'यो निर्वाचन पुस्तान्तरणको ऐतिहासिक मोड हो, हामी बहुमतउन्मुख छौँ'
सारांश
- निर्वाचन नजिकिँदै गर्दा तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले चुनावी एजेन्डासहित चुनावी मैदानमा छन्।
- वाग्लेले मतदातासँगको भेटघाटमा परिवर्तनको चाहना र उत्साह पाएको बताए, र राष्ट्रिय तथा स्थानीय एजेन्डाहरू प्रस्तुत गरे।
- उनले सुशासन, रोजगारी सिर्जना, र पूर्वाधार विकासलाई जोड दिँदै, आगामी कार्यकालमा जनतासँगको भेटघाटलाई बाक्लो बनाउने प्रतिबद्धता व्यक्त गरे।
तनहुँ । निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तातेको छ । तनहुँ–१ मा यस पटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । विभिन्न आलोचना, सामाजिक सञ्जालमा भाइरल भएका भिडियो क्लिप तथा मतदाताका गुनासाबिच वाग्ले चुनावी एजेन्डासहित चुनावी मैदानमा छन् । प्रचारप्रसारमा रहेका वाग्लेसँग समसामयिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।
दोस्रो पटकको यो चुनावी यात्रामा कत्तिको उत्साहित हुनुहुन्छ ?
यो प्रसन्नता र उत्साह जनताको भर्डिक्ट (फैसला) सँग सम्बन्धित कुरा हो । उम्मेदवारका रूपमा मैले गर्न सक्ने भनेको आफ्नो अधिकतम प्रयास हो । जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, संवाद गर्ने, उहाँहरूका चासो, चिन्ता र गुनासाहरूलाई धैर्यपूर्वक सुन्ने र सम्बोधन गर्ने प्रयास गरिरहेको छु । राजनीतिमा भविष्यप्रतिको आशा जगाउनु नै हामीजस्ता उदयमान राजनीतिज्ञहरूको मुख्य कर्तव्य हो । त्यसैले मैले यो निर्वाचनलाई केवल एक चुनावका रूपमा होइन, लोकतान्त्रिक पर्वका रूपमा लिएको छु । जनताको घरदैलोमा पुग्दा उहाँहरूबाट जुन स्नेह र प्रतिक्रिया पाइरहेको छु, त्यसले मलाई थप ऊर्जा दिएको छ ।
चुनावको मिति नजिकिँदै छ । केही दिन मात्र बाँकी रहँदा चुनावी क्षेत्रका सबै भू–गोल समेट्न भ्याउनुभयो त ?
मैले प्रयास गरिरहेको छु । भर्खरै मात्र म देवघाट क्षेत्रका एकदमै दुर्गम पहाडी इलाकाहरू घुमेर फर्किएको छु । हाम्रो यस क्षेत्रमा पाँचवटा पालिकाहरू छन्, जसमध्ये आँबुखैरेनी, बन्दीपुर र देवघाटको भूगोल अलि विकट र चुनौतीपूर्ण छ । अर्कोतर्फ, भानु र व्यास नगरपालिकाहरू भने सापेक्षिक रूपमा अलि सुगम छन् । मेरो रणनीतिअनुसार मैले सुरुमा दुर्गम भेगका जनतासँग भेटघाट र अन्तरक्रियालाई प्राथमिकता दिएँ र ती क्षेत्रहरू भ्याइसकेको छु । सुगम क्षेत्रमा पनि एक चरणको भेटघाट र घरदैलो सकिइसकेको छ । अब बाँकी रहेको अन्तिम एक हप्ताको समय भने म सुगम र जनघनत्व बढी भएका क्षेत्रहरूमा नै केन्द्रित भएर सक्रिय रहनेछु ।
मतदाताहरूसँग प्रत्यक्ष भेट्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यो निर्वाचनलाई मतदाताहरूले एउटा औसत निर्वाचनका रूपमा मात्र लिनुभएको छैन । आम मतदातामा मुलुक ठुलो राजनीतिक परिवर्तनको संघारमा छ भन्ने गहिरो चेत पलाएको मैले महसुस गरेको छु ।
_5uSRFMnM5c.jpg)
यति मात्र होइन, विदेशमा बस्नुहुने दशौँ लाख नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि यसलाई विशेष चासोका साथ हेरिरहनुभएको छ । उहाँहरूले घरमा रहेका परिवारलाई ‘यसपटकको चुनावलाई साधारण रूपमा नलिनुस् है’ भन्ने सन्देश पठाइराख्नुभएको छ । यो उपनिर्वाचनले मुलुककै अर्थ–राजनीतिक कोर्सलाई कोल्टे फेराउन सक्ने सामर्थ्य राख्छ भन्ने विश्वास मतदातामा देखिएको छ । त्यसैले यसको गाम्भीर्यता जनतामा एकदम गहिरोसँग भिजेको र उहाँहरू परिवर्तनको पक्षमा उत्साहित हुनुभएको मैले पाएको छु ।
अघिल्लो पटकको निर्वाचनमा तपाईंप्रति जस्तो लहर र उत्साह थियो । यसपटक अरू दलका उम्मेदवारहरू पनि सक्रिय भएकाले अलि चुनौती छ भनिन्छ नि ?
कोठे विश्लेषकहरू वा सञ्चारमाध्यमले बाहिर बसेर गर्ने अंकगणितीय आकलन र ग्राउन्ड रियालिटीमा धेरै फरक हुन्छ । मैले हरेक मतदातासँग आँखामा आँखा जुधाएर कुरा गरेको छु, उहाँहरूको मनोविज्ञान पढेको छु । उम्मेदवारलाई नै ग्राउन्डको वास्तविक अवस्था सबैभन्दा बढी थाहा हुन्छ । तपाईंले भनेजस्तो यसपटक उम्मेदवारहरू बढी हुनुहुन्छ र पहिलेजस्तो ठुलो दलीय गठबन्धन पनि छैन । दलहरू आ–आफ्नो जनशक्ति परीक्षण गर्न मैदानमा उत्रिएका छन् । लोकतन्त्रमा यो स्वस्थ प्रतिस्पर्धा हो र यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।
तर, जनताको तहमा जुन विश्वास र भरोसा छ, त्यसले मलाई ढुक्क बनाएको छ । जहाँसम्म संसद्को अंकगणितको कुरा छ, हामी बहुमतउन्मुख छौँ भन्नेमा म पूर्ण विश्वस्त छु । हामीले भविष्यवाणी गर्नेभन्दा पनि हाम्रो प्रदर्शन राम्रो हुन्छ भन्ने कुरामा विश्वास राख्छौँ ।
_SKpn066qfl.jpg)
केही मतदाताले तपाईंले जितेपछि गाउँमा फर्केर आउनुभएन वा भेट्न सकिएन भन्ने गुनासो पनि गरेको सुनिन्छ ।
हो, त्यस्ता गुनासाहरू फाट्टफुट्ट आएका छन् र मैले त्यसलाई स्वाभाविक रूपमा लिएर बुझाउने कोसिस पनि गरेको छु । खासमा संघीय सांसदको भूमिका के हो भन्ने कुरामा अलिकति स्पष्टताको अभाव पनि देखिन्छ । हाम्रो भूमिका नीति निर्माण, संसदीय अधिवेशन र राष्ट्रिय मुद्दाहरूमा बढी केन्द्रित हुन्छ । हाम्रो पार्टीका सांसदहरूको संसद्मा उपस्थिति लगभग ८५ देखि ९० प्रतिशत छ, जुन अन्य पार्टीका सांसदहरूको तुलनामा धेरै उच्च हो । उहाँहरूको उपस्थिति असाध्यै फितलो हुन्छ ।
यद्यपि, जनताको अपेक्षा आफ्ना जनप्रतिनिधि वडाध्यक्ष वा पालिका प्रमुखजस्तै बारम्बार घरदैलोमा आइदेओस्, सुखदुःखमा सँगै होस् भन्ने हुँदोरहेछ । मैले यो अढाई वर्षको अवधिमा ११० पटक भन्दा बढी यहाँ आउजाउ गरेको छु, तर भौगोलिक विकटता र कार्यव्यस्तताले गर्दा हरेकको घरघरमै पुग्न भने नभ्याइएकै हो । यो कुरालाई मैले गम्भीरतापूर्वक मनन गरेको छु । आगामी कार्यकालमा म यसलाई सुधारेर, जनताले देखिने र महसुस गर्ने गरी अन्तरक्रिया र भेटघाटलाई बाक्लो बनाउने प्रण गर्दछु ।
अर्को कुरा, विकास निर्माणका काममा सांसदको भूमिका परोक्ष हुन्छ, बजेट विनियोजन र नीतिगत सहजीकरणमा हुन्छ । तर, स्थानीय राजनीतिमा कहिलेकाहीँ निषेधको राजनीति पनि हुन्छ । कार्यक्रमहरूमा बोलाउँदा निर्वाचित सांसदलाई सकेसम्म नबोलाउने वा कम महत्त्व दिने प्रवृत्ति पनि ‘ग्रासरुट्स’मा देखिएको छ । यी सबै कुराको नतिजास्वरूप केही गुनासा आएका हुन्, जसलाई म आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नेछु ।
तपाईंका मुख्य एजेन्डाहरू के–के छन्रु राष्ट्रिय र स्थानीयस्तरका योजनाहरूलाई कसरी अगाडि बढाउने सोच्नुभएको छ ?
हाम्रा एजेन्डालाई मैले दुई तहमा बाँडेको छुः राष्ट्रिय र स्थानीय ।
राष्ट्रिय एजेन्डाअन्तर्गत हामीले सुशासन, मध्यमवर्गीय विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी विस्तार र डायस्पोरा लगायत विषय छन् । हामी भ्रष्टाचार र बेथितिविरुद्ध निर्मम ढंगले लाग्नेछौँ । यो हाम्रो प्रमुख प्रतिबद्धता हो । शिक्षा, स्वास्थ्य, पोषण र वित्तीय पहुँचमा सुधार गर्दै आम नागरिकलाई मध्यम वर्गमा उकास्ने र एकीकृत सामाजिक सुरक्षाको दायरामा ल्याउने हाम्रो लक्ष्य छ ।
हामीले ‘काम, काम र काम’को नारा अघि सारेका छौँ । नीतिगत सुधार गरेर लगानीको वातावरण बनाउँदै करिब १२ लाख नयाँ र मर्यादित रोजगारी सिर्जना गर्ने हाम्रो ठोस योजना छ । कनिका छरेझैँ बजेट छर्ने होइन, गुणस्तरीय सडक सञ्जाल, इन्टरनेट सञ्जाल र ऊर्जा सञ्जालमा काम गर्नेछौँ । सफ्ट पावरअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई राष्ट्रिय गौरव र पहिचानसँग जोड्ने । नेपालमा लगानी भित्र्याउन पहिला गैरआवासीय नेपालीहरूको विश्वास जित्न आवश्यक छ ।
स्थानीय क्षेत्रको लागि पूर्वाधार, कृषि र सिँचाइ, पर्यटन, शिक्षा र स्वास्थ्य र सम्पर्क डेस्कको एजेन्डा लिएको छु ।
यहाँ मुख्य माग भनेको सडक सञ्जालकै छ । त्यसैले कनेक्टिभिटी र पूर्वाधार सुदृढीकरण पहिलो प्राथमिकतामा छ । दोस्रो मादी, मर्स्याङ्दी, सेती र काली नदीका टारहरूमा सिँचाइको प्रचुर सम्भावना छ । यहाँ कृषि र पशुपालनलाई व्यावसायिक बनाउन सकिन्छ । वेदव्यासको भूमि, पवित्र देवघाटधाम, थानीमाई, बन्दीपुरजस्ता पर्यटकीय गन्तव्यहरूलाई समेटेर यस क्षेत्रलाई सांस्कृतिक र मनोरञ्जनात्मक पर्यटकीय हब बनाउने योजना छ ।
मैले सांसद नहुँदा पनि गैरसरकारी स्रोतबाट १५ वटा विद्यालयमा युनाइटेड वर्ल्ड स्कुल्समार्फत काम गरेको छु । अब स्मार्ट बोर्ड वितरण गर्ने, बन्दीपुर र भानुमा तालिम केन्द्रहरू खोल्ने र बुढानीलकण्ठ शैलीका विद्यालयहरू स्थापना गर्ने कामलाई तीव्रता दिनेछु । वैदेशिक रोजगारीमा गएका यस क्षेत्रका युवाहरूको समस्या सम्बोधन गर्न विशेष डेस्क स्थापना गर्नेलगायत काम मेरो निर्वाचन क्षेत्रमा आगामी दिनमा हुनेछन् ।
_tygSZIhfM4.jpg)
सामाजिक सञ्जालमा तपाईंका क्लिपहरू भाइरल बनाउने र कतिपयले तपाईंलाई विवादमा तान्ने काम पनि गरेका छन् नि ?
जनता नेताहरूभन्दा दुई कदम अगाडि छन् । विरोधीहरूलाई लाग्ला– हिलो छ्यापेपछि वा लाञ्छना लगाएपछि जनताले पत्याउँछन् । तर, यथार्थ त्यस्तो छैन । उल्टै, जसले त्यस्ता भ्रामक र तल्लो स्तरका लाञ्छना लगाउँछन्, जनताको नजरमा उनीहरूकै विश्वसनीयता गुम्दै गएको छ ।
मलाई भेट्दा जनता आफैँ भन्नुहुन्छ– ‘हामीलाई सबै थाहा छ, यो विपक्षीहरूको हत्कण्डा मात्र हो, प्रोपोगाण्डा हो । तपाईं कत्ति पनि विचलित नहुनुहोला ।’ त्यसैले, आजकल मैले यस्ता कुराको प्रतिवाद गर्न पनि आवश्यक ठान्दिनँ । सत्य र तथ्य आफैँ बोल्छ । मेरो निष्ठा र व्यक्तिगत आस्थाका विषयमा लगाइएका आरोपहरू जनताको अदालतबाटै खारेज भइसकेका छन् ।
पार्टी सभापतिले तपाईंलाई भावी अर्थमन्त्रीका रूपमा समेत प्रस्तुत गर्नुभएको छ । तपाईंले जितेर जानुभयो र तपाईंको दलको सरकार बन्ने अवस्था भयो भने अर्थमन्त्री बन्ने पक्का हो ?
यस विषयमा अहिले नै धेरै टिप्पणी नगरौँ । पहिलो कुरा त, म तनहुँका जनताबाट भारी मतले अनुमोदित हुन चाहन्छु । जनअनुमोदन नै मेरो पहिलो प्राथमिकता हो, त्यसपछिका जिम्मेवारीका कुराहरू समयक्रममा हुँदै जालान् ।
_78ic3rc2Yd.jpg)
मतदातालाई केही भन्नु छ ?
यो निर्वाचन एउटा ऐतिहासिक मोड हो । यो पुस्तान्तरणको निर्वाचन हो । नयाँ पात्रहरू, नयाँ चरित्र र नयाँ प्रवृत्तिहरू राजनीतिमा भित्र्याएर ‘राजनीति भनेको यस्तै फोहोर हो’ भन्ने भाष्यलाई नै हामीले परिवर्तन गर्नुपर्नेछ । राजनीतिलाई सङ्ल्याउँदै, अर्थतन्त्रलाई उकासेर देशमै केही गर्न सकिन्छ भन्ने आशा युवाहरूमा जगाउनु छ ।
यो एउटा ठुलो मिसन हो । यही मिसनमा सहभागी हुन पोर्चुगलदेखि माल्टा र कतारदेखि कोरियासम्मका नेपाली दाजुभाइ दिदीबहिनीहरू भोट हाल्नकै लागि आउनुभएको छ । यो उत्साहलाई म खेर जान दिने छैन । _QG0EXmR6Ei.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण