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेका विकास रसाइली ‘स्नेही’ सँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
भदौ २३ र २४ गतेको त्यो ऐतिहासिक जेनजी आन्दोलनपछि देशको राजनीतिले एउटा नयाँ मोड लियो । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो र अहिले देश निर्वाचनको संघारमा छ । एउटा अगुवाको नाताले भन्नुपर्दा वास्तवमा त्यो आन्दोलन किन र कसरी सम्भव भएको थियो ?
जेनजी आन्दोलन कुनै एउटा सानो झिल्को मात्र थिएन । यो त नेपाली समाजमा दशकौँदेखि गुम्सिएर बसेको आक्रोशको एउटा ठुलो विष्फोट थियो । हामीले विभिन्न मञ्चहरूमा भन्दै आएका छौँ यो आन्दोलन अहिलेसम्मका सबै परिवर्तनकारी र क्रान्तिकारी आन्दोलनहरूले जनतालाई देखाएका तर कहिल्यै पूरा नगरेका सपनाहरूको जगमा उभिएको थियो ।
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा हरेक नागरिकका लागि निःशुल्क शिक्षा, स्वास्थ्य र जातीय विभेदको अन्त्यको नारा दिएको थियो । मधेस आन्दोलनले उत्पीडन र पहिचानको कुरा उठायो । थरुहट आन्दोलन, पहिचानवादी आन्दोलन, यी सबैले नागरिकलाई एउटा आशा देखाएका थिए । तर विडम्बना ती आन्दोलनका नेतृत्वहरू सत्तामा पुगेपछि जनताका ती आधारभूत आवश्यकताहरू बिर्सिए । जब मान्छेको आशा मर्छ र भरोसा टुट्छ, तब त्यहाँबाट एउटा गहिरो निराशा जन्मिन्छ । भदौ २३ को घटना त्यही निराशाको उपज थियो । यो पुस्ताले अब ‘पर्ख र हेर’ भन्न चाहेन, उसले सिधै हस्तक्षेप गर्यो ।
यो आन्दोलनमा बाह्य शक्तिहरूको घुसपैठ भयो, यो ‘हाइज्याक’ गरियो भन्ने आरोपहरू पनि निकै सुनिए नि, यसमा कत्ति सत्यता छ ?
संसारको कुनै पनि आन्दोलनको एउटा निश्चित चरित्र हुन्छ । आन्दोलन आफैंमा स्वतःस्फूर्त हुन्छ, तर त्यसका पछाडि आन्तरिक र बाह्य दुवै कारण सक्रिय रहन सक्छन् । जब आन्तरिक कारणहरू (जस्तै- कुशासन, भ्रष्टाचार र बेरोजगारी) चरम उत्कर्षमा पुग्छन्, त्यहाँ बाह्य शक्तिहरूले आफ्नो स्वार्थ खोज्नु वा खेल्न खोज्नु स्वाभाविक हो ।
नेपालको इतिहासमा २००७ सालको क्रान्ति होस् वा २०६२/६३ को आन्दोलन, सबैमा कतै न कतै बाह्य प्रभाव थियो । जेनजी आन्दोलनमा पनि शक्ति केन्द्रहरूले आफ्नो पक्षमा माहोल मोड्न प्रयत्न नगरेका होइनन् । तर हामी जस्ता सचेत युवापुस्ताले यसलाई सही नेतृत्व दियौँ । हामीले आन्दोलनलाई अराजक हुनबाट जोगायौँ र यसको मर्मलाई मर्न दिएनौँ । कसैले ‘हाइज्याक’ गर्न खोज्दैमा आन्दोलनको वास्तविक एजेन्डा मर्दैन, यदि नेतृत्व सचेत छ भने । हामीले यो आन्दोलनलाई एउटा निश्चित निकास (सरकार र निर्वाचन) सम्म पुर्याउन सफल भयौँ ।
अहिले चुनावको घोषणा भएसँगै जेनजी आन्दोलन अब सकियो भन्ने भाष्य बनाउन खोजिएको छ । के यो आन्दोलन चुनाव गराउनका लागि मात्रै थियो र ?
यो एकदमै गलत बुझाइ हो । चुनाव त एउटा संवैधानिक प्रक्रिया मात्रै हो, यो आन्दोलनको अन्त्य होइन । जबसम्म नागरिकको जनजीविकाका सवालहरू हल हुँदैनन्, जबसम्म हरेक घरमा आर्थिक समृद्धि पुग्दैन, तबसम्म यो आन्दोलन सकिँदैन ।
आन्दोलनले एउटा बन्द ढोका खोलिदिएको छ । अब बाँकी कामहरू कानुनी, संसदीय र प्रशासनिक प्रक्रियाबाट हुनुपर्छ । अहिले हामी त्यही प्रक्रिया पूरा गर्न चुनावी मैदानमा छौँ । आन्दोलन सडकमा मात्र हुँदैन, यो त विचारमा हुन्छ, एजेन्डामा हुन्छ । अहिले चुनावको माध्यमबाट हामी त्यही विचारलाई संस्थागत गर्न खोजिरहेका छौँ । समाजमा जबसम्म निराशाका स्रोतहरू बाँकी रहन्छन्, तबसम्म नयाँ–नयाँ स्वरूपमा यस्ता आन्दोलनहरू भइरहन्छन् ।
यहाँहरूले सरकारसँग १० बुँदे सहमति गर्नुभएको थियो । तर अहिलेका ठुला र पुराना राजनीतिक दलहरूले त्यसलाई खासै महत्त्व दिएको देखिँदैन नि ?
यदि कुनै पनि राजनीतिक दल वा शक्तिले भदौ २३ र २४ को जनभावनालाई नजरअन्दाज गर्छ भने उसले ठुलो मूल्य चुकाउनुपर्नेछ । यो समाजको मनोविज्ञान बुझ्न नसक्नु उनीहरूको कमजोरी हो । हामीले दलहरूलाई स्पष्ट चेतावनी दिएका छौँ । तपाईंहरूले हाम्रो १० बुँदे सहमतिलाई रद्दीको टोकरीमा फाल्नुभयो भने फेरि सडक तात्न सक्छ । यो पुस्तान्तरणको लडाइँ पनि हो । अब पुरानै ढर्राले देश चल्दैन भन्ने कुरा उनीहरूले बुझ्न जरुरी छ ।
दलहरू अहिले घोषणापत्र लेख्दैछन् । तपाईंको विचारमा यो चुनावको घोषणापत्रमा के–कस्ता कुराहरू प्राथमिकतामा पर्नुपर्छ ?
‘घोषणापत्र गफको पुलिन्दा’ मात्र भएर पुग्दैन । त्यसमा भ्रष्टाचार अन्त्यको ठोस कार्ययोजना हुनुपर्छ । सुशासन र पारदर्शिताका स्पष्ट खाकाहरू चाहिन्छ । सबैभन्दा मुख्य कुरा नेपालको आर्थिक संरचनामा आमूल परिवर्तन हुनुपर्छ ।
हामीले आजसम्म राजनीतिक व्यवस्था बदल्यौँ, तर आर्थिक र उत्पादन प्रणाली बदल्न सकेनौँ । २००७ सालमा जे उत्पादन प्रणाली थियो, आज पनि लगभग त्यस्तै छ । हाम्रो उपभोग प्रणाली र वितरण प्रणाली निकै कमजोर र परम्परागत छ । घोषणापत्रमा अबको १० वर्षमा नेपालको आर्थिक र शासकीय स्वरूप कस्तो हुने भन्ने स्पष्ट चित्र हुनुपर्छ । १८–२० वर्षको संसदीय अभ्यासले मात्र पुगेन, अब राज्यको आधारभूत संरचनामै परिवर्तन खोजिएको छ ।
तपाईं चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ । यो भूगोलमा ठुला र पुराना शक्तिहरूको लामो इतिहास छ । तपाईं जस्तो नयाँ युवाले त्यहाँका जनतालाई कसरी विश्वासमा लिनुहुन्छ ?
म त्यो भूगोलको सन्तान हुँ, एउटा सामान्य दाजुभाइ र छोरा हुँ । म त्यहींको धुलोमा खेलेर हुर्किएको, त्यहींको सरकारी विद्यालयमा पढेको मान्छे हुँ । मेरो शक्ति नै मेरो धरातल हो ।
चितवन–१ का नागरिकहरू सधैँ क्रान्तिकारी र परिवर्तनप्रेमी छन् । उनीहरूले सधैँ नयाँ र प्रगतिशील विचारलाई साथ दिएका छन् । तर विडम्बना, जितेर जानेहरूले त्यो भूगोलको वास्तविक समस्या कहिल्यै बुझेनन् । उनीहरू ‘भीआईपी’ बने, जनतासँग उनीहरूको दूरी बढ्यो । म त्यो दूरी मेट्न आएको हुँ । मलाई भेट्न कसैले अपोइन्टमेन्ट लिनु पर्दैन । म चिया पसलमा, अस्पतालको लाइनमा वा किसानको खेतबारीमा सधैँ उपलब्ध हुन्छु ।
त्यहाँका मुख्य स्थानीय समस्याहरू चाहिँ के–के हुन्, जसलाई तपाईंले सदनमा उठाउन चाहनुहुन्छ ?
त्यहाँका समस्या बग्रेल्ती छन् । पहिलो त शिक्षा र बेरोजगारीको समस्या छ । हाम्रा युवाहरू किन विदेशिनु परेको छ ? म आफैँ पनि वैदेशिक रोजगारीबाट फर्केर आएको मान्छे हुँ, मलाई थाहा छ— आफ्नो देशमा अवसर नपाउँदाको पीडा कस्तो हुन्छ ।
दोस्रो, स्वास्थ्य क्षेत्रको बेहाल छ । एउटा सामान्य उपचारका लागि पनि चितवनका नागरिकले भरतपुरका महँगा निजी अस्पतालहरूमा धाउनुपर्ने र चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ । दुई वर्षअघि मेरो आफ्नै हजुरआमाले उपचार नपाएर ज्यान गुमाउनुपर्यो, त्यो पीडा मैले बिर्सेको छैन ।
तेस्रो, किसानका समस्या छन् । चितवन–१ तरकारी, केरा, दुध र पोल्ट्रीको हब हो । तर यहाँका किसानहरूले उचित मूल्य पाउँदैनन्, बिचौलियाहरूले फाइदा लुटिरहेका छन् । निकुञ्ज र मानव बस्तीबिचको द्वन्द्व अर्को ठुलो समस्या हो । सुकुम्वासी र भूमिहीनहरूको समस्या ज्यूँका त्यूँ छ । चेपाङ र थारु समुदायको सांस्कृतिक र आर्थिक उत्थानका लागि ठोस काम भएको छैन । म यी सबै मुद्दाहरूको निकासका लागि चुनावी मैदानमा होमिएको हुँ ।
तपाईंका प्रतिस्पर्धीहरू त निकै ‘हेभीवेट’ मानिन्छन् नि । हरि ढकाल, राजेन्द्र बुर्लाकोटी, दावा दोर्जे लामा जस्ता व्यक्तिहरूसँग कसरी भिड्नुहुन्छ ?
उहाँहरू मेरो हजुरबुवा र ठुलोबुवा उमेरको हुनुहुन्छ, म उहाँहरूलाई सम्मान गर्छु । तर राजनीतिमा उमेर र अनुभव मात्रै ठुलो कुरा होइन, दृष्टिकोण र डेलिभरी मुख्य कुरा हो । उहाँहरूले आफ्नो पालामा के गर्नुभयो, त्यो जनताले देखिसकेका छन् ।
अहिलेको पुस्ताले यस्तो प्रतिनिधि खोजेको छ जो उनीहरूसँगै हिँडोस् । उनीहरूको भाषा बोलोस् । ठुला नेतालाई भेट्न १० ठाउँमा पावर लगाउनुपर्ने र पीए मार्फत कुरा गर्नुपर्ने संस्कृतिबाट जनता आजित भइसकेका छन् । मलाई कुनै तामझाम र पीए चाहिँदैन । म जनताको सिधै पहुँचमा हुने प्रतिनिधि बन्न चाहन्छु । यसपालि जनताले ‘पात्र’ मात्र होइन, ‘प्रवृत्ति’ पनि बदल्ने मुड बनाएका छन् ।
नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो छ । तपाईं जस्तो एउटा सामान्य युवाले पैसाको शक्तिसँग कसरी लड्न सक्छ ?
यो सबैभन्दा ठुलो चुनौती हो । नेपालको निर्वाचन प्रणाली यति भ्रष्ट र महँगो बनाइएको छ कि एउटा इमानदार मान्छेले चुनाव लड्ने सोच्न पनि डराउनुपर्ने स्थिति छ । ठुला दलहरूले अकुत सम्पत्ति खर्च गर्छन्, भोजभतेर गर्छन् र पैसाले भोट किन्न खोज्छन् ।
हामी यसका विरुद्ध एउटा ‘जिद्दी मूर्खपन’ लिएर मैदानमा छौँ । हामीसँग पैसा छैन, तर हामीसँग विचार र जनताको विश्वास छ । हामीले जनतालाई बुझाउँदैछौँ कि, आज कसैले दिएको ५ हजार वा एक छाक मासुले तपाईंको पाँच वर्षको भविष्य अन्धकार बनाउँछ । हामी पैसा होइन, मुद्दा बेच्न आएका हौँ । हामीलाई विश्वास छ, चितवनका सचेत नागरिकहरू यसपालि बिक्री हुने छैनन् ।
तपाईंले नेपालको प्रशासनिक र न्यायिक संरचनामै खोट देख्नुभएको छ, यसलाई अलि स्पष्ट पारिदिनुस् न ?
हाम्रो प्रशासनिक संरचना २०२७ सालको ऐनमा टिकेको छ । आजको प्रविधिको युगमा ५० वर्ष पुरानो ढर्राले प्रशासन चल्दैन । न्यायिक प्रणाली हेर्नुस्, पञ्चायतकालीन मानसिकता र ढिलासुस्ती अझै उस्तै छ । एउटा गरिबले न्याय पाउन वर्षौँ कुर्नुपर्ने र सम्पत्ति सिध्याउनुपर्ने अवस्था छ ।
शिक्षा प्रणालीमा हेर्नुस्, बेलायतको शिक्षा भारतमा ल्याइयो र भारतको शिक्षा नेपालमा लादियो । हाम्रो आफ्नो मौलिक ज्ञान र रैथाने शिक्षाको कुनै स्थान छैन । कर्मचारीतन्त्र उस्तै परम्परावादी छ । यी सबै संरचना नबदलेसम्म पात्र मात्रै बदलेर केही हुँदैन । हामी राज्यका यी सबै अवयवहरूको ‘ओभरहलिङ’ (पुनर्संरचना) चाहन्छौँ ।
तपाईंको पार्टी (प्रलोपा) ले कतिपय ठाउँमा नेकपा एमालेसँग तालमेल गरेको छ । तर तपाईंले त एमालेलाई प्रतिगामी र जेनजी आन्दोलनको विरोधी भन्दै आउनुभएको थियो नि, यो विरोधाभास भएन र ?
यो विषयमा हामीले पार्टीभित्र निकै ठुलो विद्रोह र बहस गरिरहेका छौँ । भूगोलको आवश्यकता भन्दै पार्टीले केही ठाउँमा तालमेल गरेको होला, तर सैद्धान्तिक रूपमा म यसको पक्षमा छैन । हिजो हाम्रो आन्दोलनलाई दमन गर्ने, हामीलाई ‘विदेशी एजेन्ट’ र ‘अराजक’ भन्ने शक्तिसँगको तालमेल मेरो व्यक्तिगत र राजनीतिक नैतिकताले स्वीकार गर्दैन ।
म कुनै एक नेतालाई जिताउन राजनीतिमा आएको होइन । म त यो देशको व्यवस्था र अवस्था बदल्न आएको हुँ । पार्टीभित्र पनि हामीले स्पष्ट भनेका छौँ । जसले परिवर्तनको मर्म बुझ्दैन, उसँगको अलाइन्स लामो समय टिक्दैन ।
फागुन २१ को चुनावपछि देशले कस्तो सरकार पाउनुपर्छ र तपाईँको भूमिका के हुन्छ ?
अबको सरकार गठबन्धनको खिचडी मात्रै हुनुहुँदैन । यसले स्पष्ट बहुमतका साथ पाँच वर्ष ढुक्कले काम गर्न पाउनुपर्छ । हामीले यस्तो सरकारको परिकल्पना गरेका छौँ, जसले विदेशिएका ८० लाख युवालाई स्वदेश फर्कने वातावरण बनाओस् । यस्तो सरकार जसले किसानको पसिनाको मूल्य देओस् र बिरामी पर्दा अस्पतालको उपचार नपाएर कोही मर्नु नपरोस् ।
मेरो भूमिका सदनमा एउटा सचेत पहरेदारको हुनेछ । म आफ्नो क्षेत्रको विकासको कुरा मात्र गर्ने छैन, म त समग्र राज्य संरचना बदल्ने कानुन निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्नेछु । हामी गफ गर्ने होइन, काम गरेर देखाउने पुस्ता हौँ ।
आम मतदाता र विशेषगरी जेनजी पुस्तालाई के भन्न चाहनुहुन्छ ?
म सबैलाई यति भन्न चाहन्छु, भदौ २३ र २४ को त्यो बलिदानीलाई नबिर्सनुहोला । ७६ जना शहीदहरूको रगत र हजारौँ घाइतेहरूको सपना तपाईँको हातमा छ । यसपालि भोट हाल्दा एउटा चिन्हमा छाप लगाउने मात्र होइन, आफ्नो र आफ्नो सन्तानको भविष्यको फैसला गर्ने हो ।
नयाँको नाममा सबै राम्रो हुँदैनन् र पुरानोको नाममा सबै नराम्रो हुँदैनन् । पात्रको धरातल र उसको विचार हेर्नुहोला । हामीले यो देशलाई एउटा नयाँ निकास दिनु छ ।
प्रतिक्रिया