मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : रुपन्देही-२

रुपन्देही–२ का मतदाता भन्छन्– हाम्रो एजेन्डा भनेकै सुशासन, विकास र रोजगारी

बिहीबार, १४ फागुन २०८२, ११ : २१

सारांश

  • रुपन्देही क्षेत्र नम्बर २ का मतदाता सुशासन, विकास र रोजगारीको अपेक्षासहित मतदानको तयारीमा छन्।
  • मतदाताहरूले राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्प खोजिरहेका छन्।
  • विदेशमा काम गर्न गएका र जान लागेका युवाहरू स्वदेशमै रोजगारीको अवसर खोजिरहेका छन्।

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ का मतदाता सुशासन, विकास र रोजगारीको अपेक्षासहित मतदान गर्ने तयारीमा देखिन्छन् ।

यस निर्वाचन क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिकाका केही वडा, बुटवल उपमहानगरपालिकाका अधिकांश वडा र सैनामैना नगरपालिकाका केही वडा पर्दछन् । नगर क्षेत्रकै भूगोल समेटिएका कारण पनि यहाँ भौतिक पूर्वाधारका आधारभूत संरचना निर्माण भइसकेका छन् । यद्यपि, तिनको विस्तार, आधुनिकीकरण, समय सापेक्ष सुधार हुनुपर्ने मतदाताको भनाइ छ ।

रुपन्देही–२ का मतदाताले सुशासन र रोजगारीका लागि पनि जोड दिएका छन् । स्थलगत रिपोर्टिङका क्रममा रातोपाटी टिमले भेटेका मतदाताहरूले सुशासन, विकास र रोजगारी नै आफूहरूको मुख्य चाहना रहेको बताए ।

सहरी क्षेत्रका भएकाले पनि यहाँका सामान्य मतदातामा समेत राजनीतिक चेतनाको कमी देखिएन । कुनै पनि दलले स्पष्ट बहुमत पाउन नसके देशमा विकास हुन नसक्ने उनीहरूको बुझाइ छ । त्यसैले बहुमत आउन सक्ने दलका उम्मेदवार हेरेर मत दिनुपर्ने उनीहरू बताउँछन् ।

बुटवल उपमहानगरपालिका–११ निवासी जीवन गुरुङ पेसाले मजदुर हुन् । पुराना दलहरू सत्ता केन्द्रित भएर गठबन्धन बनाउने र भत्काउने विषयमा लिप्त भएका कारण देशको समुचित विकास हुन नसकेको र जनतामा आक्रोश बढेको उनी बताउँछन् ।

उनले प्रश्न गरे, ‘जनताका समस्या समाधान गर्न दलहरूले ध्यान दिएनन् । सरकार बनाउने, ढाल्ने, जोगाउने जस्ता खेलमा नेताहरू व्यस्त भएपछि हामीजस्ता जनताको समस्या कसले हेर्ने ?’

तिनै पुराना दलका नेताले चुनावका समयमा विभिन्न आश्वासन दिएको तर, चुनाव जितेर गइसकेपछि ती आश्वासनलाई बिर्सिदिएको गुरुङको गुनासो छ । ‘उनीहरूलाई हामीले धेरै पटक विश्वास गरेकै हो,’ उनले भने, ‘अब एक पटक नयाँलाई हेरौँ कि भन्ने लागेको छ ।’

नेपालमा बसेर जीपिकोपार्जन हुन नसक्ने भएपछि आफ्नी पत्नी वैदेशिक रोजगारीका लागि कतार गएको उनले बताए । उनले भने, ‘मचाहिँ यतै मजदुरी गर्छु । ११ कक्षामा पढ्ने छोरी छ । छोरीलाई पढाउने खर्च कतारबाट श्रीमतीले पठाउँछे, मैले कमाएको पैसाले घर खर्च चलाइरहेको छु ।’

नेपालमै कतारको जत्तिको पारिश्रमिक नभए पनि छोराछोरीलाई पढाउन, औसत जीवनयापन गर्न पुग्ने गरी मजदुरीबाट पैसा कमाउन सक्ने अवस्था भइदिए हुन्थ्यो भन्ने गुरुङको अपेक्षा छ । ‘घरमा हुर्किएकी छोरी छ,’ उनले भने, ‘उसकी आमा विदेशमा छ । आमाचाहिँ फर्किने बेलामा पढाइ सकेर छोरी विदेश जानुपर्ने त होला !’

बुटवल–११ कै दिलिप सुनार भने मतदानका लागि इच्छुक देखिएनन् । ७–८ वर्षअघि साउदी अरबमा करिब एक वर्ष बिताएर आएका उनी भनेजस्तो काम नपाएपछि फर्किनु परेको बताउँछन् ।

‘नेपालमा काम पाउन मुस्किल छ । काम पाए पनि पारिश्रमिक थोरै हुन्छ,’ उनले भने, ‘त्यही भएर सबैजना विदेश जान खोज्छन्, तर त्यही मौकाको फाइदा उठाएर दलालले ठग्छन् ।’ देशमै रोजगारीको अवस्था भइदिए आफूजस्ता युवा स्वदेशमै बसेर गुजारा चलाउन मिल्थ्यो भन्ने उनको अपेक्षा छ ।

देशमा रोजगारीका अवसर सिर्जना हुनुपर्ने, विकास निर्माणका काम अघि बढ्नुपर्ने बताउने सुनारले अहिलेसम्म कसैलाई पनि मत नदिएको बताए । ‘यो चुनावमा पनि म त कसैलाई भोट दिन्नँ,’ उनले भने, ‘दैनिक मजदुरी गरेर पेट पाल्नुपर्ने अवस्थाका हामीलाई जसले जिते पनि उही हो ।’

दैनिक ८–९ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुने बताएका सुनारले सोही रकमबाट ५ जनाको परिवारले गुजारा चलाउँदै आएको जनाए । एक छोरीका पिता उनले छोरीलाई डाक्टर बनाउने सपना देखेका छन् । उनले भने, ‘छोरी डाक्टर बन्छु भन्छे, आफ्नो कमाइ यस्तो छ । डाक्टर बनाउन थोरै पैसाले पुग्दैन । हामीजस्ता गरिबका छोराछोरीले पनि डाक्टर, इन्जिनियर बन्ने गरी पढ्ने अवसर भइदिए हुन्थ्यो ।’

रुपन्देही–२ कै मतदाता लक्ष्मी श्रेष्ठ थोरै भए पनि आफूसँग भएको जग्गा–जमिनको लालपुर्जा पाए त्यसैलाई धितो राखेर केही व्यवसाय गर्न सकिने बताउँछिन् । ‘यसअघिका चुनावमा लालपुर्जा सिरानीमा ल्याइदिन्छौँ भनेर भोट मागे, तर अहिलेसम्म पाउन सकिएन,’ उनले भनिन् ।

नेताहरूले भोट पाउनकै लागि जे पनि गरिदिन्छु भनेर बाचा नगरे हुन्थ्यो भन्ने उनको भनाइ छ । उनले भनिन्, ‘अहिले पनि लालपुर्जा दिन्छौँ भनिरहेका छन्, लाजपुर्जा दिन्छौँ भनेर यिनले कति वटा चुनावमा बाचा गर्ने हुन् कुन्नि !’

सरकारी कार्यालयमा जाँदा घुस दिनुपर्ने अवस्था रहेको, शिक्षा र स्वास्थ्य गुणस्तरीय र सहज नभएको, विकास निर्माणका काम पनि चित्त    बुझ्दो नभएको श्रेष्ठले बताइन् ।

बुटवल–२ की शान्ता खत्री रोजगारी र विकास नै आफूहरूको मुख्य एजेन्डा रहेको बताउँछिन् । ‘हरेकजसो घरबाट छोराछोरी विदेश गएका छन् । पढ्न होस् या रोजगारीका लागि नै किन नहोस्, विदेश जानुपर्ने अवस्था अन्त्य भइदिए हुन्थ्यो,’ उनले भनिन् ।

एक छोरा र एक छोरीमध्ये छोरा विदेश गएको र छोरी पनि जाने तयारीमा रहेको खत्रीले सुनाइन् । उनले भनिन्, ‘भर्खर बिहे गरेको छोरा अहिले बुहारीसहित अस्ट्रेलियामा छ । हुर्किएको छोरा र भर्खर भित्रिएकी बुहारी विदेशमा छन् । छोरी पनि विदेश जाने तयारीमा छ ।’

स्वदेशमै केही गरेर खाने वातावरण भए यसरी परिवार छिन्नभिन्न हुनुपर्ने अवस्था आउँदैनथ्यो कि भन्ने उनको तर्क छ । नेताहरू सुध्रिएर देशको विकास गरिदिउन् र रोजगारीको अवसर सिर्जना गरिदिउन् भन्ने अपेक्षा पनि उनले सुनाइन् ।

बुटवल–१२ का हरिबहादुर केसी सहज रूपमा गरिखाने वातावरण भइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । सामान्य होटल व्यवसायमा लागेका उनले १२ वर्ष दुबईमा बिताइसकेका छन् । उनले भने, ‘अर्काको देशमा गएर काम गर्न पनि सहज छैन । आफ्नो देशमा काम नपाएपछि विदेश जानै पर्‍यो । उताबाट फर्किएपछि सानोतिनो व्यवसाय थालेँ । गुजारा त चलेकै छ । गुजारामात्र चलेर भएन, छोराछोरी विदेश जानुपर्ने अवस्था नआइदिए हुन्थ्यो ।’

नेताहरू देश र जनताप्रति इमानदार हुने हो भने देश विकासका लागि समय नलाग्ने केसीको भनाइ छ ।

सैनामैना नगरपालिका–१, बनकट्टाका दलबहादुर थापा पनि बहराइनमा करिब १८ वर्ष काम गरेर फर्किएका हुन् । झन्डै दुई दशकसम्म आफूले विदेशमा कमाएको पैसा छोरा–छोरी पढाउँदैमा सकिएको उनले बताए ।

थापाकी छोरी अहिले जापानमा छिन् । छोरा पनि जापान जाने तयारीमा रहेको उनले सुनाए । ‘म त्यत्रो वर्ष विदेश बसेँ । म आएपछि छोराछोरी भटाभट विदेशतिर लाग्दैछन्,’ उनले भने, ‘परिवारका सबै सदस्य एकै ठाउँ बसेर सुख–दुःख एकसाथ बिताउँ न भन्ने अवस्था पनि रहेन ।’

सैनामैना–१ कै सेती सुनार विकास र रोजगारी नै मुख्य आकाङ्क्षा रहेको बताउँछिन् । ‘कमाउने बाटो भएपछि त पकाएर खान सकिहालिन्छ नि,’ उनले भनिन्, ‘कमाउने बाटोचाहिँ सरकारले बनाइदिनु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप
सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप