‘चोरबाटो’बाट आयात भइरहेको छ भाइरल माल्किस्ट बिस्कुट
सारांश
- इन्डोनेसियामा उत्पादित 'माल्किस्ट' बिस्कुट अवैध रूपमा नेपालमा भित्रिरहेको पाइएको छ।
- बिस्कुटको मूल्यमा ठूलो अन्तर देखिएको छ, र अधिकारीहरूले यसको अवैध आयातबारे अनुसन्धान गरिरहेका छन्।
- भन्सार विभागले पनि यस विषयमा सूक्ष्म अनुसन्धान सुरु गर्ने र अवैध रूपमा बिक्री गर्नेलाई कारबाही गर्ने जनाएको छ।
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा एउटा बिस्कुट निकै भाइरल बनेको छ । इन्डोनेसियामा उत्पादित ‘माल्किस्ट’ ब्रान्डको बिस्कुट अहिले बजारमा छ्यापछ्याप्ती पाउन सकिन्छ । उक्त कुनै पनि आधिकारिक अनुमतिबिना नेपाल भित्रिरहेको पाइएको छ ।
स्वादका हिसाबले उक्त बिस्कुटको चर्चासँगै माग पनि निकै बढेको छ, तर व्यापारीले अवैध आयात भइरहेकाले उक्त बिस्कुट लुकाएर बेच्ने गरेका छन् । बजारमा उक्त बिस्कुटको मूल्यमा समेत ठुलो अन्तर देखिएको छ । एमआरपी ४५ रुपैयाँ भारू (७२ नेपाली रुपैयाँ) उल्लेख भएको उक्त बिस्कुट नेपालमा १५० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ । आधिकारिक अनुमतिबिना आयात हुँदा यसले एकातिर राज्यको राजस्व गुमेको छ भने अर्कोतिर उपभोक्ताहरू ठगिने र गुणस्तरहीन वस्तु उपभोग गर्न बाध्य हुने जोखिम बढेको छ ।
तर थाहा पाएर पनि नियमनकारी निकाय मौन देखिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि उक्त बिस्कुट अनाधिकृत रुपमा आयात भएको बताएको छ । अनाधिकृत रुपमा नेपालमा भित्रिएको भन्ने उजुरी परेपछि विभागले अनुगमन गरेको जनाएको छ । तर कसले आयात गरिरहेको छ भन्ने पत्ता लगाउन नसकेकाले विभागका एक अधिकारीले बताएका छन् ।
विभागका ती अधिकारीले भने, ‘यो बिस्कुट इन्डोनेसियाले भारतका लागि बनाएको हो । तर नेपालमा चोरी पैठारी मार्फत आएको देखिन्छ । यो आयातमा भन्सार छली भएको आशंका छ । चोरी पैठारी नियन्त्रण गर्ने काम भन्सार वा गृह मन्त्रालय अन्तर्गतको काम हो । यो बिस्कुट चोरी पैठारी मार्फत आएको भन्ने सूचना प्राप्त भएपछि विभागले सूक्ष्म अनुगमन त गरेको थियो । पसलहरूमा सानो परिमाणमा बिस्कुट आउने बिक्री भइहाल्ने रहेछ । तर आयातकर्ता को हो भन्ने पत्ता लगाउन सकिएन ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त बिस्कुट आयातका लागि विभागबाट हालसम्म कुनै पनि अनुमति जारी नभएको स्पष्ट पारेको छ । विभागकी महानिर्देशक मतिना जोशी वैद्यका अनुसार बजारमा जताततै यो बिस्कुट देखिए पनि आधिकारिक रूपमा आयात भएको रेकर्ड छैन ।
‘हाम्रो आयात शाखामा बुझ्दा यस बिस्कुटको आयातका लागि कसैले पनि अनुमति लिएको देखिएन,’ महानिर्देशक वैद्यले भनिन्, ‘अनुमतिबिना भित्रिनुको अर्थ यो अवैध बाटो वा तस्करी मार्फत आइरहेको छ ।’
भन्सार र सुरक्षा निकायको भूमिकामा प्रश्न
बजारमा निकै ठुलो परिमाणमा यो बिस्कुट उपलब्ध हुनुले भन्सार र सुरक्षा निकायको प्रभावकारितामा समेत प्रश्न उठेको छ । महानिर्देशक वैद्यले भन्सार, सशस्त्र प्रहरी र वाणिज्य विभाग जस्ता निकायहरूको ध्यान जानुपर्नेमा जोड दिइन् । उनका अनुसार खुला सिमानाका कारण संगठित रूपमै राजस्व छली गरेर यो बिस्कुट भित्रिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
अहिलेसम्म उक्त बिस्कुट खाएर कोही बिरामी परेको आधिकारिक उजुरी नआए पनि विभागले आफ्ना कर्मचारीहरूलाई ‘अलर्ट’ मा राखेको छ । ‘गल्ली–गल्लीमा यो बिस्कुट बिक्री भइरहेको सूचना आएपछि हामीले निगरानी बढाएका छौँ,’ वैद्यले भनिन्, ‘यदि कसैले गुणस्तर परीक्षणका लागि माग गरेमा वा शंकास्पद लागेमा हामी यसको ल्याब टेस्ट प्रक्रिया अगाडि बढाउनेछौँ ।’
आधिकारिक च्यानलबाट नआएका खाद्यवस्तु उपभोग गर्दा स्वास्थ्यमा जोखिम हुनसक्ने भन्दै उपभोक्तालाई सचेत रहन समेत उनले आग्रह गरिन् । साथै राजस्व छली र अवैध व्यापारको पाटोबाट आन्तरिक राजस्व विभाग र अन्य सरोकारवाला निकायले यसमा थप अनुसन्धान गर्नुपर्ने महानिर्देशक वैद्यको भनाइ छ ।
के भन्छन् भन्सार विभाग प्रमुख ?
बिस्कुट आधिकारिक भन्सार प्रक्रिया पूरा नगरी चोरी पैठारी मार्फत नेपाल भित्रिरहेको सन्दर्भमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले उक्त बिस्कुट औपचारिक आयात भएको रेकर्ड नदेखिएको भन्दै यसबारे विभागले सूक्ष्म अनुसन्धान सुरु गर्ने बताएका छन् ।
रातोपाटीसँगको कुराकानीमा महानिर्देशक भण्डारीले इन्डोनेसियामा उत्पादित र भारत हुँदै नेपाल भित्रिएको भनिएको सो बिस्कुट भन्सारको ‘आसिकुडा’ प्रणालीमा आधिकारिक रूपमा दर्ता नभएको संकेत गरे ।
महानिर्देशक भण्डारीले यसलाई ‘अवैध आयात’ भन्दा पनि ‘चोरी–पैठारी’ भन्नु बढी उपयुक्त हुने बताए । ‘औपचारिक माध्यमबाट आउँदा त्यसलाई आयात भनिन्छ, तर यदि कसैले लुकिछिपी वा अर्कै सामानको नाममा ल्याएको छ भने त्यो चोरी–पैठारी हो,’ उनले भने । खुला सिमानाका कारण यस्ता सामान भित्रिने चुनौती रहेको उनले स्वीकार गरे ।
महानिर्देशक भण्डारीले बिना कागजात र आधिकारिक बिल पसलहरूमा लुकाएर बिक्री भइरहेको सूचना आएकाले त्यस्ता सामान जफत गरिने चेतावनी दिए । उनले भने, ‘कुनै पनि पसलले तेस्रो मुलुकको सामान बेचिरहेको छ भने उसले त्यसको आधिकारिक स्रोत र भन्सार तिरेको बिल देखाउनुपर्छ । यदि बिल देखाउन सकेन भने त्यो सामान अवैध ठहरिन्छ र हामी तुरुन्तै सिज गरेर कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।’
यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य विभाग तीनवटै निकायको समन्वयमा अब बजार र नाकाहरूमा निगरानी बढाइने महानिर्देशक भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण