कांग्रेसले मधेसबाट घोषणापत्र सार्वजनिक गर्ने भएपछि रास्वपाले रोज्यो कर्णाली, एमालेले कहाँबाट गर्ला ?
सारांश
- राजनीतिक दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरिरहेका छन्, केहीले त मिति नै तोकेका छैनन्।
- नेपाली कांग्रेसले फागुन ६ गते धनुषाबाट र रास्वपाले फागुन ७ गते सुर्खेतबाट घोषणापत्र सार्वजनिक गर्ने भएका छन्।
- नेकपा एमालेले भने अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौँ । विगतमा राजधानी केन्द्रित भएर चुनावी घोषणापत्र सार्वजनिक गर्दै आएका राजनीतिक दलहरू यो पटक विकेन्द्रित हुने भएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने कतिपय प्रमुख राजनीतिक दलले अझैसम्म आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न दिएको समयलाई ठुला भनिने राजनीतिक दलले नै बेवास्ता गरेका छन् ।
प्रमुख र ठुला भनिएका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाजस्ता राजनीतिक दल र तिनका उम्मेदवारहरूले अहिलेसम्म पनि घोषणापत्रविनै चुनावी अभियानअन्र्तगत मतदाता भेटघाट र घरदैलो गरिरहेका छन् ।
नेपाली कांग्रेसले यही फागुन ६ गते मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै, अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते कर्णालीको सुर्खेतबाट आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको छ ।
तर नेकपा एमालेले भने अहिलेसम्म घोषणापत्र सार्वजनिक गर्ने मिति खुलाइसकेकोे छैन ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन ६ गते जनकपुरमा हुने आमसभामा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ ।
कांग्रेसले ‘भिजन १०’ को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ । कांग्रेस सभापति गगन थापा यो चुनावमा मधेस प्रदेशको सर्लाही निर्वाचन क्षेत्रनम्बर ४ बाट उम्मेदवार बनेका छन् । त्यसैले पनि कांग्रेसले यो पटक मधेसलाई महत्त्व दिएको हुनसक्ने बताइएको छ ।
‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले भोग्नु पर्यो । हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौँ’, रास्वपा नेतृ प्रतिभा रावलले भनिन्, ‘हामी फागुन ७ गते कर्णालीको सुर्खेतबाट विस्तृत घोषणापत्र सार्वजनिक गर्छौं ।’
नेतृ रावलका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहित पार्टीका शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्न लाग्नुमा पार्टीले उक्त प्रदेशलाई विशेष प्राथमिकता दिएको अर्थमा बुझ्नुपर्ने रावलको भनाइ छ ।
अर्को दल नेकपा एमालेले भने घोषणापत्र सार्वजनिक गर्ने समयसमेत निर्धारण गरिसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली झापाको निर्वाचनमा व्यस्त भएकाले उनी काठमाडौँ फर्केपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
‘तयारी भइरहेको छ । फागुन ६ गते अध्यक्ष काठमाडौँ फर्कने कार्यक्रम छ । सम्भवतः ७ गते हुनसक्छ । त्योभन्दा अघि उहाँ फर्कनुभयो भने अघि नै पनि हुन सक्छ’, अधिकारीले भने, ‘स्थानचाहिँ अहिलेसम्मका लागि काठमाडौँ नै हुने कुरा छ ।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपाल, जसपा, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लगायतका पार्टीले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण