दशकदेखि चुनावी एजेण्डा बन्दै आएको सालझण्डी-ढोरपाटन सडक
सारांश
- बागलुङको सालझण्डी-ढोरपाटन सडक चुनावी एजेण्डा बन्दै आएको छ, तर निर्माण कार्यले गति लिएको छैन।
- सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीय र पर्यटकले सास्ती खेप्नुपरेको छ, जसले गर्दा पर्यटनमा नकारात्मक असर परेको छ।
- निर्माण कम्पनीले म्याद थप गरेर काम गरिरहेको छ, तर तोकिएको समयमा काम सम्पन्न हुनेमा स्थानीय शङ्का व्यक्त गर्छन्।
बागलुङ । हरेक चुनावका बेला एजेण्डा बन्छ, सालझण्डी–ढोरपाटन सडक । यसपालि पनि निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारले यही सडक बनाउने एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पहाड र तराई जोड्ने गरी २०७१ सालमा ट्रयाक खुलेको सडकको दुरावस्था छ । बागलुङ क्षेत्र नम्बर २ मा पर्ने यो सडकखण्डमा सामान्य काम भए पनि धेरैजसो स्थानको अवस्था बेहाल छ ।
हिउँदमा धुलो र बर्खाको हिलोले सडक छेउछाउका स्थानीय आजित बनेका छन् । निसीखोला गाउँपालिका–७ राजकुटदेखि गुल्मी र प्युठानसँग जोडिएको सिमाना गङ्गरे खण्डमा सामान्य सवारी साधन गुड्ने भए पनि बुर्तिबाङ–ढोरपाटन खण्डमा भने आन्तरिक तथा बाह्य पर्यटकको चाप हुने गरेको छ । यही खण्डलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाउने गरेका छन् । ढोरपाटनसम्मको करिब ३५ किलोमिटर सडक साँघुरो र अप्ठ्यारो हुँदा स्थानीयसहित पर्यटकले सास्ती खेप्नु परेको छ ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने एक प्रमुख सडक लामो समयसम्म स्तरोन्नति नहुँदा राजनीतिक नेतृत्वलाई गिज्याइरहेको छ । यात्रुको चाप हुने बुर्तिबाङ–फल्लेघरसम्म पहिलो खण्ड करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौंले जिम्मा पाएको थियो । २०८० वैशाखमा ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी २०७८ साल कात्तिक ५ गते सम्झौता भएको थियो ।
निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ । उक्त म्याद पनि आगामी २०८३ जेठसम्म रहेको छ । २५ करोड ६१ लाख ३१ हजार १६६ रुपैयाँमा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिइन् ।
खल्लेघरदेखि देउरालीसम्मको तीन किलोमिटर कालोपत्रका लागि ‘पीटीआर अधिकारी कन्स्ट्रक्सन’सँग १६ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको उनी बताउँछिन् । अहिले सडक फराकिलो बनाउने, नाला निर्माण लगायत काम भइरहेको छ भन्दै आगामी २०८४ असारसम्म सक्नुपर्ने काम हालसम्म १२ प्रतिशत मात्र सम्पन्न भएको उनले जानकारी दिइन् । २०६८ सालमा रूपन्देहीको सालझण्डीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ ।
रूपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन सकेको छैन । बुर्तिबाङदेखि ढोरपाटन जोड्नका लागि २०७१ सालमा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थानदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जोडेको छ ।
सडक स्थापना भएपछि २०७६ मा भएको उपनिर्वाचनसहित चारवटा निर्वाचनमा नेताहरुले यो सडकलाई आफ्नो प्रमुख एजेण्डाका रुपमा लिएको ढोरपाटनका मनबहादुर विक बताउँछन् । चुनावका बेला भोट माग्न आउने उम्मेदवारले सधैँ अपुरा वाचा गरेको भन्दै यसपालि मत दिँदा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘सुरुसुरुमा त यो सडक बनेपछि सजिलो होला, नेताहरुले काम गर्लान् भन्ने लागेको थियो । यो बाटो बनाउँछौँ भनेर भोट मागेका नेता कहाँ–कहाँ पुगे तर यसको हालत उस्तै छ, यसपालि पनि हामीलाई जिताउनुस्, हामी बनाउँछौं भन्दै आएका थिए । उनीहरुको कुरा विश्वास नै लागेन,’ विक भन्छन् ।
सडकको दुरावस्थाका कारण ढोरपाटन क्षेत्रका हजारौँ नागरिकले दुःख पाउनु परेको स्थानीय तुलासा घर्ती मगर बताउँछिन् । यस क्षेत्रका धेरैजसो स्थानीय ढोरपाटन र बोबाङ क्षेत्रमा घुम्ती बसाइँ गर्ने हुँदा सामान ढुवानी र यात्रा गर्दा सास्ती खेप्नु परेको उनको भनाइ छ । नेताले कामभन्दा गफ मात्रै बढी गर्दा यस क्षेत्रका जनताले दुःख पाएको मगरले बताइन् ।
‘दशौँ वर्ष भयो यो सडक खुलेको अहिलेसम्म सररर गाडी गुड्ने हुन सकेन । साँघुरो सडकका कारण गाडी दुर्घटना हुँदा धेरैले ज्यान गुमाउनु पर्यो । अझै कतिले ज्यान गुमाउनु पर्ने हो ?,’ उनी भन्छिन्, ‘सही नेतृत्व परेको भए अहिलेसम्म काम सकिन्थ्यो होला । अहिले ठेकेदारले अलिअलि काम गरि रहेको छ ।’
सडकको दुरावस्थाले सास्तीमा पर्यटक
ढोरपाटन उपत्यकासहित पछिल्लो समय बुकीपाटन, जलजला र निसेलढोर जाने पर्यटक बढेका छन् । हरेक वर्ष ढोरपाटन आउने आन्तरिक तथा बाह्य पर्यटक बढे पनि सडकको अवस्था सुधार नहुँदा बिच बाटोमा अलपत्र पर्ने अवस्था छ । कतिपय पर्यटक सडक अप्ठ्यारो हुँदा बिचबाटै फर्किने गरेको पाइन्छ । बर्खामा ढोरपाटन क्षेत्र हरियालीमय बन्छ ।

विशाल उपत्यकामा फुलेका रङ्गीचङ्गी फूलसँग रमाउन र बुकीपाट पुग्ने हजारौँ पर्यटकका लागि वैकल्पिक सडक छैन । त्यसो त उही साँघुरो र अप्ठ्यारो सडक प्रयोग गर्न बाध्य हुन्छन् । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारदेखि उकालो लाग्ना साथ पर्यटकले सास्ती पाउन थाल्छन् । सडकको दुरावस्थाका कारण एक पटक ढोरपाटन पुगेको पर्यटकले अर्को पटक जानका लागि धेरै पटक रोच्न बाध्य हुन्छ ।
ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुन बुर्तिबाङ–ढोरपाटन सडकका कारण पर्यटकले सास्ती पाएको बताउँछन् । बर्खाको समयमा गाडी बिच सडकमा बिग्रिँदा कतिपय पर्यटक ढोरपाटन पुग्न नपाइ बिचबाटै फर्किनु परेको उनी सुनाउँछन् ।
‘ढोरपाटन, बुकीपाटन र जलजला क्षेत्रको व्यापक प्रचारपछि देश विदेशबाट घुम्न आउने पर्यटकको संख्या बढेको छ । यहाँ आउने धेरैले सडकको बारेमा गुनासो गर्नुहुन्छ,’ उनी भन्छन्, ‘कति बिच बाटोमै गाडी बिगारेर ढोरपाटन उक्लिन नपाई फर्किनुहुन्छ । हामीहरुले गरेर नहुने । सरोकारवाला निकायलाई भनिरहेका हुन्छौं । अब त हुन्छ कि भन्ने आश छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण