मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनऋषि धितालले सार्वजनिक गरे प्रतिज्ञापत्र : के–के विषय समेटिए ?

युवा स्वरोजगारमा जोड
सोमबार, ०४ फागुन २०८२, २२ : १६
सोमबार, ०४ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले जुम्लाको साझा सङ्कल्पपत्र २०८२ सार्वजनिक गरे।
  • उनले जुम्लाको ऐतिहासिक गौरव पुनर्जागरण, आधुनिक विकास र स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताए।
  • धितालले युवालाई वैदेशिक पलायनबाट रोक्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने योजना प्रस्तुत गरे।

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले समृद्ध जुम्लाको साझा सङ्कल्पपत्र २०८२ सार्वजनिक गरेका छन् । 

सोमबार प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार धितालले परम्परागत आश्वासन मुखी राजनीति माथि प्रहार गर्दै “दासताको होइन, आस्थाको राजनीति गरौँ,स्वार्थको होइन, सेवाको राजनीति गरौँ,आश्वासनको होइन, सङ्कल्पको राजनीति गरौँ भन्ने नारा अघि सारेका छन् । 

सार्वजनिक गरिएको सङ्कल्पपत्रको सुरुवातमै उनले स्पष्ट सन्देश दिएका छन् ।अब जुम्लाले भाषण होइन, नीतिगत नेतृत्व र व्यवहारिक परिणाम खोजेको छ। जुम्लाको भूगोल, माटो र जनसमुदायको सङ्घर्ष र पीडालाई नजिक बाट बुझेको प्रतिनिधि भएको बताए ।

उनले भने, 'म त्यो प्रतिनिधि हुने छैन जो चुनाव जिते पछि काठमाडौँका महलहरूमा हराउँछ । म जुम्लाको स्वाभिमानको पहरेदार भएर संसद्‌मा निर्भीक गर्जनेछु । धितालको घोषणापत्र जुम्लाको ऐतिहासिक गौरव पुनर्जागरण देखि आधुनिक विकासको खाका सम्म फैलिएको छ ।'

सिंजा सभ्यताको ऐतिहासिक धरोहर, हिमाल,तालतलैयाको प्राकृतिक सम्पदा, रैथाने स्याउ, सिमी र मार्सी चामलको ब्रान्डिङ र व्यावसायीकरण लाई उनले प्राथमिकतामा राखेका छन् ।

उनले कृषि क्रान्तिलाई रोजगारी सिर्जना सँग जोड्ने, पर्यटनलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनाउने, तथा पशुपालन लाई आधुनिक प्रविधि सँग एकीकृत गर्ने लक्ष्य प्रस्तुत गरेका छन् । हाम्रो पसिनाको मूल्य राज्यले दिनु पर्ने उनको स्पष्ट धारणा रहेको छ । उनले भने, जुम्लाको उत्पादन देशव्यापी पहिचान बन्नुपर्छ ।

सङ्कल्पपत्रमा सुशासन, पारदर्शिता र समावेशीकरणलाई मुख्य आधार बनाइएको छ। भ्रष्टाचार र कुशासनको सञ्जाल तोड्ने उद्घोष गर्दै उनले राजनीति पुनः जनताको हातमा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

सांसद हुनु मेरो लागि व्यक्तिगत लाभको विषय होइन, उनले स्पष्ट पारे, यो जुम्लाका प्रत्येक गाउँपालिका र वडालाई बलियो बनाउने पवित्र अभियान हो ।

उनका अनुसार, उच्च तहका योजनाकार भन्दा भुइँ तहका जनताको अनुभव र ज्ञानलाई केन्द्रमा राखेर विकासको खाका तयार गरिनेछ । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र पूर्वाधार विकासलाई एकीकृत ढङ्गले अघि बढाइने उनले बताए ।

धितालले युवालाई वैदेशिक पलायन बाट फर्काएर स्थानीय उद्यमशीलतामा जोड्ने योजना अघि सारेका छन् । सीप विकास, कृषि–आधारित उद्योग, पर्यटन गाइड तालिम, तथा सूचना–प्रविधि सम्बन्धी कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य उनले सार्वजनिक गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, सामुदायिक अस्पताल सुदृढीकरण र मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ ।

सिंजामा जन्मिएका धिताल विगत तीन दशक देखि नेपाली राजनीतिक आन्दोलन र पत्रकारितामा सक्रिय थिए । उनले त्रिभुवन विश्वविद्यालय बाट स्नातक र पूर्वाञ्चल विश्वविद्यालय बाट स्नातकोत्तर गरेका छन् ।

वि.सं. २०४६/४७ को जनआन्दोलन बाट राजनीतिक चेतना प्राप्त गरेका उनले २०५०/५१ मा बामपन्थी राजनीतिमा सङ्गठित हुँदै यात्रा सुरु गरे । २०५२ देखि २०६३ सम्मको जनयुद्धकालीन जोखिमपूर्ण समय र त्यसपछिको शान्ति प्रक्रियामा वैचारिक तथा साङ्गठनिक जिम्मेवारी निर्वाह गरेको अनुभव उनीसँग छ । उनी पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत र

भई सकेका छन् ।

धिताल केवल राजनीतिज्ञ मात्र होइनन्, एक अनुभवी पत्रकार र लेखक पनि हुन् । उनले ३० वर्ष भन्दा बढी समय पत्रकारितामा बिताएका छन् । अंग्रेजी भाषामा ‘द फाइनल डेज अफ पिपुल्स वार’ र नेपाली भाषामा जनयुद्ध सम्बन्धी आधा दर्जन डायरी सहित एक दर्जनभन्दा बढी कृतिहरू लेखन तथा सम्पादन गरेका छन् ।

जनादेश साप्ताहिकका पूर्व सम्पादक धितालले आफ्नो कार्यकालमा देशका शीर्ष नेताहरू बाबुराम भट्टराई, पुष्पकमल दाहाल, केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपाल लगायतका वैचारिक लेख र अन्तर्वार्ताहरू सम्पादन,प्रकाशन गरेका थिए ।

धितालको जीवनको अर्को आयाम समाज सेवा हो । देश भित्र मात्र होइन, विदेशमा रहँदा पनि उनले संकटमा परेका नेपालीहरूको उद्धारमा भूमिका खेलेका छन् । मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई सहयोग, लागूऔषध तथा जुवाको कुलतमा फसेका युवाको पुनर्स्थापना, काठमाडौँमा सरसफाइ अभियान र समुदायस्तरमा पुस्तकालय स्थापना जस्ता कार्यमा उनी सक्रिय रहे ।

गरे के हुँदैन ? भन्ने विश्वासका साथ समुदाय सँग प्रत्यक्ष काम गरेको अनुभव उनले साझा गरेका छन् । धितालको घोषणा पत्र केवल राजनीतिक दस्ताबेज मात्र होइन, जुम्लाको स्वाभिमान पुनर्स्थापना गर्ने अभियानको घोषणापत्र भएको दाबी गरिएको छ ।

उनले जुम्लाबासीलाई अपिल गर्दै भने, 'यो वैकल्पिक यात्रामा साथ दिनुहोस् । आगामी पुस्ताका लागि सुन्दर, सुशिक्षित, सभ्य, स्वस्थ, स्वाभिमानी र स्वावलम्बी जुम्ला निर्माण गरौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप