सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : कञ्चनपुर-२

कञ्चनपुर–२ का मतदाताको गुनासै गुनासो

शुक्रबार, ०८ फागुन २०८२, ११ : १५
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • कञ्चनपुर क्षेत्र नम्बर २ मा निर्वाचन नजिकिँदै गर्दा मतदातामा खासै उत्साह देखिएको छैन।
  • मतदाताहरूले वर्षौंदेखिका समस्या समाधान नगरेको भन्दै गुनासो गरेका छन्, जसमा रोजगारीको अभाव र जंगली जनावरको आतंक प्रमुख छन्।
  • स्थानीय बासिन्दाहरूले गाँस, बास र कपासको ग्यारेन्टी खोजिरहेका छन्, साथै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको अपेक्षा राखेका छन्।

कञ्चनपुर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गए पनि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का मतदातामा खासै उत्साह देखिएको छैन । विभिन्न दलका उम्मेदवार र कार्यकर्ताहरू चुनाव प्रचारप्रसार कार्यक्रम अन्तर्गत टोल–टोलमा पुगे पनि मतदातामा खासै प्रभाव पर्न सकेको छैन ।

यस क्षेत्रमा आरक्षबाट विस्थापितदेखि सुकुमबासी, अव्यवस्थित बसोबासीका समस्या वर्षौंदेखि चुनावी मुद्दा बन्दै आएका छन् । यद्यपि, यी समस्या समाधानमा दलहरू तथा निर्वाचित जनप्रतिनिधिले खासै ध्यान नदिएको मतदाताको गुनासो छ । रोजगारीको अभावमा भारत लगायत खाडी मुलुकमा युवा जनशक्ति धाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

यो दलले गर्छ कि, त्यो दलले गर्छ कि भन्ने आशमा आफूहरूले पटक–पटक निर्वाचनमा मत फेर्ने गरेको मतदाता खुलेर बताउँछन् । यद्यपि अहिलेसम्म आफूहरूका समस्या समाधानमा पहल नभएको उनीहरूको गुनासो छ । जङ्गली जनावरको आतङ्कले पनि यहाँका मतदाता पीडित छन् ।

ग्रामीण क्षेत्रका मतदातामा ठुला अपेक्षा देखिँदैनन् । उनीहरू गाँस, बास र कपासको न्यूनतम आवश्यकता पूरा हुन सक्ने ग्यारेन्टी खोजिरहेका छन् । बालबालिकालाई सहज र गुणस्तरीय शिक्षा, बिरामी भएको समयमा सहजै औषधि उपचारको व्यवस्था, मेहनत–मजदुरी गर्न सक्ने उमेरसमूहका जनशक्तिका लागि रोजगारीका अवसर र उचित पारिश्रमिकको व्यवस्था यहाँका मतदाताको मुख्य अपेक्षा हो ।

शुक्लाफाँटा नगरपालिका–१०, घटाल टोलकी धना बोहरा चुनावप्रति उत्साहित छैनन् । ‘चुनाव आएर के गर्नु ? यो त नेताहरूका लागिमात्र हो,’ उनले भनिन्, ‘भोट दिँदादिँदै यो उमेर भइसक्यो, हामीलाई के उपलब्धि भयो र ?’

WhatsApp Image 2026-02-19 at 23.30.34

धनाको परिवारसँग २/३ कट्ठा ऐलानी जग्गा छ । सोही जग्गामा एउटा सामान्य घर बनाएर गुजारा चलाउँदै आएको उनको परिवारसँग आयआर्जनको भरपर्दो स्रोत छैन । छोरा मजदुरीका लागि भारत गएको बताउँदै उनले देशमै रोजगारीको अवसर भइदिए यो अवस्था झेल्नु नपर्ने सुनाइन् ।

‘छोराले भारततिर गएर कमाएको पैसाले नै हाम्रो गुजारा चल्छ,’ उनले भनिन्, ‘यहाँ आम्दानीको अरु केही बाटो नै छैन । हामी बुढेकालमा कता के काम गर्न जाऔँ ? छोराले कमाएको पैसा र श्रीमानले पाउने सामाजिक सुरक्षा भत्ताले जसोतसो गुजारा चलेको छ ।’

आफूले भने सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उनले बताइन् । यद्यपि के कारणले सामाजिक सुरक्षा भत्ता नपाएको हो भन्ने पनि राम्रो जानकारी नभएको उनको भनाइ छ ।

बेदकोट नगरपालिका–१० हरपाल टोलकी दिप्ती भट्ट त राजनीति र नेता भन्नासाथ आक्रोश पोख्छिन् । बिहीबार उनी सिमेन्टका खाली बोरा स्याहार्दै आफ्नो आँगनमा बसिरहेको समयमा घर अगाडि नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंह आफ्ना केही कार्यकर्तासहित घरदैलो कार्यक्रममा पुगेका थिए ।

दिप्तीले न उम्मेदवारको कुरा सुन्न चाहिन्, न त्यतातिर कुनै चासो नै देखाइन् । आफ्नो काममै एकसुरले लागिरहेकी उनलाई हामीले सोध्यौँ, ‘तपाईंकै घर अगाडि आएर उम्मेदवारले आफ्ना कुरा राख्नुभयो, तपाईंले वास्तै गर्नु भएन नि ?’

तत्कालै उनले जबाफ फर्काइन्, ‘उनीहरूको कुरा सुनेर हामीलाई के हुने हो र ? अहिले त उनीहरूले जे पनि गरिदिन्छु भन्छन्, भोट चाहिएको छ । चुनावपछि यिनले हामीलाई सोधखोज गर्छन् र ? आफ्ना दुःख आफैँसँग हुन्छ ।’

आफ्नो घरछेउमै नदीले कटान गर्दै आएको उनको भनाइ छ । ‘विगतका कैयौँ चुनावमा नदी कटान नियन्त्रण गर्ने प्रतिबद्धता जनाइसकेका दल र उम्मेदवारहरू चुनावपछि फर्केर पनि नआउने, बाढी आएको समयमा हारगुहार गर्दा पनि हेर्न नआउने ! अनि जब चुनाव आउँछ, बाटोघाटोदेखि नदी कटान नियन्त्रण, रोजगारी लगायतका सबै काम गरिदिन्छु भनेर भोट माग्दै आउँछन् । यिनलाई कति विश्वास गर्नु ?’

Shere Lohar.JPG

बेदकोट नगरपालिका–५ का शेरे लोहार भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव प्रसाद पन्तको चुनाव प्रचार कार्यक्रममा पार्टीको चुनाव चिह्न अंकित झन्डा नै बोकेर हिँडेका भेटिए । उम्मेदवारसँगै चुनाव प्रसारप्रसार कार्यक्रममा हिँडेका उनीसँग पनि प्रशस्त गुनासो छ ।

उनले खोलामा पुल नभएको, कटानको समस्या भएको, रोजगारीको अवसर सिर्जना नभएको गुनासो गरे । ‘हामीजस्ता सामान्य मानिसलाई बाँच्न पनि गाह्रो छ,’ उनले भने, ‘केही काम पाइँदैन । पहिला मिस्त्रीको काम गर्थें । अहिले त्यति काम पनि छैन । ४–५ कट्ठा ऐलानी जमिन छ । त्यसबाट खान पुग्दैन ।’

कार्यकर्ताका रूपमा पहिलादेखि नै चिनिएका कारण चुनाव प्रचारमा हिँडेको बताउने उनले आफूले सघाएको उम्मेदवारबाट केही भइहाल्छ कि भन्ने अपेक्षा गरेको प्रस्ट पारे ।

बेदकोट–६ का टेकसिंह रानामा उस्तै वितृष्णा छ । आफ्नै सहोदर भाइ वडाअध्यक्ष भए पनि उनीचाहिँ अब वैकल्पिक शक्तिबाट मात्र जनताको अवस्था सुधार हुने जिकिर गर्छन् । ‘पुराना सबै दल हेरिसकियो । उनीहरूले सरकार चलाएको पनि देखियो । अब नयाँलाई हेर्ने हो,’ उनले भने ।

Tek sing Rana.JPG

कृष्णपुर–४ का हेलकुमार डगौरा आरक्षबाट विस्थापित छन् । आफूहरू मुख्य रूपमा बसोबासको समस्या झेलिरहेको उनले बताए । ०२४ सालदेखि आफू बसोबास गरेको ठाउँ ०५८ सालमा छाड्नु परेको उनको गुनासो छ । त्यस यता ८ ठाउँमा सरिसके पनि स्थायी बसोबासको व्यवस्था हुन नसकेको उनले सुनाए ।

बेदकोट निवासी पार्वतीदेवी रोस्यारा पनि विस्थापित परिवारकै सदस्य हुन् । ‘हामीले बसोबास नपाएको वर्षौं भइसक्यो । राज्यले हामीलाई बासको व्यवस्था गर्न त सक्दैन भने यी नेतालाई के आधारमा भोट दिने ?’ उनले प्रश्न गरिन् ।

Parbati devi Rosyara.JPG

अब आफूहरूलाई आश्वासन होइन, बसोबासको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप