बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुकुरको आक्रमणबाट खल्तीमा पड्किएको मोबाइलले बचायो ज्यान

बिहीबार, १४ फागुन २०८२, १४ : ५५
बिहीबार, १४ फागुन २०८२

सारांश

  • ब्राजिलमा एक व्यक्तिलाई दुई कुकुरले आक्रमण गर्दा मोबाइल पड्किएर ज्यान जोगिएको छ।
  • कुकुरले घाँटीमा आक्रमण गर्न खोज्दा मोबाइलमा दाँत गाडिएपछि ब्याट्री पड्किएको थियो।
  • मोबाइल पड्किएपछि कुकुरहरू भागे र रेनाल्डोले प्रहरीलाई खबर गरे, तर उनले कुकुर मालिकलाई मुद्दा हालेनन्।

काठमाडौँ । गोजीमा मोबाइल पड्किनु सामान्यतया दुर्घटना मानिन्छ, तर ब्राजिलका एक व्यक्तिका लागि भने यही घटना वरदान सावित भएको छ। ब्राजिलको पराना राज्यस्थित कास्काभेलमा दुईवटा हिंस्रक कुकुरको आक्रमणमा परेका रेनाल्डो नामका व्यक्तिले आफ्नो ज्यान मोबाइलकै कारण बचेको दाबी गरेका छन् ।

पेसाले अटो मेकानिक रहेका रेनाल्डो यसै महिनाको सुरुतिर काममा जाँदै गर्दा अचानक दुईवटा ठूला कुकुरको निशानामा परेका थिए। ती कुकुरहरूले उनलाई निकै नराम्रोसँग आक्रमण गर्न थालेका थिए। कुकुरहरू यति हिंस्रक थिए कि उनीहरूले रेनाल्डोको घाँटीमै निसाना ताकेका थिए। उनले आफूलाई बचाउन सङ्घर्ष गरिरहेकै बेला एउटा कुकुरले उनको खुट्टामा टोक्न खोज्यो, तर कुकुरको दाँत रेनाल्डोको खल्तीमा रहेको मोबाइल फोनमा गाडियो ।

कुकुरले टोक्ने बित्तिकै मोबाइलको ब्याट्री विस्फोट भयो। सो अप्रत्याशित विस्फोटले कुकुरहरूलाई तर्सायो र रेनाल्डोले त्यहाँबाट उम्किने मौका पाए ।

‘कुकुरले मेरो घाँटीमै झम्टिन खोजेको थियो, मैले रोक्ने प्रयास गरेँ। त्यसपछि उसले खुट्टामा टोक्दा गोजीमा रहेको मोबाइलमा दाँत गाडियो र ब्याट्री पड्कियो। त्यो क्षण निकै डरलाग्दो थियो तर त्यही मोबाइलले मेरो ज्यान बचायो,’ रेनाल्डोले घटना सम्झिँदै भने। उनले त्यो मोबाइल किनेको २० दिन मात्र भएको थियो ।

मोबाइल पड्किँदा रेनाल्डोको हाफपाइन्ट जलेको छ भने खुट्टामा केही पोलेको चोट लागेको छ। विस्फोटपछि कुकुरहरू डराएर भागेपछि उनले तत्काल प्रहरीलाई खबर गर्न सफल भएका थिए । 

यति ठुलो जोखिमपूर्ण घटना भएपनि रेनाल्डोले कुकुरका मालिक विरुद्ध कुनै कानुनी उजुरी नगर्ने निर्णय गरेका छन्। कुकुर मालिकले घटनाप्रति माफी माग्दै रेनाल्डोको उपचार खर्च र नष्ट भएको मोबाइलको क्षतिपूर्ति दिने सहमति जनाएपछि उनले उजुरी नगरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप