शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा उम्मेदवार

जितको ह्याट्रिक निकाल्ने दाउमा १८ उम्मेदवार

बुधबार, १३ फागुन २०८२, १९ : ३०
बुधबार, १३ फागुन २०८२

सारांश

  • आगामी निर्वाचनमा १८ जना उम्मेदवार जितको ह्याट्रिकको लागि प्रतिस्पर्धा गर्दैछन्।
  • अधिकांश नेताहरू पुरानै क्षेत्र र दलबाट उम्मेदवार बनेका छन्, तर केहीले दल र क्षेत्र परिवर्तन गरेका छन्।
  • यो लेखमा दुई पटक जितेका र तेस्रो जितको खोजीमा रहेका नेताहरूको बारेमा चर्चा गरिएको छ।

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १८ उम्मेदवार जितको ह्याट्रिक दाउमा छन् । त्यस्ता अधिकांश नेताहरू पुरानै निर्वाचन क्षेत्र र राजनीतिक दलबाट यसपटक पनि उम्मेदवार बनेका छन् । यद्यपि केहीले भने निर्वाचन क्षेत्र र राजनीतिक दल फेरेका छन् । 

त्यसो त तीन पटकभन्दा बढी जित निकाल्ने नेताहरू पनि यसपटक मैदानमा छन् । नेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, यसै पार्टीका सहसंयोजक माधवकुमार नेपाल, वर्षमान पुन, देवेन्द्र पौडेल शक्तिबहादुर बस्नेत, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्मा, एमालेकै उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, दामोदर भण्डारीसहित नेताहरू तीनपटक भन्दा बढी जित निकाल्ने खोजीमा छन् । 

तर यस लेखमा हामीले दुई पटक लगातार जितेका र तेस्रो जितको खोजीमा रहेका नेताहरूबारे चर्चा गरेका छौँ । यस्तो दौडमा नेपाली कांग्रेसका ५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ४ र एमालेका ४ नेता छन् । बाँकी अन्य दलका पनि छन् । 

कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, तेजुलाल चौधरी, देवप्रसाद तिमल्सेना, मोहन आचार्य र सञ्जय गौतम जितको ह्याट्रिकको खोजीमा छन् । त्यस्तै नेकपाका अमनलाल मोदी, मेटमणि चौधरी, हितबहादुर तामाङ र प्रेम आले पनि यो सूचीमा अटाउँछन् । 

यस्तै एमालेका एलपी सावा, रघुवीर महासेठ, राजेन्द्र राई र पदम गिरी पनि तेस्रोपटक जित्न खोजिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तथा प्रदीप यादव र राजकिशोर यादव पनि यही लाइनमा छन् । 

एलपी सावा– नेकपा एमाले  

झापा–४ मा नेकपा एमालेबाट उम्मेदवार रहेका एलपी सावा लिम्बू तेस्रो पटक चुनावी मैदानमा छन् । उनले एमालेबाट उम्मेदवार बन्दै २०७४ र २०७९ को निर्वाचन जितसकेका छन् । ०७४ मा सावा ४३ हजार ५१५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवे निकटतम प्रतिद्वन्द्वीे दिए । थेवेले २६ हजार ८२२ मत ल्याएका थिए । 

२०७९ मा पनि सावाले थेवेलाई नै पराजित गरे । निर्वाचन आयोगको तथ्यांक अनुसार दोस्रो पटक सावाले २९३१५ ल्याएर निर्वाचित हुँदा थेवेले २२ हजार ४४८ मत पाए । अहिले सावासँग कांग्रेसबाट थेवे, नेपाली कम्युनिस्ट पार्टीबाट पुरुषोत्तम चुडाल र रास्वपाबाट शम्भुप्रसाद ढकाल प्रतिस्पर्धामा छन् ।

राजेन्द्र लिङ्देन– राष्ट्रिय प्रजातन्त्र पार्टी

झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन पनि तीन पटक जित निकाल्ने दाउमा छन् । उनले ०७४ र ०७९ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । ०७९ मा लिङ्देनले ४० हजार ६६२ मत ल्याउँदा सिटौलाले ३७ हजार ३८६ मत ल्याए । ०७४ मा लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत ल्याएका थिए । 

अहिले उनीसँग कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, नेकपाबाट डिल्लीराम घिमिरे र रास्वपाबाट प्रकाश पाठक प्रतिस्पर्धामा छन् ।  

अमनलाल मोदी– नेकपा

मोरङ–४ बाट ०७४ र ०७९ मा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्दै निर्वाचित भएका मोदी अहिले नेकपाबाट तेस्रो पटक उम्मेदवार बनेका छन् । अरु पार्टीसँग एकीकरण भएपछि उनको पार्टीको नाम परिवर्तन भएको हो । 

२०७४ मा ३३ हजार ५२९ मत ल्याएर मोदीले कांग्रेस नेता महेश आचार्यलाई हराएका थिए । आचार्यले २६ हजार ८०० मत ल्याएका थिए । ०७९ मा ३० हजार ६१२ ल्याएर निर्वाचित बन्दा मोदीले एमाले उम्मेदवार विनोदप्रसाद ढकाललाई हराएका थिए । ढकालले २४ हजार ४६३ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । मोदीसँग अहिले एमालेबाट जीवन घिमिरे, कांग्रेसबाट गुरुराज घिमिरे र रास्वपाबाट सन्तोष राजवंशी प्रतिस्पर्धामा छन् । 

ज्ञानेन्द्र कार्की– नेपाली कांग्रेस

कांग्रेस नेता कार्की सुनसरी–४ बाट तेस्रो पटक प्रतिस्पर्धामा छन् । ०७९ मा ३० हजार ४८३ मत ल्याएर कार्कीले एमाले उम्मेदवार जगदिशप्रसाद कुसियत निकटतम प्रतिद्वन्द्वी बने । कुसियतले ३० हजार ३७१ मत ल्याए ।०७४ मा कार्की ३२ हजार ३४७ ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याए । 

कार्कीसँग अहिले एमालेबाट कुसियत, नेकपाबाट महमद महफुज अन्सारी र रास्वपाबाट दीपककुमार शाह प्रतिस्पर्धामा छन् । 

राजेन्द्र राई – नेकपा एमाले

धनकुटाबाट दुई पटक लगातार निर्वाचन जितेका एमाले नेता राई अहिले पनि उम्मेदवार छन् । राईले ०७४ र ०७९ मा फरक फरक पार्टीबाट प्रतिस्पर्धामा रहेका सुनिलबहादुर थापालाई पराजित गरेर प्रतिनिधिसभाको यात्रा तय गरेका थिए । ०७४ मा राई ३७ हजार ३३३ मत ल्याएर निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट उम्मेदवार बनेका थापाले २६ हजार ८७४ मत ल्याएका थिए । ०७९ मा राई ३० हजार १०१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका थापाले २८ हजार ७०४ मत ल्याएका थिए । 

राईसँग अहिले कांग्रेसबाट दिनेश राई नेकपाबाट धर्मराज पौडेल र रास्वपाबाट दिनेश भण्डारी प्रतिस्पर्धामा छन् । 

तेजुलाल चौधरी– नेपाली कांग्रेस

सप्तरी–४ बाट कांग्रेस नेता चौधरी तेस्रो प्रतिस्पर्धामा छन् । ०७९ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार वालकिसोर यादवलाई हराएर चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीले २३ हजार ४९१ मत ल्याउँदा यादवले १७ हजार ९७७ मत ल्याएका थिए । 

०७४ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार  मृगेन्द्र कुमार सिंह यादवलाई पराजित गरेका थिए । चौधरीले २४ हजार ११३ मत ल्याउँदा सिंहले १४ हजार ८८६ मत ल्याएका थिए । चौधरीसँग अहिले एमालेका गंगाप्रसाद चौधरी, नेकपामा रुवीकुमारी कर्ण र रास्वपाका सीताराम साह प्रतिस्पर्धामा छन् ।  

देवप्रसाद तिमल्सेना– नेपाली कांग्रेस 

कांग्रेस नेता तिमल्सेना रौतहट–४ बाट तेस्रो पटक सांसद बन्न चुनावी मैदानमा होमिएका छन् । विशेष महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य भएका तिमल्सेनाले ०७४ मा एमाले उम्मेदवार डा. बंशीधर मिश्रलाई हराएका थिए । तिमल्सेनाले २८ हजार २२८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी डा. मिश्रले २३ हजार ६ मत ल्याएका निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । ०७९ मा एमालेकै उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई तिमल्सेनाले हराए । उनले ३४ हजार १६१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रेग्मीले २६ हजार ५५९ मत ल्याएका थिए । 

तिमल्सेनासंग अहिले एमालेका रामजी साह सोनार, नेकपाका रामकुमार भट्टराई र रास्वपाका गणेश पौडेल प्रतिस्पर्धामा छन् । 

प्रदीप यादव 

यादव तेस्रो पटक प्रतिनिधिसभा छिर्न खोजिरहेका छन् । प्रतिनिधिसभा सदस्य भने फरक–फरक पार्टीबाट भएका उनी यस पर्सा–१ बाटै उम्मेदवार छन् । यादवले ०७९ मा जसपा नेपाल पार्टीबाट चुनाव जितेका थिए । त्यतिबेला २२ हजार ५३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदी भए । द्विवेदीले २० हजार ९१७ मत ल्याए । ०७४ मा संघीय समाजवादी फोरमबाट यादवले निर्वाचन जितेका थिए । यादवले  २१ हजार १३२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अनिलकुमार रुगंटा भएका थिए । रुगंटाले १६ हजार ४८१ मत ल्याएका थिए । यादव अहिले एमालेबाट त्यही क्षेत्रमा उम्मेदवार छन् । उनीसँग कांग्रेसबाट उनै रुगंटा, नेकपाबाट अजय चौरसिया र रास्वपाबाट बुद्धिप्रसाद पन्त प्रतिस्पर्धामा छन् । 

राजकिशोर यादव 

यादव राजनीतिक दल र निर्वाचन क्षेत्र पनि परिवर्तन गर्दै तेस्रो पटक प्रतिनिधिसभामा पुग्न चुनावी मैदानमा छन् । ०७४ मा सिराहा–४ बाट राष्ट्रिय जनता पार्टी नेपालको उम्मेदवार बन्दै यादवले जितेका थिए । यादव २१ हजार १४४ मत ल्याएर निर्वाचित हुँदा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अजयशंकर नायक निकटतम प्रतिद्वन्द्वी भए । नायकले १७ हजार ५७५ मत ल्याए । 

२०७९ मा यादवले निर्वाचन क्षेत्र र राजनीतिक दल परिवर्तन गरेर निर्वाचन जिते । सिराहा–२ बाट जसपा नेपालबाट २४ हजार १७८ मत ल्याएर यादव निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार चित्रलेखा यादव भइन् । चित्रलेखाले २३ हजार २८ मत ल्याइन् । 

रघुवीर महासेठ – नेकपा एमाले

एमाले नेता महासेठ धनुषा–४ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । उनले ०७४ र ०७९ मा कांग्रेस नेता महेन्द्र यादवलाई हराएर प्रतिनिधिसभा सदस्य भएका थिए । ०७९ मा महासेठ ३२ हजार २३६ मत ल्याए निर्वाचित हुँदा कांग्रेस नेता यादवले ३२ हजार ११२ मत ल्याएका थिए । ०७४ मा महासेठ २२ हजार ५३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस नेता यादवले १९ हजार ९९१ मत पाएका थिए । 

प्रेम सुवाल – नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टीको आधार इलाका मानिने भक्तपुर–१ मा प्रतिनिधिसभा सदस्यका लागि सुवाल तेस्रो पटक चुनावी मैदानमा छन् । सुवालले ०७४ मा ३३ हजार ७६ मत ल्याएर कांग्रेस उम्मेदवार बाबुराजा जोशीलाई हराएका थिए, जोशीले १७ हजार ८१८ मत ल्याएका थिए । ०७९ मा सुवालले एमाले उम्मेदवार नवराज गेलाललाई पराजित गरेका थिए । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गेलालले ११ हजार ९६८ मत पाएका थिए । 

सुवालसँग अहिले एमालेबाट सोमप्रसाद मिश्र, कांग्रेसबाट किरण न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम लवजू र रास्वपाबाट रुकेश रञ्जित प्रतिस्पर्धामा छन् । 

हितबहादुर तामाङ – नेकपा

तत्कालीन नेकपा (माओवादी केन्द्र) र अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तामाङ नुवाकोट–१ मा लगातार तेस्रो पटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । तामाङले ०७९ मा माओवादी केन्द्रबाट २६ हजार ५४८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार बद्री मैनाली थिए, मैनालीले २३ हजार ४६५ मत ल्याएका थिए । ०७४ मा तामाङले ३६ हजार ४७३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डा.रामशरण महत थिए । डा. महतले २७ हजार ९२० मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । 

अहिले नेकपाबाट उम्मेदवार रहेका तामाङसँग एमालेबाट मैनाली, कांग्रेसबाट डा. प्रकाशशरण महत र रास्वपाबाट विक्रम तिमल्सिना प्रतिस्पर्धामा छन् । 

मोहन आचार्य– नेपाली कांग्रेस

रसुवाबाट कांग्रेस नेता आचार्य फेरि पनि चुनावी मैदानमा छन् । ०७४ मा एमाले उम्मेदवार जनार्दन ढकाललाई १४ हजार ४५३ मत ल्याएर आचार्यले हराएका थिए । निकटतम प्रतिद्वन्द्वी बनेका ढकालले १० हजार २७८ मत मात्र पाएका थिए । ०७९ मा पनि आचार्यका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नै बने । आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमाले उम्मेदवार छोवाङ तेन्जिङ तामाङले ८ हजार ६१४ मत मात्र पाएका थिए । 

आचार्यसँग अहिले एमालेका प्रेमबहादुर तामाङ, नेकपाका माधवप्रसाद लामिछाने र रास्वपाका बसन्त भट्ट प्रतिस्पर्धामा छन् । 

पदम गिरी–नेकपा एमाले  

एमाले नेता गिरी पर्वतबाट तेस्रो पटक प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् । उनले ०७९ र ०७४ मा कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशीलाई हराएका थिए । ०७४ मा गिरीले ३९ हजार २७५ मत पाउँदा जोशीले २६ हजार ८१९ मत ल्याएका थिए । ०७९ मा गिरीले २९ हजार ८७२ मत ल्याउँदा उनै जोशीले २७ हजार ६०९ मत ल्याएको निर्वाचन आयोगको वेबसाइटमा छ । 

अहिले गिरीसँग कांग्रेसबाट जोशी, नेकपाबाट मनहरि शर्मा र रास्वपाबाट सागर भुसाल प्रतिस्पर्धामा छन् । 

रवि लामिछाने–राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाका सभापति लामिछाने पनि चितवन – २ बाट तेस्रो पटक निर्वाचन लड्दैछन् । लामिछानेले ०७९ र र ०८० मा भएको उपनिर्वाचन जितेका थिए । ०७९ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई निकटतम प्रतिद्वन्द्वीका रूपमा उनले पाएका थिए । लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा श्रेष्ठले मात्र १४ हजार ९८८ मत ल्याएका थिए । सर्वोच्च अदालतको आदेशका कारण लामिछानेको सांसद पद गुमेको थियो । पछि २०८० सालमा भएको उपनिर्वाचनमा पनि लामिछानेले जिते । उक्त उपनिर्वाचनमा लामिछानेले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरे । लामिछानेले ५४ हजार १७५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ११ हजार २१४ मत ल्याएका थिए । 

लामिछानेसँग अहिले कांग्रेसबाट मीना खरेल, एमालेबाट अस्मिन घिमिरे र नेकपाबाट प्रताप गुरुङ प्रतिस्पर्धामा छन् । 

सञ्जय गौतम – नेपाली कांग्रेस

कांग्रेस नेता गौतम बर्दिया–१ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दौडमा छन् । गौतमले ०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवारलाई पराजित गरेका थिए । ०७९ मा गौतमले ३० हजार ६११ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत ल्याएका थिए । त्यस्तै ०७४ मा गौतमले ४४ हजार ८२९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार वामदेव गौतमले ४४ हजार ७६ मत ल्याएर पराजित भएका थिए । 

अहिले गौतमसँग एमालेबाट सालिकराम अधिकारी, नेकपाबाट विष्णुप्रसाद चौधरी र रास्वपाबाट ठाकुरसिंह थारू प्रतिस्पर्धामा छन् । 

मेटमणि चौधरी– नेकपा 

अघिल्ला दुई निर्वाचन फरक–फरक पार्टीबाट उम्मेदवार बन्दै दाङ–१ बाट जितेका चौधरी अहिले पनि निर्वाचनको मैदानमा छन् । ०७४ मा एमाले र ०७९ मा नेकपा (एकीकृत समाजवादी)बाट विजयी भएका चौधरी अहिले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट उम्मेदवार छन् । ०७४ मा एमालेबाट ३७ हजार ९०८ मत ल्याएर चौधरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सुशीला चौधरी भइन् । चौधरीले २४ हजार ७४ मत मात्र पाएकी थिइन् । 

२०७९ मा चौधरी नेकपा (एकीकृत समाजवादी)बाट २६ हजार ५७६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्ता चौधरी बनिन्, उनले २१ हजार ४९३ मत ल्याइन् । अहिले मेटमणिसँग कांग्रेसबाट योगेन्द्र चौधरी, एमालेबाट रेवतीरमण शर्मा घिमिरे र रास्वपाबाट देवराज पाठक प्रतिस्पर्धामा छन् । 

प्रेम आले

फरक–फरक पार्टीबाट ०७४ र ०७९ मा निर्वाचन जितेका आले अहिले निर्वाचन क्षेत्रसमेत परिवर्तन गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । आलेले ०७४ मा एमाले र ०७९ मा नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार बन्दै डोटीबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । ०७९ मा नेकपा (एकीकृत समाजवादी)बाट आलेले २७ हजार २१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार गौरीकुमारी ओली बनिन्, ओलीले २३ हजार ४ मत ल्याएकी थिइन् । 

२०७४ मा एमालेबाट उम्मेदवार बनेका आलेले ३२ हजार ५१० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार वीरबहादुर बलायर भएका थिए, बलायरले ३० हजार ८७८ मत पाका थिए । अहिले आले निर्वाचन क्षेत्र फेरेर कैलाली–५ मा पुगेका छन् । त्यहाँ आलेसँग एमालेबाट यज्ञराज ढुंगाना उपाध्याय, कांग्रेसबाट नरनारायण शाह र रास्वपाबाट आनन्दबहादुर चन्द प्रतिस्पर्धामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप