बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : भक्तपुर–२

विकासको बाचा गर्दै घरदैलो गरेका महेशलाई मतदाताको सहानुभूति

बिहीबार, १४ फागुन २०८२, ०७ : ११
बिहीबार, १४ फागुन २०८२

सारांश

  • भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत चुनावी घरदैलोमा व्यस्त छन्।
  • घरदैलोमा मतदाताले बस्नेतलाई विकासको बाढी ल्याउन आग्रह गर्दै आफूलाई भोट दिन आग्रह गरे।
  • २०७० र २०७९ को निर्वाचनमा पराजित भएका बस्नेत यसपटक जित्नेमा विश्वस्त देखिएका छन्।

काठमाडौँ । यो निर्वाचनमा देशभर कसले जित्छ, को बलियो छ, त्यहाँचाहिँ के होला भन्नेमध्ये भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अगाडि नै आउँछ ।

यहाँका उम्मेदवारमध्ये नेकपा एमालेका सचिव महेश बलिया मानिन्छन् । यो त्यस्तो क्षेत्र हो, जहाँका मतदातासँगै बाहिरकाले पनि निकै चासोका साथ हेरेका छन् । यस क्षेत्रमा मानिसहरूका आ–आफ्नै अड्कालबाजी छन् । यहाँका उम्मेदवारप्रति आम जनताको चासो र चर्चा उत्तिकै छ । यहाँ पनि विभिन्न दलबाट उम्मेदवार बनेकाहरूको घरदैलो चलिरहेको छ ।

बुधबार बिहान करिब ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ गणेश मन्दिरमा एमालेका कार्यकर्ताहरू भेला भएका थिए । घरदैलोको तयारी हुँदै थियो । हामी पनि त्यही थियौँ । मतदाता घरको कौसी र छतबाट हात हल्लाइरहेका थिए, तल थियो एमालेको चुनावी घरदैलो । उम्मेदवार बस्नेत दोस्रो पटक जित निकाल्न यसपटक पनि कस्सिएर लागिपरेका थिए । एकैछिनमा बस्नेत आइपुग्छन् र खादामाला र टीका लगाएपछि उनको टोली अघि बढ्छ ।

दृश्य हेर्दा लाग्थ्यो, उनी भोट माग्न घरदैलोमा होइन, विजय उत्सव मनाउँदै थिए । कोण सभाजस्तो बनाएर बस्नेतले थोरै भाषण गर्छन्, सूर्यलाई शुभसाइत मानेर निस्किन्छन् । एक सय जनाभन्दा बढीको उनको टोली ब्यानर, प्रचार सामग्री, पार्टीका गीत घन्काउँदै बढ्छ ।

गणेश मन्दिरबाट सुरु भएको उनको घरदैलो मतदातासँगको भेटभन्दा पनि सडकबाटै नमस्कारमा बढी केन्द्रित थियो । टोली परिवर्तन टोलमा पुग्छ, त्यहाँ बस्नेतलाई सूर्य चुनाव चिह्नसहित स्वागत हुन्छ ।

उम्मेदवार बस्नेतले घरदैलोका क्रममा भक्तपुरबासीले आफूप्रति देखाएको सद्भाव आफ्नो जितको बलियो आधार भएको बताए । भक्तपुरको विकासमा आफू पदमा हुँदा वा नहुँदा पनि निरन्तर रूपमा लागेकाले पनि जित निश्चित रहेको उनले दाबी गरे ।

खादामालासँगै र दही खुवाएका मतदाताले उनलाई यस क्षेत्रमा विकासको बाढी ल्याउन आग्रह गर्छन् । बस्नेत पनि भोट दिएर जिताउन आग्रह गर्छन् । यो क्षेत्रको आवश्यक विकास गर्न आफू प्रतिबद्ध रहेको बताउँछन् ।

उत्साहित कार्यकर्ता ‘भक्तपुरले खोजेको, जनताले रोजेको’ भन्दै समय–समयमा नारा लगाउँथेँ । पार्टीको गीत घन्किरहन्छन् ।

घरदैलो सिपाडोल टोलमा प्रवेश गर्छ । त्यहाँ बस्नेतलाई स्वागत गर्न मतदाताहरू लाइन लागेर बसेका थिए । एक वृद्धाले खादामाला लगाएर उनलाई अँगालो हाल्दै ‘बाँचेर आयौ बाबु’ भन्दै अँगालो हाल्छिन् । आँसु झाँर्दै उनले ‘बाबु जित्नुपर्छ, हामी तपाईंलाई भोट दिन्छौँ,’ भन्छिन् । बस्नेतको टोली केहीबेर मौन हुन्छ ।

mahesh basnet (2)

बस्नेतलाई यहाँ स्वागत गर्ने अधिकांशले भदौ २४ गते उनको घर जलेको भन्दै ढाडस दिइरहन्छन् । माया देखाइरहन्छन् ।

तिनै भिडमा ६० वर्षीया वृद्धाले पनि बस्नेतलाई अँगालो हाल्दै आशीर्वाद दिइन् । जितको शुभकामना दिँदै उनको घर जलेकोमा सदभाव देखाइन् ।

र बस्नेत पनि भन्छन्, ‘चिन्ता नगर्नुस् आमा, हामी फेरि उठ्नेछौँ । हजुरहरूले भोट दिएर जिताउनुस् ।’

बस्नेत २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित भएका थिए । तर २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेर निर्वाचित भएका थिए । तर २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापासँग उनी फेरि पराजित भए । २४ हजार २३८ मत थापा यहाँ निर्वाचित हुँदा बस्नेतले २३ हजार २७९ मत पाएका थिए ।

घरदैलो डोल गाउँमा प्रवेश गर्छ । बस्नेत भोट माग्दै ९१ वर्षीय वृद्ध भएको ठाउँमा जान्छन् । उनलाई देख्नेबित्तिकै ती वृद्ध आँसु झार्छन् । भन्छन्, ‘आन्दोलनमा तपाईंको घर जलाए बाबु । तपाईंले भक्तपुरको सडक, पुल बनाउनुभएको छ, सम्पदाको निर्माण र संरक्षण गर्नुभएको छ । गरेको प्रतिफल पाउनुहुन्छ । जित निश्चित छ ।’

हामीले यहाँ एक जना ८१ वर्षका वृद्धलाई सोध्यौँ, ‘महेश बस्नेतलाई भोट माग्न आउनुभएको ? उनले भने, ‘मलाई बस्नेत राम्रो लाग्छ, त्यसैले सूर्य चिह्नमा भोट दिन्छौँ ।’

mahesh basnet (5)

उनी त्यतिमा मात्र रोकिएनन्, ‘महेश बस्नेत भक्तपुरका विकासप्रेमी नेता हुन् । उनले सडक, पुल, सम्पदा विकास गरेका छन् । निडर छन् ।’

घरदैलोमा बस्नेतले केही मतदाताले प्रश्न पनि गर्छन् । यसै क्रममा एक महिलाले सोधिन्, ‘चुनावको समयमा मात्रै होला, चुनाव जितेर आउने होइन होला ? पहिला जितेका अहिलेसम्म टोलमा आएनन् ।’ उनले भक्तपुर सुर्यविनायक–८ मा खानेपानी, सडकमा देखिएको समस्या समाधान गर्न माग गरिन् ।

बस्नेत सबै समस्या समाधान गर्न आफू तयार भएको बताउँदै बढ्छन् ।

त्यसै ठाउँमा हामीले एक युवा मतदातालाई सोध्यौँ, ‘बस्नेतलाई तपाईंको केही प्रश्न, अपेक्षा छन् ? उनले नेताहरूलाई जनताका प्रश्न धेरै भएको बताए । ‘उनलाई पनि धेरै प्रश्न छन् । तर प्रश्नका बिचमा पनि भक्तपुर–२ मा बस्नेतको आवश्यकता छ । सबैले मत दिएर भक्तपुर–२ मा देखिएको बाढी, ढल, खानेपानी, समस्या हटाएर कृषिमा रोजगारी सिर्जना गर्न आवश्यक छ,’ उनले भने ।

mahesh basnet (3)

उम्मेदवार बस्नेतले घरदैलोका क्रममा भक्तपुरबासीले आफूप्रति देखाएको सद्भाव आफ्नो जितको बलियो आधार भएको बताए । भक्तपुरको विकासमा आफू पदमा हुँदा वा नहुँदा पनि निरन्तर रूपमा लागेकाले पनि जित निश्चित रहेको उनले दाबी गरे ।

‘जिम्मेवारी नहुँदा पनि भक्तपुरको विकासमा निरन्तर लागेको छु । सेवक बन्न मतदातामाझमा गएको छु, विकासको काम गरेको आधारमा पनि भक्तपुरका जनताले मत दिएर जिताउँछन् भन्ने विश्वास छ,’ उनी प्रतिबद्ध देखिए ।

जनताले खानेपानी, ढल, सडक कालोपत्रलगायत माग गरेको बताउँदै आफू त्यो काम गर्न सक्षम भएको दाबी गरे ।

mahesh basnet (4)

यसअघि बस्नेत २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित भएका थिए । तर २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेर निर्वाचित भएका थिए । तर २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापासँग उनी फेरि पराजित भए । २४ हजार २३८ मत थापा यहाँ निर्वाचित हुँदा बस्नेतले २३ हजार २७९ मत पाएका थिए ।

यस पटकको निर्वाचनमा बस्नेतसँगै नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा (दीपशिखा) र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी प्रतिस्पर्धामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप