कर्णालीमा पूर्णबहादुरविनाको कांग्रेसको चुनावी सभा
सारांश
- कर्णाली प्रदेशमा कांग्रेसको चुनावी आमसभा हुँदै गर्दा पूर्णबहादुर खड्काको अनुपस्थितिमा उनको अभाव महसुस गरिएको छ।
- खड्काले निर्वाचन नलड्ने निर्णय गरेपछि उनका भाइ विष्णु कुमार खड्काले भने गगन थापाको समर्थनमा चुनाव लड्दैछन्।
- खड्काले चुनाव नलडे पनि रुख चिन्ह लिएर लड्ने उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकेन्द्रित नेपाली कांग्रेस कर्णाली प्रदेशको चुनावी आमसभा बिहीबार दिउँसो सुर्खेतमा हुँदै छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा गर्न लागिएको आमसभालाई कांग्रेस सभापति गगनकुमार थापा र पुष्पा भुसालले सम्बोधन गर्दै छन् । यद्यपि उक्त आमसभामा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको भने उपस्थिति हुने छैन ।
यसअघि हरेकजसो चुनावी सभामा खड्काको उपस्थितिले कार्यकर्तामा ऊर्जा दिने गरेको प्रदेश तहका एक नेता बताउँछन् । ‘उहाँ कर्णालीको अभिभावक हुनुहुन्छ, उहाँ नआउँदा केही अभाव महसुस हुने कुरा स्वाभाविक नै भयो,’ ती नेताले रातोपाटीसँग भने, ‘यसअघिका चुनाव उहाँकै नेतृत्वमा भए, उहाँकै योजनाअनुसार चुनावी अभियानहरू सफल पनि भए ।’
यो पटकको प्रदेशस्तरीय चुनावी आमसभा कांग्रेस प्रदेश कमिटीको आयोजनामा हुन लागेको हो । सोहीअनुसार, प्रदेश निर्वाचन प्रचारप्रसार समितिले ग्राफिक्सहरू बनाएर प्रचार पनि गरिरहेको छ । यद्यपि जुन उत्साह यसअघि हुने गरेको थियो, त्यसमा केही कमी महसुस भएको खड्का पक्षधर अर्का एक नेताले बताए । यसअघि चुनावी आमसभाका ग्राफिक्सहरूमा खड्काको तस्बिर हुन्थ्यो, यो पटक छैन ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहकको जिम्मा दिए । साथै, कांग्रेसको भावी सभापति भनेर पनि खड्कालाई नै चर्चा गरिएको थियो । खड्कानिकट नेताहरूका अनुसार, देउवाले नै खड्कालाई भावी सभापतिका रूपमा अघि बढाइरहेका थिए ।
यदि नियमित महाधिवेशन हुन्थ्यो भने खड्का सभापतिका प्रमुख दाबेदार हुन्थे । सोहीअनुसार, खड्का पक्षले विशेष महाधिवेशन रोक्न हरप्रयास गर्यो । १० जिल्ला रहेको कर्णालीका ९ जिल्ला सभापतिहरू त विज्ञप्ति नै जारी गरेर विशेष महाधिवेशनविरुद्ध उभिए ।
कर्णालीका अधिकांश महाधिवेशन प्रतिनिधिसमेत खड्का पक्षमै उभिएर खड्काको निर्णयमा एकताबद्ध रहेको सन्देश पनि दिए । तर तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले पुस अन्तिम साता विशेष महाधिवेशन गराए ।
उक्त विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति बने । पूर्णबहादुर खड्का आधिकारिकताको कुरा लिएर निर्वाचन आयोग पुगे, आयोगले विशेष महाधिवेशनकै पक्षमा निर्णय गरेपछि खड्का सर्वोच्च अदालत पुगे । मुद्दा विचाराधीन भएपछि खड्काले चुनाव नै नलड्ने निर्णय गरे ।
‘माघ २ गते कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र कांग्रेसको विधानविपरीत गरेको निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि माघ ४ गते म स्वयंसमेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी हो,’ उनले सामाजिक सञ्जालमै भनेका छन्, ‘यस्तो अवस्थामा निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्यमान्यता र नैतिकताको अडानको प्रतिकूल हुन्छ ।’
त्यसैले पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको उनले भनेका थिए ।
साथै उनले रुख चुनाव चिह्न लिएर जनताको बिचमा आउने उम्मेदवारलाई एकताबद्ध भएर विजयी गराउने काममा अग्रसर हुन नेता–कार्यकर्तालाई आग्रह पनि गरे । ०४८ सालदेखि सुर्खेत–१ मा चुनाव लड्दै आएका खड्कालाई कांग्रेस सुर्खेतले एकल रूपमा उम्मेदवार सिफारिस गरेको थियो । यो पनि भनिएको थियो, अबको पार्टी सभापति र प्रधानमन्त्रीको दाबेदार उहाँ नै हुनुहुन्छ । सोही सन्देश दिन पनि खड्कालाई एकल रूपमा सिफारिस गरिएको एक नेता बताउँछन् ।
‘सबै हिसाबले उहाँ नै पार्टीको भावी सभापति र प्रधानमन्त्री बन्ने नेता हुनुहुन्थ्यो,’ सुर्खेतका एक नेता भन्छन्, ‘तर बिचमा अर्को पक्षले जबर्जस्त विशेष महाधिवेशन गरिदियो, योजनाहरू चक्नाचुर भए ।’
खड्काले चुनावी मैदान छाडे तर उनकै भाइ विष्णुकुमार खड्का भने उनै गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर सुर्खेत–१ बाट उम्मेदवार बने । दाइको विरासत जोगाउन भए पनि विष्णु चुनाव आफ्नो पक्षमा पार्न संघर्ष गरिरहेका छन् । खड्काले चुनावी मैदान छाड्दा उक्त क्षेत्रमा अहिले प्रतिस्पर्धी दलहरू एमाले, नेकपा, रास्वपासम्मका उम्मेदवार उत्साहित छन् ।
खड्काको सभापति बन्ने सपनामा बाधा बनेका गगनकुमार थापा सभापति बनेर खड्काकै गृह प्रदेश कर्णालीमा चुनावी आमसभालाई सम्बोधन गर्न आउँदा खड्का उपस्थित नहुँदा उनको अभाव महसुस गरिरहेका छन्, कांग्रेसका नेता–कार्यकर्ताले ।
कर्णालीमा कुनै बेला संस्थापनइतर पक्षको वर्चस्व थियो । १४औँ महाधिवेशनसम्म आउँदा संस्थापन अर्थात् देउवा पक्ष हाबी भयो । प्रदेशमा संस्थापन पक्षको नेतृत्व पूर्णबहादुर खड्का र इतर पक्षको नेतृत्व हृदयराम थानीले गर्दै आएका थिए ।
१४औँ महाधिवेशनमा खड्का पक्षको वर्चस्व कायम भएपछि ०७९ को प्रदेश तथा प्रतिनिधिसभा चुनावमा खड्काले नै ठाउँ–ठाउँमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।
अहिले पनि कर्णालीका जिल्लादेखि तल्लो तहसम्म खड्का पक्षधर नै नेता–कार्यकर्ताहरूको बाहुल्यता छ । तर यो पटक खड्का चुनावी मैदानबाट बाहिर रहँदा उनीनिकट कर्णालीका नेता–कार्यकर्ताहरूले उनको अभाव महसुस गरेका छन् ।
खड्काले आफू उम्मेदवार नभए पनि रुख चिह्न लिएर चुनावी मैदानमा होमिएका उम्मेदवारलाई जिताउन देश दौडाहामा जाने चर्चा थियो । तर, आफ्नै गृह प्रदेशको चुनावी आमसभामा उनको उपस्थिति रहेन ।
खड्कानिकट प्रदेश तहका एक नेता भन्छन्, ‘बड्डा अहिले कतै चुनावी सभातिर हिँडेका छैनन्, भोट हाल्न त आउँछन् होला ।’ खड्काले कतिपय नेता–कार्यकर्ताहरूलाई फोन गरेर ठाउँठाउँमा लाग्नुस् भनेर भनिरहेको ती नेताले बताए ।
कांग्रेस सुर्खेतका युवा नेता हरि विष्टले भने, ‘पूर्ण दाइ चुनावी मैदानमा नआउँदा उहाँको आवश्यकता खट्किन्छ नै ।’ उनका अनुसार, प्रदेशस्तरीय चुनावी आमसभा भनिए पनि सबै जिल्लाको उपस्थिति रहने छैन । सुर्खेत, सल्यान र जाजरकोटका उम्मेदवारहरू मात्र सहभागी हुनेछन् ।
विशेष महाधिवेशनमा नखुलेका कतिपय नेताहरूलाई चुनावी आमसभाबारे जानकारी नै नभएको बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण