चुनावी घोषणापत्रमा एमालेको २५ बाचा : २० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण
सारांश
- नेकपा एमालेले 'समृद्ध नेपाल, सुखी नेपाली' बनाउने घोषणापत्र सार्वजनिक गरेको छ।
- घोषणापत्रमा महिला, युवा, श्रमिक र विपन्न वर्गलाई लक्षित कार्यक्रमहरू समावेश गरिएका छन्।
- एमालेले शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा जोड दिँदै विभिन्न योजना अघि सारेको छ।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको घोषणापत्रको खण्ड ‘ङ’ र ‘च’ मा पार्टीले आफ्नो नेतृतवमा सरकार गठन भएमा गर्ने तत्कालका कामहरू र दीर्घकालीन विकासका २५ वटा आधारस्तम्भहरूलाई मुख्य बाचाका रूपमा अघि सारेको छ।
एमालेले विशेषगरी महिला, युवा, विद्यार्थी, श्रमिक र विपन्न वर्गलाई लक्षित गरी लोकप्रिय कार्यक्रमहरू घोषणा गरेको छ।
घोषणापत्रमा एमालेले महिला तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। जसअनुसार घट्दो जनसंख्या वृद्धिदरलाई सन्तुलनमा ल्याउन र मातृशिशु स्वास्थ्य सुधार गर्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ पोषण भत्ता दिने घोषणा गरिएको छ।
साथै, गर्भवती महिलाको ५ लाखसम्मको जीवन बीमा निःशुल्क गर्ने र उनीहरूको स्वास्थ्य परीक्षण तथा यातायात खर्च दोब्बर गर्ने प्रतिबद्धता एमालेले जनाएको छ। महिला उद्यमशीलता विकासका लागि २० लाख रुपैयाँसम्मको निर्व्याजी ऋण र विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने एमालेको योजना छ।
युवा तथा विद्यार्थीहरूका लागि एमालेले विशेष प्याकेज ल्याएको छ। प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्मको निर्व्याजी ऋण उपलब्ध गराउने र उनीहरूलाई पढ्दै कमाउँदै गर्ने वातावरण निर्माण गर्न ‘इन्टर्नसिप’ को व्यवस्था गरिनेछ।
सूचना प्रविधि र स्टार्टअपमा लाग्ने युवाहरूलाई अन्तर्राष्ट्रिय कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले १० हजार डलर बराबरको ‘डलर कार्ड’ उपलब्ध गराउने तथा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई वार्षिक रूपमा मासिक १० जीबी डाटा निःशुल्क दिने बाचा पनि घोषणापत्रमा समेटिएको छ।
श्रमिक र विपन्न वर्गको उत्थानका लागि एमालेले न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले वैधानिक बाटोबाट विप्रेषण (रेमिट्यान्स) पठाएमा उनीहरूको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ थप बोनस सरकारले जम्मा गरिदिनेछ।
यसैगरी, गरिब तथा विपन्न परिवारले सहकारी तथा वित्तीय संस्थाहरूबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने र उनीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने एमालेको प्रतिबद्धता छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न एमालेले शिक्षकहरूको मर्यादाक्रम तोक्ने, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने र स्वास्थ्य स्वयंसेविकाको भत्ता बढाएर २० हजार पुर्याउने घोषणा गरेको छ।
सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न उनीहरूको सम्मान र कल्याणका विशेष कार्यक्रमहरू सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ। यसका साथै, एमालेले समृद्धिका २५ स्तम्भहरू अन्तर्गत अर्थतन्त्रको आकार १० वर्षमा २०० खर्ब पुर्याउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने, सुरक्षित आवास र आधुनिक सहर निर्माण गर्ने र पूर्व–पश्चिम रेलमार्ग तथा मेट्रो रेल जस्ता ठूला पूर्वाधारहरू निर्माण गरी मुलुकको मुहार फेर्ने संकल्प गरेको छ।
डिजिटल नेपाल, सुशासन, कृषिमा आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणलाई पनि एमालेले प्रमुखताका साथ समावेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण