बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्यस्थलमा रक्सी पिएका कारण निकालिएका कर्मचारीले जिते मुद्दा, कम्पनीले उल्टै क्षतिपूर्ति तिर्नुपर्ने

बुधबार, १३ फागुन २०८२, १२ : ५३
बुधबार, १३ फागुन २०८२

सारांश

  • स्पेनको एक अदालतले ड्युटीमा रक्सी पिएका कर्मचारीलाई क्षतिपूर्ति दिन आदेश दिएको छ।
  • कर्मचारीले लन्च ब्रेकमा रक्सी पिए पनि अदालतले त्यसलाई कार्यस्थलको अनुशासन उल्लंघन मानेन।
  • अदालतले कर्मचारीको कार्यसम्पादनमा ह्रास आएको वा कसैको ज्यान जोखिममा परेको प्रमाण नभएको ठहर गर्यो।

मड्रिड । कार्यस्थलमा मादक पदार्थ सेवन गर्नु सामान्यतया जागिरबाट निकालिने पक्का आधार मानिन्छ, तर स्पेनको एक अदालतले यस सम्बन्धमा एउटा अनौठो र निकै चर्चामा रहने फैसला सुनाएको छ । ड्युटीकै समयमा पटक-पटक रक्सी पिएको भन्दै निकालिएका एक इलेक्ट्रिकल कर्मचारीलाई अदालतले ४७ हजार युरो क्षतिपूर्ति दिन कम्पनीको नाममा आदेश जारी गरेको हो ।

ती कर्मचारीको अस्वाभाविक व्यवहारमाथि शंका लागेपछि कम्पनीले उनलाई निगरानी गर्न निजी जासुस नै नियुक्त गरेको थियो । जासुसले बुझाएको रिपोर्टमा ती व्यक्तिले कामकै समयमा बार र पार्किङ स्थलहरूमा बसेर बियर पिउने गरेको उल्लेख थियो ।

एक दिनको लन्च ब्रेकमा मात्रै उनले तीन लिटरसम्म बियर पिएको दाबी गरिएको थियो । कम्पनीका लागि यो गम्भीर अपराध थियो, किनकि ती कर्मचारीले कम्पनीको गाडी चलाउनुपर्थ्यो र रक्सीको नशामा सवारी चलाउँदा अरूको ज्यान जोखिममा पर्न सक्ने भन्दै कम्पनीले उनलाई बर्खास्त गरेको थियो ।

तर, जागिरबाट निकालिएपछि ती कर्मचारीले कम्पनीविरुद्ध अन्यायपूर्ण बर्खास्ती’ को मुद्दा दायर गरे । मर्सियाको उच्च अदालतले सबैलाई अचम्ममा पार्दै कर्मचारीकै पक्षमा फैसला सुनायो ।

अदालतले कर्मचारीको आचरणमा खोट रहेको स्वीकार गरे पनि कम्पनीले दिएको सजाय अत्यधिक भएको ठहर गर्‍यो । न्यायाधीशहरूले कम्पनीलाई दुईवटा विकल्प दिएका छन्, कि त ती कर्मचारीलाई पुनः काममा फर्काउनु पर्नेछ, कि त क्षतिपूर्ति रकम तिर्नुपर्नेछ ।

अदालतले आफ्नो फैसलामा केही रोचक तर्कहरू अघि सारेको छ । पहिलो, लन्च ब्रेकलाई प्राविधिक रूपमा कामको समय मान्न नसकिने र त्यतिबेला पिएको रक्सीलाई कार्यस्थलको अनुशासन उल्लंघनसँग जोड्न नमिल्ने अदालतको ठहर छ । दोस्रो, कम्पनीले रक्सी पिएकै कारण ती कर्मचारीको कार्यसम्पादनमा ह्रास आएको वा कसैको ज्यान जोखिममा परेको ठोस प्रमाण पेश गर्न सकेन ।

साथै, स्पेनको कानुनले कहिलेकाहीँको मातिएको अवस्थालाई मात्र लिएर जागिरबाट निकाल्न निषेध गरेको छ; यस्तो कारबाहीका लागि कर्मचारी नियमित जड्याँहा भएको पुष्टि हुनुपर्छ । जासुसले देखेका घटनाहरूलाई अदालतले ‘फाट्टफुट्ट’ भएको भन्दै सफाइ दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप