बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप सुपर–८

‘गर या मर’ को खेलमा भारत र जिम्बाब्वे भिड्दै, हार्ने टोली सेमिफाइनल दौडबाट बाहिरिने

बिहीबार, १४ फागुन २०८२, १५ : २०
बिहीबार, १४ फागुन २०८२

सारांश

  • भारत र जिम्बाब्वेबीचको टी-२० विश्वकपको सुपर ८ खेल चेन्नईमा हुँदैछ, जुन दुवै टोलीका लागि महत्त्वपूर्ण छ।
  • खेलमा हार्ने टोली सेमिफाइनलबाट बाहिरिनेछ भने जित्ने टोलीको सम्भावना कायम रहनेछ।
  • चेन्नईको पिचमा ब्याटिङ सहज हुने र टिम इन्डियाले जिम्बाब्वेलाई हराउन इतिहास दोहोर्‍याउने सम्भावना रहेको छ।

चेन्नई । टी–२० विश्वकपअन्तर्गत सुपर–८ को आठौं खेल आज भारत र जिम्बाब्वेबीच हुँदैछ। यो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा बेलुका ७ः१५ बजे सुरु हुनेछ।

दुवै टोलीका लागि यो ‘गर या मर’ को खेल हो। हार्ने टोली सेमिफाइनल दौडबाट बाहिरिनेछ भने जित्ने टोलीको सम्भावना कायम रहनेछ। जित्ने टोलीलाई वेस्ट इन्डिजको हारको पनि प्रतीक्षा रहनेछ। यदि वेस्ट इन्डिजले आजको पहिलो खेल जित्यो भने, रातिको खेल जिते पनि टोलीको अघिल्लो यात्रा निकै कठिन हुनेछ।

सुपर–८ चरणमा दुवै टोलीको सुरुवात खराब रह्यो। भारतलाई दक्षिण अफ्रिकाले ७६ रनले हराएको थियो भने जिम्बाब्वेलाई वेस्ट इन्डिजले १०७ रनले पराजित गरेको थियो।

यो पनि

ड टू हेड

भारत र जिम्बाब्वेबीच टी–२० ढाँचामा हालसम्म १३ खेल भएका छन्, जसमा टिम इन्डियाले १० खेल जितेको छ। जिम्बाब्वेले केवल ३ खेल मात्र आफ्नो पक्षमा पारेको छ।

टी–२० विश्वकपमा यी दुई टोली यसअघि सन् २०२२ मा एकपटक मात्र भिडेका थिए, जहाँ सूर्यकुमार यादवको अविजित अर्धशतकको मद्दतले भारतले खेल जितेको थियो।

जिम्बाब्वेले भारतविरुद्ध भारतमै कहिल्यै टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन। यद्यपि, टोलीले भारतमा २४ अन्तर्राष्ट्रिय खेल भने खेलेको छ, जसमा १९ एकदिवसीय र ५ टेस्ट समावेश छन्।

सूर्यकुरमार भारतका टप स्कोरर

भारतका लागि यस प्रतियोगितामा कप्तान सूर्यकुमार यादवले सर्वाधिक १८० रन बनाएका छन्। उनीपछि ईशान किशन टप स्कोरर हुन्। बलिङतर्फ वरुण चक्रवर्तीले सर्वाधिक विकेट लिएका छन् भने जसप्रित बुमराह र अर्शदीप सिंहले उनलाई राम्रो साथ दिएका छन्।

surya kumar

जिम्बाब्वेका लागि प्रतियोगितामा ब्रायन बेनेटले सर्वाधिक १८२ रन बनाएका छन्। उनले नै अष्ट्रेलिया र श्रीलंकाविरुद्धको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए। ब्लेसिङ मुजराबानी ११ विकेटसहित टोलीका सर्वाधिक विकेट लिने बलर बनेका छन्।

सिकन्दर रजा टी–२० अन्तर्राष्ट्रियमा ३००० रन पूरा गर्ने पहिलो जिम्बाब्वेली ब्याटर बन्नबाट १५ रन मात्र टाढा छन्। त्यस्तै रायन बर्ललाई २००० रन पूरा गर्न ५७ रन आवश्यक छ।

नजरमा रहने खेलाडीः

जसप्रित बुमराह

दक्षिण अफ्रिकाविरुद्ध जसप्रित बुमराहले १५ रन दिएर लिएको ३ विकेट हालैका महिनाहरूको पीडादायी ढाँचासँग ठ्याक्कै मेल खान्छ, जहाँ उनले फम्र्याट जुनसुकै भए पनि आफ्नो उत्कृष्ट स्पेल फ्याँक्दा टोलीले हार बेहोरेको छ। यस प्रतियोगितामा उनको प्रदर्शन उत्कृष्ट छ । उनको ९.८५ को औसत र ५.३० को इकोनोमी रेट छ। यो यस्तो अवस्था हो जहाँ भारत कुनै गल्ती गर्न चाहँदैन र सबैको नजर उनीमै हुनेछ।

bumrah

ताडिवान्से मरुमानी

ताडिवान्से मरुमानीले धेरै चर्चा नबटुले पनि यस प्रतियोगितामा बलियो छाप छोडेका छन्। क्रिजमा आफ्ना चार इनिङ्समा उनले १५७.५७ को स्ट्राइक रेटमा २१, ३५, ३४ र १४ रन बनाएका छन्। पावरप्लेमा उनको आक्रामक सट–प्ले विशेषगरी रिभर्स स्विप निकै आकर्षक रहेको छ, जसले अर्को छेउमा ब्रायन बेनेटलाई इनिङ्स सम्हाल्न सहज बनाएको छ। जिम्बाब्वेका कप्तान सिकन्दर रजाले एक अन्तर्वार्तामा मरुमानीले यस विश्वकपमा कुनै समय प्लेयर अफ द म्याच अवार्ड जित्न सक्ने दाबी गरेका थिए।

marumani

पिच रिपोर्ट

चेपकको पिच सामान्यतया सुस्त र स्पिनरहरूलाई मद्दत गर्ने खालको हुन्छ, तर यसपटक फ्रेस पिच तयार पारिएको छ। यहाँ राम्रो बाउन्स देख्न पाइएको छ, जसकारण रन पनि प्रशस्त बनिरहेका छन्। यस विश्वकपमा यहाँ हालसम्म ६ खेल खेलिएका छन् र सबैमा १७०+ स्कोर बनेको छ।

यहाँ हालसम्म ९ टी–२० खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले ४ र चेज गर्ने टोलीले ५ खेल जितेका छन्। यहाँको उच्च टिम स्कोर २००/४ हो, जुन अफगानिस्तानले यसै विश्वकपमा क्यानडाविरुद्ध बनाएको थियो। यहाँ पहिलो इनिङ्सको औसत स्कोर १८२ रहेको छ।

भारतीय टोलीले यस मैदानमा हालसम्म ३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा २ मा जित दर्ता गरेको छ भने १ खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको छ। अर्कोतर्फ, जिम्बाब्वेले यहाँ पहिलो पटक खेल्दैछ।

चेन्नईको मौसम सफा रहने

बिहीबार चेन्नईको मौसम सफा रहनेछ। आकाश पूर्ण रूपमा खुला रहनेछ। अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २४ डिग्री सेल्सियस रहने सम्भावना छ। पानी पर्ने सम्भावना छैन।

बुवाको स्वास्थ्य बिग्रिएपछि नोएडा फर्किएका थिए रिंकु

भारतीय ब्याटर रिंकु सिंहका बुवा खानचन्द कलेजोको क्यान्सरसँग जुधिरहेका छन्। उनी विगत केही दिनदेखि नोएडाको अस्पतालमा भर्ना छन्। मंगलबार बुवाको स्वास्थ्य बिग्रिएपछि रिंकु चेन्नईबाट नोएडा गएका थिए। यसपछि जिम्बाब्वेविरुद्धको खेलमा उनी उपलब्ध हुने वा नहुने भन्ने विषयमा अड्कलबाजी चलिरहेको थियो। तर, आजको खेलअघिको पत्रकार सम्मेलनमा टोलीका ब्याटिङ प्रशिक्षक सितांशु कोटकले रिंकु खेलअघि टोलीसँग जोडिन सक्ने बताएका छन्।

टिम न्युज

पारिवारिक समस्याका कारण घर फर्किएका रिंकु सिंह बुधबार साँझ चेन्नईमा टोलीसँग जोडिने अपेक्षा गरिएको छ र उनी छनोटका लागि उपलब्ध हुनेछन्। तर, भारतले सञ्जु सामसनको रूपमा तेस्रो दायाँहाते ब्याटरलाई शीर्ष आठमा ल्याउन चाहेको खण्डमा रिंकु वा तिलक वर्मामध्ये एकजना बाहिरिनु पर्ने हुन सक्छ।

वासिङ्टन सुन्दरको स्थानमा अक्षर पटेलको पुनरागमन हुने सम्भावना छ किनभने जिम्बाब्वेको ब्याटिङ लाइनअपमा धेरैजसो दायाँहाते ब्याटर छन्। यस मैदानमा फास्ट बलरहरूले संघर्ष गरिरहेको अवस्थामा भारतले कुलदीप यादवलाई पनि मौका दिन सक्छ।

भारत (सम्भावित) १. अभिषेक शर्मा, २. सञ्जु सामसन, ३. ईशान किशन (विकेटकिपर), ४. सूर्यकुमार यादव (कप्तान), ५. शिवम दुबे, ६. हार्दिक पाण्ड्या, ७. रिंकु सिंह/तिलक वर्मा, ८. अक्षर पटेल, ९. अर्शदीप सिंह, १०. वरुण चक्रवर्ती, ११. जसप्रित बुमराह।

india

वेस्ट इन्डिजविरुद्धको खेलमा बायाँहाते सिमर रिचर्ड एनगाराभा चोटबाट फर्किएपछि उनले बायाँहाते स्पिनर वेलिङटन मसाकादजालाई प्रतिस्थापन गरेका थिए। भारतको लाइनअपमा धेरै बायाँहाते ब्याटरहरू भएकाले मसाकादजा बेन्चमै रहने सम्भावना छ। वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दा सिकन्दर रजाको बायाँ हातमा चोट लागेको थियो, तर उनी बिहीबार पक्कै खेल्नेछन् भनी अलराउन्डर रायन बर्लले पुष्टि गरेका छन्।

जिम्बाब्वे (सम्भावित) १. ताडिवान्से मरुमानी (विकेटकिपर), २. ब्रायन बेनेट, ३. डिओन मायर्स, ४. रायन बर्ल, ५. सिकन्दर रजा (कप्तान), ६. टोनी मुन्योङ्गा, ७. तासिंगा मुसेकिवा, ८. ब्राड इभान्स, ९. ग्रीम क्रिमर, १०. ब्लेसिङ मुजराबानी, ११. रिचर्ड एनगाराभा।

zimbabwe

कसले के भने ?

‘पक्कै पनि। हामी क्रिकेटको उही ब्रान्ड खेल्नेछौं। हो, कहिलेकाहीँ तपाईंले एक–दुई विकेट गुमाउनुहुन्छ र कोही खेलाडीले ६–८ बल सम्हालिएर खेल्न खोज्छ – डिफेन्ड गर्ने होइन, तर सट छनोटमा सायद कम जोखिम भएका सटहरू खेलिन्छ। तर अन्यथा, टी–२० खेलमा हामी धेरै सकारात्मक हुनुपर्छ र त्यही ब्रान्डको क्रिकेट खेल्नुपर्छ जसले हामीलाई सफलता दिलाएको छ।’

– सितांशु कोटक, भारतका ब्याटिङ प्रशिक्षक

‘उनी हाम्रो टोलीमा भएकोमा हामी निकै खुसी छौं। उनी ६ फिट ९ इन्च अग्ला छन्, र उनको बलिङ एक्सनले अलिकति फरक कोण बनाउँछ। त्यसैले दायाँहाते ब्याटरलाई भित्र आउने बल र बायाँहातेलाई बाहिर जाने बलसँगै उच्च बाउन्सले ब्याटरहरूलाई निकै ठूलो चुनौती दिन्छ। उनी विपक्षी टोलीमा नभई मेरै टोलीमा भएकोमा म निकै खुसी छु।’

– रायन बर्ल, जिम्बाब्वेका अलराउन्डर (ब्लेसिङ मुजराबानीको बलिङबारे)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप