सात महिनाको वैदेशिक व्यापार : निर्यातमा ३२ प्रतिशतको वृद्धि, आयात ११ खर्ब नाघ्यो
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार बढेको छ।
- निर्यातमा ३२.१९ प्रतिशतले वृद्धि हुँदा आयात १३.६५ प्रतिशतले बढेको देखिन्छ।
- आयात-निर्यात अनुपातमा सुधार आएको छ, तर व्यापार घाटा बढेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) मा नेपालको वैदेशिक व्यापारको आकार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको हो।
विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल वैदेशिक व्यापार करिब १३ खर्ब रुपैयाँ (१२ खर्ब ९१ अर्ब ६३ करोड) पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कुल व्यापार ११ खर्ब १५ अर्ब रुपैयाँ रहेको थियो।
चालु आवको सात महिनाको अवधिमा नेपालको निर्यात व्यापारमा उल्लेख्य सुधार देखिएको छ । विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत वर्षको माघसम्म १ खर्ब २७ अर्ब २० करोडको मात्र निर्यात भएको थियो ।
आयात र व्यापार घाटाको अवस्था
निर्यातसँगै आयातको आकार पनि बढेको छ । सात महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत वर्षको तुलनामा १३.६५ प्रतिशतले बढी देखिएको छ ।
निर्यात बढे पनि आयातको उच्च परिमाणका कारण व्यापार घाटाको आकार भने वृद्धि भएको छ ।
माघसम्ममा मुलुकको व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले व्यापार घाटा १०.९१ प्रतिशतले बढेको देखिन्छ ।
आयात–निर्यात अनुपातमा सुधार
निर्यातको वृद्धिदर आयातको भन्दा उच्च हुँदा आयात–निर्यात अनुपातमा भने सुधार देखिएको छ । गत वर्ष नेपालले १ रुपैयाँको निर्यात गर्दा ७.७७ रुपैयाँको आयात गरिरहेको थियो । तर यो वर्ष त्यो अनुपात घटेर ६.६८ मा झरेको छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । गत वर्ष ११.४० प्रतिशत रहेको निर्यातको हिस्सा बढेर चालु आर्थिक वर्षमा १३.०२ प्रतिशत पुगेको छ । यता आयातको हिस्सा भने ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण