बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
राजनीति

आफैंले गलहत्याएका देउवाको साथ किन खोजिरहेछन् गगन ?

शुक्रबार, ०१ फागुन २०८२, २० : ००
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद कायमै छ, देउवा पक्ष प्रचारमा देखिएका छैनन्।
  • विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि देउवा पक्षले त्यसलाई स्वीकार गरेको छैन र सर्वोच्चमा मुद्दा छ।
  • देउवा पक्ष निर्वाचन प्रचारमा नआउँदा पार्टीलाई चुनावमा असर पर्ने चिन्ता विशेष महाधिवेशन पक्षधरलाई छ।

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाले गत मंसिर ८ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

उनको भनाइअनुरूप नै गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन भयो । त्यो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भए । उनकै हस्ताक्षरसहितको उम्मेदवारी टिकट लगेर कांग्रेस नेताहरू फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर प्रचारप्रसार गरिरहेका छन् ।

तर, तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र नेता डा. शेखर कोइराला समूहले स्विकारेको छैन । दुई समूह विशेष महाधिवेशन पार्टी विधान विपरीत भन्दै निर्वाचन आयोग गएका थिए । आयोगले थापा र शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि उनीहरू आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चमा देउवा र देउवाले कार्यवाहक सभापति तोकेका पूर्णबहादुर खड्काले माघ ४ गते दायर गरेको रिट विचाराधीन छ ।

देउवा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट गलहत्याएर तत्कालीन महामन्त्रीद्वयमध्ये थापा सभापति र शर्मा उपसभापति बनेका छन् । विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समिति बैठकले थापालाई निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ भने शर्मा निर्वाचनका लागि ‘निर्वाचन परिचालन समिति’को संयोजक तोकिएका छन् ।

विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयमा असन्तुष्ट देउवा, उनले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका खड्का अहिले निर्वाचनको प्रचारप्रसार कार्यक्रममा बाहिरिएका छैनन् । देउवाको सचिवालयले सर्वोच्च अदालतले आधिकारिकताका सम्बन्धमा दायर रिटको फैसला नगर्दासम्म प्रचारप्रसारका कार्यक्रममा जाने–नजाने विषयमा कुनै निर्णय नगर्ने जानकारी दिएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीसँग केही दिनअघि भनेका थिए, ‘हामी पार्टीको आन्तरिक विषयमा सर्वोच्च अदालतमा गएका छौँ । अदालतले फैसला दिएपछि मात्रै चुनाव प्रचारप्रसारमा जाने कि नजाने भन्ने निर्णय हुन्छ ।’   

देउवाको सचिवालयले विशेष महाधिवेशनपछि थापासँग देउवाको टेलिफोनमा समेत कुराकानी नभएको बताउँछ । त्यसविपरीत सभापति थापा भने निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा रहेको सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरूमा बताइरहेका छन् । माघ १६ गते धनुषा–४ मा सभापति थापाले कांग्रेस उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबिच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका थिए ।

‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु । पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु,’ सभापति थापाले भनेका थिए, ‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’

सभापति थापाले यसो बताए पनि विशेष महाधिवेशनको तुष बाँकी रहेको नेताहरू स्विकार्छन् । प्रवक्ता देवराज चालिसेले पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने पक्षबिचको तुष बाँकी रहेको बताए ।

बुधबार काठमाडौँको अनामनगरमा आयोजित अन्तर्क्रियामा प्रवक्ता चालिसेलाई पत्रकारहरूले ‘पुराना र नयाँ पदाधिकारी एउटै मञ्चमा बस्ने अवस्था किन निर्माण भएन ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा चालिसेले विशेष महाधिवेशन भएपछि पार्टीभित्र देखिएको तुष मेटाउने प्रयास भइरहेको जानकारी दिए ।  

‘पार्टीभित्र नियमित र विशेष महाधिवेशनबिचको तुष बाँकी नै छ । त्यो तुष मेटाउने भरमग्दुर प्रयास हामीले गरिरहेका छौँ,’ प्रवक्ता चालिसेले भने, ‘कुराकानी गर्ने कुरामा सबैजना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ । अरू केही नभएपछि तत्काललाई स्टेटमेन्ट (वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’

प्रवक्ता चालिसेले जेनजी आन्दोलनपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा जस्तै  देउवाले केही लिखित मन्तव्य भए पनि बाहिर ल्याइदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठुलो तरङ्ग सिर्जना हुने सम्भावना रहेको बताए ।

देउवा लगायत निवर्तमान केन्द्रीय कार्यसमितिमा रहेका र अहिले चुनावी प्रचारप्रसारमा नआएका नेताहरूलाई प्रचारप्रसारमा ल्याउने विषय आफूहरूको प्राथमिकतामा रहेको जानकारी दिए ।

‘पहिले पार्टीको केन्द्रीय समितिको बैठकमा उहाँ (देउवा)ले बोलेको राम्रो थियो नि त, त्यही प्रकारको एउटा कपी बनाउने र बोल्न लगाउने । अर्को, काठमाडौँमा जोडिएका चारपाँच वटा क्षेत्रमा उभिए झ्याप्पै वेभ सिर्जना हुन्छ,’ चालिसेले भने, ‘त्यो विषयलाई प्राथमिकतामा राखेर हामीले प्रयास गरिरहेका छौँ ।’

तथापि देउवा समूहका नेताहरू भने सर्वोच्चको फैसला नआउँदासम्म प्रचारप्रसारका लागि बाहिरिने सम्भावना कम रहेको बताउँछन् ।

देउवा सभापति भएको बेलामा प्रचार विभाग प्रमुख रहेका नेता मीन विश्वकर्मा सभापति थापा र प्रवक्ता चालिसेले भनेजस्तो देउवासँग विशेष महाधिवेशन पक्षधर कुनै नेताले टेलिफोनमा कुराकानीसमेत नगरेको बताउँछन् । ‘खासमा विशेष महाधिवेशनबाट आएका नेताहरूले औपचारिक रूपमा आग्रह गर्नुपर्ने हो । उहाँहरूले औपचारिक आग्रह त परको कुरा भयो, टेलिफोनमा कुराकानीसमेत गर्नुभएको छैन,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘औपचारिक वक्तव्य र मन्तव्य के भनेर निकाल्ने ? उहाँले विशेष महाधिवेशन स्विकार्नुभएको छैन । गगनजी सभापति भन्दै हिँड्नु भएको छ । निवर्तमान सभापति भनेर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिले हस्ताक्षर गरेर वक्तव्य निकाल्ने कुरा भएन ।’

नेता विश्वकर्माले व्यक्तिगत रूपमा घरमा गएका नेता–कार्यकर्तालाई मत कांग्रेसमा हाल्नुपर्छ त भनिरहे पनि सार्वजनिक अभिव्यक्ति र वक्तव्य निकाल्न त पदीय हिसाबमा गाह्रो रहेको बताए । ‘पार्टीका उम्मेदवारलाई मत हाल्नुपर्छ भनेर घरमा आएका नेता–कार्यकर्तालाई भनिरहनु भएको छ । सार्वजनिक अभिव्यक्ति र वक्तव्य निकाल्न पदीय रूपमा गाह्रो छ,’ उनले भने ।

थापाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको माग नेतृत्व परिवर्तन भएको बताउँदै आएका थिए । देउवाको चाहनाविपरीत नेतृत्वबाट थापाले विशेष महाधिवेशन गरेर गलहत्याएका थिए । तर, अहिले ‘निर्वाचनमा पार्टी एक ढिक्का रहेको सन्देश दिन’ भन्दै विशेष महाधिवेशन पक्षधरहरू देउवाको वक्तव्य वा सार्वजनिक अभिव्यक्ति चाहिरहेका छन् ।

विशेष महाधिवेशनको बेलामा देउवाले वकालत गर्दै आएको नियमित महाधिवेशनको पक्षमा पार्टीका ७७ मध्ये ४७ जिल्ला सभापति र ७ मध्ये ५ प्रदेश सभापतिले हस्ताक्षर गरेका थिए । यो जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिमा बहुमत हो ।

त्यतिमात्र होइन, १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा पनि देउवाकै बहुमत थियो । १६७ सदस्यीय केन्द्रीय समितिका ३२ जनामात्रै विशेष महाधिवेशनको पक्षमा लागेका थिए ।

यी नेता चुनावी प्रचार–प्रसारमा नलाग्दा र असहयोग गर्दा पार्टीले पराजय व्यहोर्ने डर विशेष महाधिवेशन पक्षधरलाई छ । प्रवक्ता चालिसेले विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेबिचको तुस अझै बाँकी रहेको र उम्मेदवारको शक्ति आन्तरिक विवाद मिलाउनै बितिरहेको बताइरहेबाट पनि यही विषयको सङ्केत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप