सहअस्तित्वको संस्कार र हाम्रो सामाजिक विवेक
सारांश
- डा. बाबुराम भट्टराईको पिताको मृत्यु संस्कारमाथि सार्वजनिक टिप्पणी, आलोचना र कटाक्ष भयो।
- लेखमा नेपाली समाजको सहिष्णुता, संस्कार र विवेकमाथि प्रश्न उठाइएको छ, साथै वैज्ञानिक मानवतावादको महत्त्वलाई जोड दिइएको छ।
- लेखले समाजमा फरक मतको सम्मान र व्यक्तिगत विश्वासको कदर गर्नुपर्ने कुरामा जोड दिँदै, सहिष्णुताको महत्वलाई प्रकाश पारेको छ।
पृष्ठभूमि
सामाजिक बहस कहिलेकाहिँ व्यक्तिगत घटनाबाट सुरु भएर ठूलो सामाजिक, राजनीतिक र दार्शनिक विमर्शमा रूपान्तरण भैदिन्छ । हालैको प्रसंगले यस्तै बहस जन्मायो। डा. बाबुराम भट्टराईका पिताको मृत्युकर्ममा गरिएका केही व्यक्तिगत विषयहरू सार्वजनिक टिप्पणी, आलोचना र कटाक्षको विषय बने।
सामान्यतया, शोक र अन्तिम संस्कारको समय परिवारको निजी कुरा हो तर यसपटक त्यो निजी क्षण पूर्व प्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्व हुनुको नाताले पनि हुनसक्छ, सामाजिक सञ्जालमा सार्वजनिक बहसको विषय बन्यो।
यो बहस कुनै व्यक्तिविरुद्धभन्दा बढी हाम्रो समाजको सहिष्णुता, संस्कार र विवेकबारे थियो। कसैले परम्परागत विधि नअपनाउँदा त्यसलाई व्यक्तिगत विश्वासको कुरा मानेर स्वीकार गर्ने संस्कार हाम्रो समाजमा कति बलियो छ ? भन्ने प्रश्न उठ्यो। राजनीतिक रूपमा लोकतान्त्रीक समाजमा फरक मतको सम्मान किन भैरहेको छैन ? भन्ने पनि हो ।
नेपाली समाज: विविधता र सहअस्तित्व
नेपाली समाज विविधताले बनेको समाज हो। धर्म, भाषा, संस्कृति, परम्परा र जीवनशैलीका विभिन्न रूपहरू यहाँ सँगसँगै बाँचेका छन्। यही विविधताबीचको हार्दिक एकताले सहअस्तित्वको अभ्यास सम्भव बनाएको हो। फरक मतलाई स्वीकार गर्ने, असहमतिलाई स्थान दिने र निजी विश्वासको सम्मान गर्ने संस्कारले हाम्रो समाज बलियो बनेको छ।
तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको विस्तारसँगै असहिष्णु अभिव्यक्तिहरू बढेका छन्। असहमतिको स्वरूप, सभ्य संवादभन्दा व्यक्तिगत प्रहार तथा असामाजिक टिप्पणी र कटाक्ष गर्ने प्रवृत्तिमा बढोत्तरी देखिन्छ। यस्तो प्रवृत्तिले हाम्रो सहअस्तित्व कमजोर पार्न सक्छ।
संवेदनशील समयमा गरिएका असामाजिक टिप्पणीहरूले केवल व्यक्तिलाई मात्र चोट पुर्याउँदैन, यसले समाजको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ। हामी कस्तो सार्वजनिक संस्कार निर्माण गर्दैछौँ भन्ने विषयमा गम्भीर सोच आवश्यक देखिएको छ ।
डा. बाबुराम भट्टराई र वैज्ञानिक मानवतावादी दर्शन
मानव विकासक्रमको पछिल्लो वैज्ञानिक अध्ययनहरूले मानिसमा दुई विपरित गुणहरू सहअस्तित्वमा रहेको देखाएको छ। एकातिर प्रतिस्पर्धा र स्वार्थका गुणहरू छन् भने अर्कोतिर सहकार्य र सहानुभूतिका गुणहरू । यी दुवै प्रवृत्तिहरू मानिसको जैविक संरचनाभित्र नै इन्बिल्ट छन् भन्ने तथ्य Human Genome सम्बन्धी अनुसन्धानले पुष्टि गरेको छ। यही द्वन्द्वात्मक सहअस्तित्वबीच मानिसले प्रतिष्पर्धा र सहकार्यको अभ्यासमार्फत आजको मानवीय चेतना र सभ्यता निर्माण गरेको हो।
डा. बाबुराम भट्टराईले यही ऐतिहासिक-वैज्ञानिक यथार्थलाई आधार बनाएर नयाँ राजनीतिक दर्शन प्रस्तुत गर्नुभयो- 'वैज्ञानिक मानवतावाद'। “नयाँ शक्ति” हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी यस प्रयोगशालाको रूपमा काम गरिरहेको छ, र समुन्नत समाजवाद यसको गन्तव्य हो।
आजको नेपाली समाजमा देखिने असहिष्णुता, अन्धअनुकरण र भावनात्मक ध्रुवीकरणबीच, वैज्ञानिक मानवतावादले सन्तुलित मार्ग देखाउँछ। यसले मानिसलाई प्रथमतः मानिसकै रूपमा हेर्छ, प्रतिष्पर्धी र सहकारी गुण सहितको वास्ताविक पूर्ण मानिसको रूपमा । न कि जात, धर्म, वर्ग, लिङ्ग वा रूप–रङको आधारमा। राज्यले सामाजिक सहअस्तित्व प्रवर्द्धन गर्न कुनै विश्वासको विरोध गर्दैन; आस्तिक (धर्म मान्ने) र नास्तिक (विज्ञान मान्ने) दुवैको नागरिक अधिकार सुनिश्चित गर्न धर्मनिरपेक्षताको पक्षमा उभिन्छ। समाज रूपान्तरणका लागि कर्मकाण्डभन्दा नीति र संरचनामा जोड दिन्छ, र दीर्घकालीन, प्रकृतिमैत्री योजना निर्माणमार्फत मानवीय खुशीलाई केन्द्रमा राख्छ।
मानव इतिहास साक्षी छ- जब मानिसले विज्ञान र विवेकलाई मार्गदर्शक बनाउँछ, सभ्यता प्रगतिशील हुन्छ । जब अन्धविश्वास र भावनात्मक आवेग हावी हुन्छ, समाज पछाडि धकेलिन्छ। सामाजिक संरचना अन्यायपूर्ण भएमा प्रतिस्पर्धा शोषणमा बदलिन्छ; संरचना न्यायपूर्ण भएमा सहकार्य समृद्धिमा परिणत हुन्छ। तसर्थ, मानव स्वभावमा अन्तर्निहित प्रतिस्पर्धी र सहकारी गुणलाई सही दिशा दिन सन्तुलित सामाजिक संरचना आवश्यक छ। वैज्ञानिक मानवतावाद यही संरचनात्मक रूपान्तरणको पक्षमा उभिएको छ।
डा. बाबुराम भट्टराईको जीवन र राजनीतिक यात्रा यही दृष्टान्तको प्रत्यक्ष उदाहरण हो। सत्य र न्यायको पक्षमा अविचलित रहँदै संसारलाई वैज्ञानिक दृष्टिकोणबाट बुझ्ने र बदल्ने उनको जीवनको मूलमन्त्र हो। सामाजिक परम्परालाई सम्मान गर्दै समयानुकूल परिमार्जन गर्ने, वैज्ञानिक दृष्टिकोणलाई मार्गदर्शक मान्ने र समाजलाई न्यायपूर्ण र समतामूलक बनाउने दिशामा प्रयत्नशील रहनु उनको विशेषता हो।
यो दृष्टिकोण उनले निजी जीवनमा पनि व्यवहारमा उतारेका छन्। शोकको संवेदनशील घडीमा अपनाइएका निर्णयहरू जस्तै: कपाल मुण्डन नगर्नु, किरिया नबस्नु आदि उनीसँग जोडिएका व्यक्तिगत विश्वास हुन्। यथार्थमा उनले जस्तो सोच बोके, त्यस्तै जिए; ढोंग गरेनन्। तर परम्परावादीहरूद्वारा उनको विज्ञानवादी विश्वास माथि असामाजिक, निकृष्ट टिप्पणी प्रहार गरियो ।
आलोचना, कटाक्ष र व्यक्तिगत प्रहारबीच पनि उनले संयम र धैर्यका साथ प्रतिक्रिया दिँदै आएका छन्। आफ्नो विश्वासअनुसार जिउनु, भीडको पछि लाग्नु भन्दा सत्य र न्यायको पक्षमा अविचलित रहनु र सार्वजनिक आलोचनाबीच पनि शान्त रहन सक्नु उनका अनुकरणीय गुणहरू हुन्।
नेपाली समाजको चुनौती
यस प्रसंगले नेपाली समाजको सहिष्णुता र विवेकको स्तर पनि उजागर गरेको छ। विविधता र सहअस्तित्व हाम्रो सामाजिक विशेषता हो तर यदि फरक विश्वास, अभ्यास र सोच स्वीकार नगर्ने प्रवृत्ति बढ्यो भने भोलि अल्पसंख्यक फरकमतहरूले आफ्नै विश्वासअनुसार जिउन डराउने अवस्था आउन सक्छ ।
हाम्रो समाजले धेरै ऐतिहासिक परिवर्तनहरू देखेको छ । राजनीतिक व्यवस्था बदलिए, संविधान बदलिए, राज्यको संरचना बदलिए तर सामाजिक चेतनाको विकास राजनीतिक परिवर्तन संगै बदलिन नसक्दा समस्याहरू देखापरेका छन ।
यदि समाजले व्यक्तिको निजी विश्वास र स्वतन्त्र निर्णयको सम्मान गर्न सकेन भने, आधुनिक लोकतान्त्रिक मूल्यहरू केवल कागजमै सीमित रहन्छन्। फरक सोच, फरक अभ्यास र फरक जीवनशैलीलाई स्वीकार गर्ने संस्कार विकास नगरी सहअस्तित्वको कुरा गर्नु ढोंग सिवाय केही होइन ।
निष्कर्ष
सत्य, न्याय र विवेकमा आधारित मानव व्यक्तिगत मात्र होइन, सामाजिक प्रगतिका लागि पनि आवश्यक छ।
नेपाली समाजले आफ्नो विविधता र सहअस्तित्व जोगाउँदै, फरक विश्वास र विचारको सम्मान गर्ने अभ्यासमा बल पुर्याउनु पर्छ। वैज्ञानिक मानवतावादले यही मार्ग सुझाउँछ - आफु भित्रको स्वार्थी र पाशविक गुणलाई कम गर्दै सहकार्य र मानवीय गुणलाई बढाउँदै न्यायपूर्ण समतामुलक समाज निर्माणमा योगदान गर्ने।
यो प्रसंग केवल व्यक्तिगत टिका-टिप्पणी वा आलोचनाको मात्र होइन, सम्पूर्ण समाजको सहिष्णुता र विवेकको परीक्षा हो। हामीले फरक विचार, विश्वास र अभ्यासको सम्मान गर्दै आफ्नै समाजको सहअस्तित्व बलियो बनाउने कि असहिष्णुतालाई बढावा दिने ? यो अब हाम्रो विवेकपूर्ण निर्णयमा निर्भर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण