सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचनकाे असर

चुनावी माहोलले मेला-महोत्सव प्रभावित हुँदा फुर्सदिला बने कलाकार

शनिबार, ०९ फागुन २०८२, ०८ : ४२
शनिबार, ०९ फागुन २०८२

सारांश

  • फागुनमा हुने मेला, महोत्सव तथा सांगीतिक कार्यक्रमहरू निर्वाचनका कारण प्रभावित भएका छन्।
  • गायिका एलिना चौहानले चुनावका कारण कार्यक्रम कम भएको र दर्शकको कमी भएको बताइन्।
  • चुनावले गर्दा कलाकारहरू चुनावी प्रचारप्रसार र गीत रेकर्डिङमा व्यस्त भएका छन्।

काठमाडौँ । विगतका वर्षहरूलाई फर्केर हेर्ने हो भने फागुनमा गाउँदेखि सहरसम्म विभिन्न मेला, महोत्सव र सांगीतिक कार्यक्रम आयोजना हुन्थे । देशभरका गाउँ-सहरमा लाग्ने मेला–महोत्सवले कलाकारहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस पटकको दृश्य भने भिन्न देखिन्छ ।

फागुनमा गाउँघरमा यतिबेला सांगीतिक मेला-महोत्सव होइन, नेताहरूका चुनावी सभा र नाराहरू गुञ्जिरहेका छन्, किनकि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यसैले देशको राजनीतिक माहोल निरन्तर तात्दै जाँदा सांगीतिक माहोल भने चिसिन थालेको छ । मेला–महोत्सवको ‘पिक सिजन’ मानिने फागुन महिनामा चुनावका कारण सांगीतिक क्यालेन्डर प्रभावित बनेको हो ।

चुनावले मेला–महोत्सवलाई कतिसम्म प्रभाव पारेको छ भन्ने बुझ्न गायिका एलिना चौहानलाई हेरे पुग्छ । गत माघ महिना उनको धपेडीमै बित्यो । २९ दिनको महिनामा उनले २९ वटै मेला–महोत्सव भ्याइन् । अझ समय मिलाउन नसकेका कारण उनले १२ वटा जति कार्यक्रम छोड्नुपर्‍यो । यो फागुनमा भने बिहीबार उनले बर्दियाको गुलरियामा कार्यक्रम गरिन् ।

चुनावको आचारसंहिता र प्रशासनको कडाइका कारण फागुनमा हुने भनिएका महोत्सवहरू केही माघमै सारिए, केही स्थगित भएको एलिना बताउँछिन् ।

‘आयोजना भएका केही कार्यक्रममा पनि दर्शकहरू एकदम कम देखिएका छन्,’ गायिका चौहान भन्छिन्, ‘भोट हाल्न मान्छेहरू आफ्नो गाउँ फर्किएका छन् ।’ दर्शक नै नभएपछि कार्यक्रम स्वतः प्रभावित हुने नै भयो । चुनावको बेला कार्यक्रमका लागि प्रशासनबाट अनुमति नमिल्ने भएकाले पनि कार्यक्रम आयोजना हुन नसकिरहेको उनी सुनाउँछिन् ।

alina

करिब एक महिना लामो बसाइका लागि केही दिनमै अस्ट्रेलिया उड्ने तयारीमा रहेकी एलिना त्यहाँ १५ वटा जति कार्यक्रम गर्ने तय भएको सुनाउँछिन् ।

सुदूरपश्चिमकी चर्चित गायिका लक्ष्मी आचार्य स्टेज कार्यक्रममा व्यस्त भइरहनेमा पर्छिन् । गत वर्ष फागुनमा १५ बढी स्टेज कार्यक्रम भ्याएकी उनी यसपटकको अवस्था देखेर आफैँ छक्क छिन् । गत माघमा एक दर्जन हाराहारी कार्यक्रम गरेकी आचार्यले फागुनमा एक पटक पनि स्टेज चढेकी छैनन् । मेला–महोत्सवबाट फुर्सदको समय भएकाले आफू अहिले धनगढी घुमघाममा निस्किएको आचार्य बताउँछिन् ।

laxmi

‘फागुन र चैत हाम्रो लागि कार्यक्रमको मुख्य सिजन हो । तर चुनावकै कारण यो महिना कार्यक्रमहरू ठप्प जस्तै छन्’, गायिका आचार्य भन्छिन्, ‘माघबाटै प्रभावित हुन थालेको सांगीतिक कार्यक्रम फागुनमा त शून्य नै भयो भन्दा पनि हुन्छ ।’

विगतका वर्षहरूमा माघ र फागुनमा थुप्रै कार्यक्रममा सहभागी हुँदै आएकी कलाकार हुन् लोकगायिका अस्मिता डल्लाकोटी । यस वर्ष धेरै कार्यक्रममा कार्यक्रममा सहभागी हुन पाएकी छैनन् । माघमा पाल्पा, स्याङ्जा लगायत जिल्लाका चार-पाँचवटा कार्यक्रम गरेकी उनले फागुनमा अहिलेसम्म एक पटक पनि स्टेज उक्लिन पाएकी छैनन् । अब होलीका लागि एउटा कार्यक्रम तय भएको बाहेक फागुनमा आफ्नो अन्य कार्यक्रम नरहेको उनी बताउँछिन् ।

asmita

‘गत वर्षको फागुन महिनामा कार्यक्रम भइरहन्थे र म राम्रै व्यस्त हुन्थेँ । तर अहिले भने चुनावी माहोलले गर्दा त्यस्तो छैन’, अस्मिता भन्छिन्, ‘आयोजकहरूसँग मेरो प्रत्यक्ष कुराकानी त भएको छैन, तर कतै पनि कार्यक्रम नभएपछि चुनावकै कारण मेला-महोत्सवहरू प्रभावित भएका हुन् भन्ने मलाई लाग्छ ।’

नेताहरू गाउँ–गाउँ जाने र चुनावी प्रचारप्रसार हुने भएकाले पनि आयोजकहरूले कार्यक्रम नराखेको हुन सक्ने उनको अनुमान छ । ‘स्टेज कार्यक्रम र मेला-महोत्सव नभए पनि अहिले म आफ्नै अफिसियल गीतहरूको रेकर्डिङ र अलि–अलि लाइभ दोहोरीहरू गाउनमा व्यस्त नै छु’, उनी सुनाउँछिन् ।

गायिका शान्तारानी परियारको अवस्था पनि उस्तै छ । माघमा लगभग ३० दिन नै जस्तो सांगीतिक कार्यक्रममा व्यस्त रहेकी शान्तरानी फागुन ३ गतेपछि भने नेपालका स्टेजमा देखिएकी छैनन् । चुनावले नेपालका कार्यक्रम घटेपनि उनी अहिले हङकङ पुगेर उनले सांगीतिक प्रस्तुति दिइरहेकी छिन् ।

shanti

‘अब फाट्टफुट्ट एउटा–दुइटा कार्यक्रम मात्र हुन सक्छन्, सायद होलीको मात्र कार्यक्रम होला’, गायिका परियार भन्छिन्, ‘विगतका वर्षहरूमा हेर्ने हो भने यही फागुन महिनामा अत्याधिक प्रोग्रामहरू आयोजना हुन्थे ।’

मेला–महोत्सव प्रभावित भएपछि कतिपय कलाकार गीत रेकर्डिङ र कतिपय आफू निकट पार्टीको चुनावी प्रचारप्रसारमा देखिएका छन् । लोकगायिका राधिका हमाल चुनावी प्रचारमा सहभागी भइरहेकी छिन् । माघमा करिब आधा दर्जन कार्यक्रममा प्रस्तुति दिएकी उनी मेला-महोत्सव ठप्प भएकाले चुनावी प्रचारमा लागेको बताउँछिन् ।

‘विगतमा महिनाको ३० दिनमा करिब २२ दिन म स्टेजमै हुन्थेँ’, राधिका भन्छिन्, ‘तर अहिले चुनावको आचारसंहिता लागु भएकाले धेरै मान्छे जम्मा गर्न पाइँदैन । प्रशासनले पनि नयाँ कार्यक्रम गर्न स्वीकृति दिएको छैन ।’

radika

चुनावका कारण मेलामहोत्सव मात्र होइन, लोक तथा दोहोरी गीत प्रतिष्ठानले फागुन १ देखि ३ गतेसम्म गर्ने भनेको केन्द्रीय महाधिवेशन नै रोकिएको छ । ‘भावना एमुजेन्ट’ मार्फत मेला महोत्सवको व्यवस्थापन गर्दै आएका गणेश हमाल चुनावले सिंगो इभेन्ट म्यानेजमेन्ट क्षेत्रलाई प्रभाव पारेको बताउँछन् ।

‘कात्तिकदेखि फागुनसम्मको समय मेला–महोत्सवका लागि गोल्डेन पिरियड मानिन्छ । तर अहिले देश पूर्ण रूपमा चुनावी रंगमा रंगिएकाले सिडिओ कार्यालय र स्थानीय प्रशासनले कार्यक्रम गर्न अनुमति नै दिएका छैनन्’, उनी भन्छ,न् ‘अनुमति मिलिहाल्यो र कार्यक्रम गरिहाले पनि दर्शक आउने सम्भावना एकदमै कम हुन्छ ।’

अब चुनाव सकिएपछि चैत महिनादेखि कार्यक्रमहरू सुरु हुने झिनो आशा रहेको उनी बताउँछन् । ‘तर गर्मी महिना सुरु हुने भएकाले जाडोको तुलनामा दर्शकको घनत्व कम हुने र व्यापार नहुने डर हुन्छ ।‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप