सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जेनेभामा परमाणु वार्ता : इरान र अमेरिकाबिच सकारात्मक प्रगति तर सैन्य टकराबको डर कायमै

बुधबार, ०६ फागुन २०८२, १४ : ३९
बुधबार, ०६ फागुन २०८२

काठमाडौँ । खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव र युद्धको धम्कीका बिच इरान र अमेरिकाबिच भएको अप्रत्यक्ष परमाणु वार्तामा ‘राम्रो प्रगति’ भएको छ ।

ओमानको मध्यस्थतामा स्विजरल्याण्डको जेनेभामा मंगलबार सम्पन्न वार्तामा दुवै पक्ष एउटा मार्गनिर्देशक सिद्धान्तमा सहमत भएका छन्। 
यस सहमतिले आगामी दिनमा सम्भावित सम्झौताको मस्यौदा तयार पार्न बाटो खोलेको इरानी विदेशमन्त्री अब्बास अराघचीले बताएका छन् ।

विदेशमन्त्री अराघचीले अघिल्लो चरणको वार्ताको तुलनामा यस पटक स्पष्ट मार्गचित्र बनेको र यसलाई सकारात्मक रूपमा लिन सकिने उल्लेख गरे । 

दुवै देशले अब आ–आफ्नो तर्फबाट सम्झौताको मस्यौदा तयार पार्ने र त्यसपछि तेस्रो चरणको वार्ताको मिति तय हुने बताइएको छ। यद्यपि दुई देशबिचको गहिरो मतभेद अन्त्य गर्न अझै समय लाग्ने उनले स्वीकार गरेका छन् । 

इरानले आफ्नो युरेनियम संवर्द्धन गर्ने अधिकार सुरक्षित हुनुपर्ने र आर्थिक प्रतिबन्धहरू हट्नुपर्ने सर्त राखेको छ भने अमेरिकाले इरानको मिसाइल कार्यक्रमलाई पनि वार्ताको एजेन्डा बनाउनुपर्ने अडान राख्दै आएको छ ।

वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता हुनुलाई सकारात्मक माने पनि इरानले अझै केही ‘रेड लाइन’ हरूलाई बेवास्ता गरिरहेको टिप्पणी गरेका छन्। उनले कूटनीति असफल भएमा अमेरिकाले सैन्य विकल्प रोज्न सक्ने चेतावनी समेत दिएका छन् । 

अमेरिकाले खाडी क्षेत्रमा दुईवटा विमानवाहक जहाज तैनाथ गरेर इरानमाथि दबाब बढाएको छ। अमेरिकी युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरानी तटबाट ७०० किलोमिटरको दूरीमा रहेको र यसले जुनसुकै बेला आक्रमण गर्न सक्ने अवस्था देखिएको छ ।

यता इरानले पनि आफ्नो सैन्य शक्ति प्रदर्शन गर्दै अमेरिकी युद्धपोत डुबाउन सक्ने चेतावनी दिएको छ। इरानी सर्वोच्च नेता आयतुलला खामेनीले खतरनाक हतियारभन्दा पनि त्यसलाई डुबाउन सक्ने हतियार बढी खतरनाक हुने भन्दै अमेरिकालाई चुनौती दिएका छन् । 

वार्ता सुरु हुनै लाग्दा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले रणनीतिक रूपमा महत्त्वपूर्ण ’स्ट्रेट अफ हर्मुज’ मा सैन्य अभ्यास सुरु गरेको छ। सुरक्षा सतर्कताको नाममा इरानले विश्वकै प्रमुख तेल निर्यात मार्गको केही हिस्सा अस्थायी रूपमा बन्द गरिदिएको छ, जसले विश्व बजारमा तेलको मूल्य बढ्न सक्ने त्रास पैदा गरेको छ ।

गत वर्ष इजरायलले इरानका परमाणु केन्द्रहरूमा गरेको आक्रमण र अमेरिका समेत संलग्न भएर १२ दिनसम्म चलेको युद्धपछि कूटनीतिक प्रयासहरू ठप्प भएका थिए । अहिले पुनः सुरु भएको यो वार्ताले युद्धको सम्भावना टार्छ या केवल सैन्य तयारीका लागि समय लिने बहाना मात्र बन्छ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप